पत्रकारिता सँगसँगै लोकतन्त्रका सिपाही कबिरले भक्तपुरमा यसकारण जित्नुपर्नेछ – Naya Bikalpa
February 3, 2026, Tuesday      Epaper

पत्रकारिता सँगसँगै लोकतन्त्रका सिपाही कबिरले भक्तपुरमा यसकारण जित्नुपर्नेछ

सानै उमेरदेखि लोकतन्त्रका लागि लड्दै भिड्दै आएका जन्मथलो र कर्मथलो भक्तपुर बालकोटका कबिर राणा पत्रकारिता क्षेत्रको देशैभर परिचित नाम हो । पत्रकारिता क्षेत्रभित्र उनको नाम सर्वत्र चर्चामा रहँदा–रहँदै पनि उनी कांग्रेसको राजनीतिमा निकै अगाडि देखिन्छन् । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनाको लडाइँ, पहिलो जनआन्दोलन हुँदै ०६२/०६३ को दोस्रो जनआन्दोलनबाट प्राप्त भएको राजनीतिक परिवर्तनलाई राज्यतहमा कार्यान्वयन गराउने कार्यमा उनको भूमिका उल्लेखनीय रहेको पाइन्छ । कांग्रेसको लामो राजनीतिक यात्रामा न्याय गर्नुपर्ने मध्येकै एक राजनीतिक योद्धा भक्तपुर निर्वाचन क्षेत्र नं. २ ले पाउँदा स्थानीय बासिन्दा निकै उत्साहित देखिन्छन् ।

सानै उमेरमा तत्कालीन सरकारले पटक–पटक जेलनेलको यातना दिएको देखेका भक्तपुर क्षेत्र नं. २ का बासिन्दा त्यस क्षेत्रको विकास–निर्माण कार्यमा कबिरको विज्ञता र दक्षता सदुप्रयोग गर्न चाहन्छन् । पत्रकारिता क्षेत्रका समेत हस्ती मानिएका कबिरलाई पार्टीले न्याय गरेको भन्दै राज्यको नीति निर्माणमा भक्तपुरवासी तर्फबाट प्रतिनिधिका रूपमा पठाउन कांग्रेसजन हुँदै सर्वसाधारण व्यक्तिदेखि अन्य दलका नेता तथा कार्यकर्तासम्मका व्यक्तिहरू कबिरबाट निकै प्रभावित हुँदै उनीसँग नजिकिँदै आएका देखिन्छ । चार दशकदेखि पटक–पटक नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभाग सदस्यमा बसेर कांग्रेसको प्रचार अभियानमा लाग्दै आएका उनी महासमिति सदस्यदेखि भक्तपुर जिल्ला कार्यसमितिका वरिष्ठ सदस्यसमेत रहेका छन् ।

कबिरको राजनीतिक यात्रा कुनै सुखद संयोग होइन, बरु पञ्चायतकालीन अन्धकारविरुद्धको कठोर संघर्षको उपज हो भन्दा फरक नपर्ला । किनकि २०३७ सालदेखि आदर्श माध्यमिक विद्यालयबाट नेपाल विद्यार्थी संघको राजनीतिमा पाइला टेक्दा उनको एउटै सपना थियो—लोकतन्त्र स्थापना । २०४२ सालको ऐतिहासिक ‘सत्याग्रह’ मा भाग लिँदा तत्कालीन सरकारले उनलाई ६ महिना जेल जीवनको कठोर यातना भोग्न बाध्य बनायो । तर उनको लोकतन्त्रप्रतिको आस्था कहिल्यै डगमगाएन र त्यसैले यस पटक पार्टीले टिकट दियो ।

बालकोटको बुथ सभापतिदेखि जिल्ला विकास समितिको निर्वाचित सदस्य हुँदै नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभागसम्म पुग्दा उनले सधैँ भुइँमान्छेका मुद्दालाई प्राथमिकतामा राख्दै आएका छन् । उनले बी.पी. कोइरालाको समाजवादी चिन्तनलाई केवल नारामा मात्र होइन, आफ्नो कार्यशैलीमा पनि उतार्दै आएकाले लोकतान्त्रिक मूल्यमान्यताप्रति उनको निरन्तर यात्राले कहिल्यै लोकतन्त्र माथि सङ्कट आउन नदिन पत्रकारिताको कलम सधैँ तीखो पारिरहन्छन् भने राजनीतिक हिसाबले लोकतन्त्रका पहरेदार सिपाही भएर लडिरहन्छन् ।

कबिरले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य र कानुनमा स्नातक गरेका छन् । पत्रकारितालाई समाज रूपान्तरणको आधार बनाएका कारण ‘देशान्तर साप्ताहिक’को प्रधानसम्पादक भएर दशकौँदेखि जनतालाई सुसूचित गर्दै आएका छन् । राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजनजस्ता गरिमामय संस्थाको बोर्ड सदस्यका रूपमा उनले पुर्‍याएको योगदानले उनको प्रशासनिक, व्यवस्थापकीय र नीतिगत कुशलतालाई प्रमाणित गरेकोले नै उनी भक्तपुर २ मा अरू उम्मेदवारभन्दा अव्वल देखिन्छन् ।

अमेरिका, बेलायत, जर्मनी, जापान र अस्ट्रेलियासहित दर्जनौँभन्दा बढी मुलुकको भ्रमण गरेका कबिरसँग विश्वका विकसित मुलुकहरूको विकास मोडेल र नेपालको मौलिक आवश्यकताबीच समन्वय गर्ने तौरतरिका प्रमाणित गरेर देखाउन पनि उनी संसद्को भूमिकामा पुग्नुपर्ने देखिन्छ । उनले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्दै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा बलियो वकालत गरेका छन् । भक्तपुरको ऐतिहासिक कला, संस्कृति र सम्पदालाई विश्व पर्यटन बजारसँग जोडेर स्थानीयको आम्दानी वृद्धि गर्ने, सूर्यविनायक र मध्यपुर थिमि क्षेत्रका भित्री सडकहरूको स्तरोन्नति र ढल व्यवस्थापनलाई कबिरले प्राथमिकतामा राख्दै आएका छन् ।

भक्तपुर २ का आम मतदाताको घरदैलोमा जाँदै गर्दा कबिरले सरकारी विद्यालयको स्तर सुधार र स्थानीय तहमा सुलभ स्वास्थ्य सेवाको सुनिश्चितता, स्थानीय युवाहरूलाई सूचना प्रविधि र सीपमूलक तालिममार्फत स्वदेशमै उद्यमी बन्ने वातावरण सिर्जना गर्न, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र पारदर्शी बनाएर जनमैत्री शासन व्यवस्था लागू गर्ने विषयलाई चुनावी एजेन्डा बनाएका छन् ।

कबिर केवल एक उम्मेदवार मात्र नभई भक्तपुरको समृद्धिको सपना बोकेका एक भरोसायोग्य सारथी हुन् । कबिरले भक्तपुरको आवाजलाई यसपटक संसदसम्म बुलन्द पार्दै भक्तपुर जिल्लाको विकासमा नयाँ मोडल बनाउन सक्ने व्यक्तिका रूपमा अगाडि बढाउन चाहेको आम भक्तपुरवासीको बुझाइ रहेको पाइएको छ ।

राजनीति र पत्रकारितालाई जनताको सेवामा समर्पित गरिरहेका कबिरले आफूले अहिलेसम्म चालेका अभियान र आफ्ना प्राथमिकतालाई संसद् र सरकारसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीयको सुख–दुःखमा सारथी र सेवक बनेर भक्तपुरवासीको शिर ठाडो बनाई राख्न निरन्तर लागि पर्ने बताएका छन् ।

अन्तमा: म आफैं पनि लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात गर्दै तीन दशकभन्दा बढी लोकतन्त्रको स्थायित्वका लागि कलम चलाउँदै आएको हुँदा कबिर र मैले नेपालको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको लडाइँमा जेलनेल र अङ्गभङ्ग भएर काठमाडौँका अस्पतालहरूमा भर्ना भएका दिनहरूले सताउन थाल्छ । फेरि पनि त्यस्ता दिनहरू भोग्न नपरोस् भनेर नक्कली राष्ट्रवादका खोक्रा नारा र नेपालको लोकतन्त्र स्थापनामा कहिल्यै पनि सिन्को नभाँचेकाहरूले आफूलाई नयाँ भनेर समाजलाई विखण्डन गराउन खोज्नेबीचको यो लडाइँमा मुलुक बचाउन फेरि मिसन पत्रकारिताको खाँचो देखिएको हुँदा कलम तीखो पारेको हुँ । अस्तु !

सम्बन्धित समाचार

नेपालले वार्म अप खेलमा युएईलाई हरायो
नेपालले वार्म अप खेलमा युएईलाई हरायो
  • २०८२ माघ १५, १७: १२

काठमाडौं : आइसीसी टी–२० विश्वकपअन्तर्गतको वार्म अप खेलमा नेपालले युएईमाथि ७ विकेटको सहज जित निकालेको छ । भारतको चेन्नईमा मंगलबार...

सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
  • २०८२ माघ १५, १७: १२

काठमाडौं : सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिने निर्णय...

विश्व बैंकले नेपाललाई ९ करोड ५० लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने
विश्व बैंकले नेपाललाई ९ करोड ५० लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने
  • २०८२ माघ १५, १७: १२

काठमाडौंः विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा सिर्जना गर्न ९ करोड ५०...