
काठमाडौं । विघटित प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका चर्चित नेता डा. सुनिल शर्माले पार्टीभित्र देखिएको विवाद विशेष महाधिवेशनमार्फत समाधान हुने दाबी गरेका छन् । विशेष महाधिवेशनको आह्वानपछि पार्टी विभाजनको आशंका गरिँदै आएका बेला उनले कांग्रेस “फुट्नै नसक्ने” स्पष्ट पारेका छन् । आज सामाजिक सञ्जालमा विशेष महाधिवेशनको औचित्यबारे आफ्नो धारणामार्फत स्पष्ट पारेका हुन् ।
डा. शेखर कोइराला निकट मानिँदै आएका मोरङका नेता शर्माले पछिल्लो समय महामन्त्री गगन थापा र नेता चन्द्र भण्डारीसँग संवाद बढाएका छन् । बुधबार थापा र भण्डारीसँग भएको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उक्त भेटलाई लिएर आफू कुनै नयाँ गुटको लाइनमा गएको आरोप अस्वीकार गर्दै शर्माले पार्टी जोगाउने साझा प्रयासमा रहेको बताए ।
उनका अनुसार कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा विधानअनुसार समयमै अधिवेशन गरिनु अनिवार्य विषय हो । “चार वर्षभित्र महाधिवेशन गर्नुपर्ने कुरा पार्टी विधानमै स्पष्ट छ,” उनले भने, “तर संस्थापनले राज्यसत्ता र पार्टीसत्ता दुवै हातमा राखेर पनि अधिवेशन गराएन । यही नै अहिलेको संकटको मूल कारण हो ।”
डा. शर्माले जेन–जी आन्दोलनपछि मुलुकभरिका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर अभियानमार्फत विशेष महाधिवेशनको माग गर्नु स्वाभाविक भएको बताए । “विधान लत्याएर बहुमतको उन्मादमा पार्टी चलाउने प्रयास स्वीकार्य हुँदैन,” उनका भनाइ छ ।
विशेष महाधिवेशनको आह्वान भइसकेको अवस्थामा पार्टी केन्द्रीय कार्यालयले सहभागी नहुन निर्देशन दिएको सन्दर्भमा शर्माले आफूहरू पार्टी नफुटोस् भन्ने लाइनमा रहेको स्पष्ट पारे । “कांग्रेस लोकतान्त्रिक पार्टी हो। भेला राख्न र विचार राख्न पाउने अधिकार कसैले खोस्न सक्दैन,” उनले भने ।
पार्टीभित्र विभाजनको खतरा बढेको हो कि भन्ने प्रश्नमा उनले कांग्रेस ‘एक्स्ट्रिम’ अवस्थामा पुगे पनि फुट्ने अवस्थामा नरहेको दाबी गरे । “समस्या पार्टीभन्दा नेता ठूलो बन्न खोज्नु हो,” उनले भने, “चुनाव जित्न नसक्ने, जनताबाट अस्वीकृत व्यक्तिहरू सत्ता र पार्टी कब्जा गरेर बसेका छन् । तर त्यसकै कारण कांग्रेस फुट्दैन ।”
उनले गगन थापा, विश्वप्रकाश शर्मा, नेविसंघ हुँदै आएका युवा नेताहरूको भविष्य कांग्रेससँग जोडिएको उल्लेख गर्दै पार्टी फुटाउने दुस्साहस उनीहरूले नगर्ने बताए । “हजारौं कार्यकर्ताको पसिना र रगतले बनेको पार्टी दुई–चार जना वरिपरि बसेका हनुमन्तेहरूका कारण फुट्दैन,” उनको भनाइ रहेको छ । केन्द्रीय कमिटीको निर्णय र वैधानिक बाटोबारे छलफल भइरहेको बताए । डा. शेखर कोइरालासँग धारणा नमिलेको भन्ने चर्चालाई उनले अस्वीकार गरे । “पूर्ण रूपमा मिल्छ,” शर्माले भने, “डा. शेखर कोइराला कहिल्यै महाधिवेशनको विपक्षमा हुनुहुन्न । समयमै अधिवेशन हुनुपर्छ भन्ने आवाज उठाउने पहिलो नेता उहाँ नै हुनुहुन्छ।”
यदि संस्थापन पक्षले विशेष महाधिवेशन आह्वानकर्ताविरुद्ध कारबाही गरे के हुन्छ भन्ने प्रश्नमा शर्माले कडा चेतावनी दिए । “अहिले नेताहरूले कार्यकर्तालाई कारबाही गर्ने नैतिकता गुमाइसकेका छन्,” उनले भने, “दमनको बाटो अपनाइयो भने पार्टी अराजकतातिर जान्छ ।”
अन्त्यमा उनले कांग्रेसलाई नागरिकमुखी र आन्तरिक रूपमा लोकतान्त्रिक बनाउनु नै निकास भएको बताए । “कांग्रेस फुट्दैन,” शर्माले दोहो¥याए, “तर सुधार भएन भने पार्टी कमजोर हुन्छ ।”
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत हुने नगद कारोबारमा व्यापक कडाइ गर्दै नगद भुक्तानीको अधिकतम सीमा घटाएको...
काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख पदाधिकारीहरूले पार्टीको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सहभागी हुने प्रतिवद्धता व्यक्त गर्दै प्रदेशभित्रका सबै...
रुपन्देही : नेपाली कांग्रेस रुपन्देही जिल्लाका सबै क्षेत्र र जिल्ला नेताहरुले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा सहभागी हुन सबै प्रतिनिधि, नेता–कार्यकर्ता,...