निर्वाचनको मेसोमा आचार संहिताको अपमान नहोस् – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

निर्वाचनको मेसोमा आचार संहिताको अपमान नहोस्

१. निर्वाचनको मेसो
२०८२सालको फागुन २१गते हुन लागेको आम निर्वाचन अब हप्ता दिनको नजिकैजस्तो आई सकेको छ । निर्वाचन सफलताका साथ सम्पन्न हुनका लागि आवश्यक तयारी राम्रैसँग भएको देखिन्छ । मतदाता , निर्वाचन पर्यवेक्षकहरु, जिज्ञासु विदेशीहरु र विश्वभरका प्रजातन्त्रवादीहरु मार्च ५ तारिख अर्थात् फागुन २१गतेको मतदानको दिन पर्खेर बसेका छन् । उम्मेदवारहरुमा पनि नयाँ जोस तथा जिज्ञासा देखिन्छ ।

एकथरी छिटो जितेर सत्ता सम्हाल्ने गरी तयारी गर्दैछन् भने अर्कोथरी निर्वाचन त हो, जितिएला या हारिएला, प्रजातान्त्रिक प्रक्रियाको खेलमा प्रवेश गरौँ भनेर होमिएका छन् । अचानक चट्याङ् परेजस्तै आएको आम निर्वाचनलाई तत्कालीन सत्तासीनहरुले सहन नसकेको र अझै त्यो दुई तिहाईको धङ्धङ्तीबाट ब्युँझिन गाह्रो परेको बुझ्न सकिन्छ तर त्यो चट्याङ् कसले ल्यायो भन्नेमा अझै अन्यौल छ । त्यसका लागि एकअर्काले दोषारोपण गरिरहेका छन् । न त सत्ताबाहिर जानु परेकाले उत्तरदायित्व लिन चाहेका छन्, न त सत्ताको दाबी गरिरहेकाले स्वीकार गरिसकेका छन् र पनि जनता स्पष्ट छन् भदौ २४पछिका प्रत्येक व्यवहार र घटेका अनेक घटनाहरुका परिणामहरुले ।

बोलबोल मछली मुखभरि पानी । र पनि बोलेका छन् र २४गतेका लागि सक्रिय हुनेहरु रक्षात्मक बनेको देख्न पाइएको छ । त्यसैले जित्ने हौँ भन्नेहरु निर्वाचनका लागि आतुर छन् भने निर्वाचनबाट भाग्न नमिल्नेहरु निर्वाचनमा परिणामका लागि भन्दा पनि प्रजातन्त्रका पक्षमा उभिई रहनका लागि पनि होमिएका हुन् । कतिलाई यो निर्वाचन महोत्सव पनि हो,कतिपयलाई यो जीवनको नयाँ प्रयोग पनि हो र कतिलाई सत्ताको स्वाद चाख्न पाएको केही महिनाको अनुभवले पनि निर्वाचनका लागि आतुर देखिन्छन्। कतिपय दलहरुमा भुइँचालो जाँदैछ र यी १० दिन उनीहरुको सपनामाथि तूषारापात हुने हो कि भनेर आत्तिएका पनि छन् ।

निर्वाचन हो, धेरैवटा विशेषताहरु लिएर आएको छ र जसले जिते पनि मुलुकलाई कसरी बढाउने अघि भनेर सल्लाह आवश्यक पर्नेछ । तर केहीदलहरु भने आचार संहिता भनेको केही पनि होइन, त्यसको उछित्ता काडेर भए पनि जित्नु नै छ भनेर लागेका छन् । त्यसैले निर्वाचनको चासो मतदाताहरुलाई छ, दलहरुलाई छ र खासमा नेपाली जनतालाई छ किनभने यो निर्वाचनमा कतै प्रजातन्त्रले नहारोस् र आफ्नै मतले कतै तानासाहको जन्म नहोस् । सबैभन्दा राम्रो वाइमर संविधानले हिटलरको जन्म भएको थियो भन्ने पनि नबिर्सौँ ।

२. अन्त्यमा, आचार संहिताको पालना
निर्वाचन आयोगले मतदाता शिक्षाको प्रचार प्रसार गर्नुभन्दा पहिले आचार संहिता ल्याएको थियो र प्रचार प्रसारमा सिकाउने भनेको पनि त्यही मतदानका दिन, पहिले र पछि गरिने मतदाताका व्यवहारलाई सिकाउने हो । त्यही नै आचार हो, त्यही नै शिक्षा हो र त्यही नै प्रजातन्त्रका लागि गुह्य शिक्षा पनि हो । नेपाली मतदाताभन्दा दलहरु बढी नै आचार संहिता तोड्नमा सिपालु छन् किनभने उनीहरुको धारणा छ, कुनै पनि नीति आचार भनेको तोडेमा ठुलो भइन्छ । तर २०१५,२०४८,२०५१,२०५६,२०६४, २०७०, २०७४ र २०७९मा समेत आम निर्वाचन भएर पनि अझै मतदातामा देखिने जोसभन्दा दलहरुमा आचार संहिता पालनामा चासो देखिँदैन ।

प्रत्येक वर्ष आचार संहिता तयार हुन्छ, तर हाम्रोजस्तो देशमा अझै त्यसलाई कार्यान्वयन गर्ने जाँगर देखिँदैन । किन हो ? थाहा छैन । त्यसैले मैदानमा खेल खेल्न गएपछि कसले जित्छ , कसले हार्छ भन्दा पनि फेयर प्ले जरुरी छ । दलहरुमा यदि त्यो चेत अझै आएन भने त्यसले दिने अनुशासनहीनताको परिणामले पछिसम्म गिजोल्ने छ । चेतना भया । के पनि बुझ्नु जरुरी छ भने आचार संहिताको पालनामा तलमाथि भएको प्र्रमाणित भएमा निर्वाचनको परिणाममसेत रद्द हुनसक्छ । हेक्का रहोस्, यसपटक पुराना दलहरुले निर्वाचन आचार संहिताको उल्लंघन गरेका घटना कम छन्, तत्कालै जितको अपेक्षामा रहेकाहरुमा भने आचार संहिताभन्दा जितको परिणाम छिटै आवस् भन्ने बढी पाइएको छ । विज्ञेषु किमधिकम् ।

सम्बन्धित समाचार

लायन्स अन्तर्राष्टिय डिष्ट्रिक्ट ३२५ एफको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न हुँदै
लायन्स अन्तर्राष्टिय डिष्ट्रिक्ट ३२५ एफको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न हुँदै
  • २०८२ फाल्गुन ११, १४: ४२

काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित महेन्द्र पुलिस क्लबको हलमा यही वैशाख ५ गते...

भतभेद छाडेर मिल्नु नै अबको विकल्प
भतभेद छाडेर मिल्नु नै अबको विकल्प
  • २०८२ फाल्गुन ११, १४: ४२

काठमाडौं । पछिल्लो समय विकसित आन्तरिक मतभेदका कारण नेपालको सबैभन्दा पुरानो र लोकतन्त्रको पर्यायवाची मानिने दल नेपाली कांग्रेसमा यतिबेला इतिहासकै...

नेपाली कांग्रेसको छवि जोगाउने प्रश्न र संविधान संशोधनको प्रयास
नेपाली कांग्रेसको छवि जोगाउने प्रश्न र संविधान संशोधनको प्रयास
  • २०८२ फाल्गुन ११, १४: ४२

१. नेपाली कांग्रेसमा संसदीय दलको नेता नेपाली कांग्रेसको प्रतिनिधि सभामा २०७९सालको संख्यामा आधाभन्दा घटी सांसदहरु अहिले प्रतिनिधि सभामा छन् ।...