रास्वपा दुईतिहाइ नजिक पुग्दा बालेन प्रधानमन्त्री बन्दै – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper
जेनजी आन्दोलनमा ओली–देउवा सरकारको नरसंहारपूर्ण कार्यले बढारिए पुराना दल

रास्वपा दुईतिहाइ नजिक पुग्दा बालेन प्रधानमन्त्री बन्दै

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बन्न पुगेको छ । कूल १६५ सदस्यका लागि भएको निर्वाचनमा रास्वपाले १२५ क्षेत्रमा जित हात पारेको छ । निर्वाचनमा नेपाली कांग्रेस, एमाले जस्ता पुराना दलहरु नराम्ररी पराजित हुन पुगेका छन् । कांग्रेस १७, एमाले १० र नेकपा ८ सिटमा खुम्चिएका छन् ।

प्रत्यक्षतर्फमात्र होइन, समानुपातिकमा पनि पुराना दलहरु नराम्रारी खुम्चिदै छन् । समानुपातिक तर्फ हालसम्म गणना भएको मतमा रास्वपाले ५० प्रतिशत पाएको छ भने कांग्रेसले १७ प्रतिशत, एमालेले १४ प्रतिशत नेपाली कम्युनिष्ट पार्टीले ७ प्रतिशत तथा राप्रपाले ४ प्रतिशत मत पाएका छन् । २०७४ को आम निर्वाचनमा एमाले र तत्कालीन माओवादी मिलेर गठन भएको कम्युनिष्ट गठबन्धनबाट नेकपाले ठूलै उपलब्धी हात पारेको थियो । तर फागुन २१ को निर्वाचनबाट कम्युनिष्ट पार्टीलाई नराम्रो धक्का लाग्न पुगेको छ । अर्कातिर मधेशको मुद्धालाई सत्ताको भर्यांग बनाउदै आएका मधेशवादी दलहरु यो निर्वाचनबाट बिदा भएका छन् । प्रत्यक्षतर्फ एउटा क्षेत्रबाट पनि कुनै पनि मधेशवदाी दलले जित हात पार्न सकेन । यसरी मधेशवादी, कांग्रेस र कम्युनिष्टलाई धक्का दिएको यो निर्वाचनको हालसम्मको समानुपातिक मतपरिणाम हेर्दा सरकार गठनका लागि रास्वपा एक्लैले सरकार गठन गर्न सक्ने अवस्था छ । उसलाई सरकार गठन गर्नका लागि अन्य कुनै दलको समर्थन आवश्यक पर्दैन । अहिले रास्वपाले पाएको तुलनामा समानुपातिकतर्फको मत केही बढाउन सक्दा दुई तिहाईको सरकार गठन गर्न सक्ने छ ।

निर्वाचनमा यस्तो अवस्था कसरी आयो त ? पुराना दलहरुका नेताको कार्यशैलीप्रतिको जनआक्रोश त छदै थियो । अहिले जित हात पारेको रास्वपाका अध्यक्ष रवि लामिछानेप्रति पनि मानिसहरुले विश्वास गर्न सकिरहेका थिएनन् । यस्तो अवस्थामा सहकारी ठगी प्रकरणमा मुछिएका कारण थुनामा रहेर अदालतबाट धरौटीमा रिहा भएका रास्वपाका विवादास्पद छवीका नेता रवि लामिछानेका कारण पार्टीले मत नपाउने अवस्था आएपछि रास्वपाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर मत मागेको थियो ।

निर्वाचनको मुखैमा साहले देशका बिभिन्न भागमा पुगेर पुराना दलहरुले गर्न नसकेका सुधारका कामलाई आफूले अघि बढाउने प्रतिवद्धता जनाउदै मत मागेपछि देशव्यापी रुपमा रास्वपाका पक्षमा लहर आएको हो । जसका कारण देशभरका अधिकांश मतदाताले निर्वाचनमा कसलाई भोट दिने भन्ने प्रश्नमा बालेनलाई प्रधानमन्त्री बनाउन घण्टीमा भोट हाल्ने बताएका थिए । नभन्दै निर्वाचनमा उनीहरुले भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित साहलाई स्वीकार्दै मत दिए । र बालेन काठमाडौं महानगरको प्रमुखमा निर्वाचित गरेका मतदाता र आफ्नो पुख्र्यौली थलो महोत्तरीलाई छाडेर निर्वाचन लड्न पूर्वको झापा पुगेका थिए । झापामा पनि पटक पटक प्रधानमन्त्री भएका एमाले अध्यक्ष केपी ओलीकै निर्वाचन क्षेत्र छानेर बालेन जानुलाई धेरैले अनौठो रुपमा लिएका थिए । उनै ओलीलाई करिब ५० हजार मतको अन्तरले हराउँदै साहले संसद भवनको यात्रा तय गरेका छन् । पूर्व सहमति अनुसार रास्वपाको राजनीति अघि बढ्यो भने जुन संसद भवनबाट बालेन साह अबको एक सातापछि मुलुकको प्रधानमन्त्री बन्ने निश्चितजस्तै छ ।

नेपालको राजनीतिक इतिहासलाई हेर्दा हरेक दश वर्षमा राष्टिय राजनीतिमा कुनै न कुनै परिवर्तन भएको पाइन्छ । त्यसकारण फागुन २१ गते रास्वपाले हात पारेको सफलतालाई पनि त्यसैको निरन्तरताका रुपमा हेरिएको छ । खासगरी २०६२। ०६३ को राजनीतिक परिवर्तनको घटनालाई मसिनो गरी विश्लेषण गर्दा २४० वर्षको इतिहास भएको राजतन्त्रको अन्त्यमात्र होइन, हिंसात्मक बिद्रोह गर्दै आएको माओवादीलाई शान्ति प्रकृयामा ल्याएर संविधान सभा निर्वाचनमार्पmत नयाँ संविधान जारी गर्न संभव भएको थियो । बन्दुकको नालबाट सत्ता परिवर्तन गर्ने भन्दै सर्वसाधारण नागरिकलाई सपना बाडेर जंगल पसेको शक्ति माओवादीलाई शान्ति प्रकृयामा ल्याएर बुलेटबाट होइन, ब्यालेटबाट मात्र सत्ता परिवर्तन संभव छ भन्ने सन्देश दिन कांग्रेस र त्यसको नेतृत्वकर्ता तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला सफल भएका थिए । यसरी संसदीय राजनीतिको यात्रा आरम्भ गरेको माओवादीले २०६४ को पहिलो संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ १२० क्षेत्रमा जित हात पारेको थियो भने समानुपातिकतर्फ १०० सिट पाएको थियो ।

सशस्त्र बिद्रोहपछि राष्ट्रिय राजनीतिको मूल धारमा आएको माओवादीले यति ठूलो सफलता हात पार्नुको पछाडिको प्रमुख कारणहरुमध्ये पहिलो कारण थियो, आम नागरिकमा शान्तिको आशा । त्यसैगरी अर्को कारण थियो, मतदातामा व्याप्त त्रास अनि माओवादीका धम्किपूर्ण व्यबहार । कतिसम्म भने माओवादीलाई भोट दिए नदिएको कुरा सिसिटिभीबाट देखिन्छ भनेर उनीहरुले आफ्नो पक्षमा भोट हाल्न सर्बसाधारणलाई मनोवैज्ञानिक दबाब दिएका थिए । जस अनुसार माओवादी संविधान सभाको पहिलो शक्ति त बन्न पुग्यो । तर सरकार संचालनको आधा कार्यकाल पूरा नहुँदै उसले चालेका संविधान बिपरित कृयाकलापका कारण माओवादी नेतृत्वको सरकार लामो समय टिक्न नसकेको यथार्थता हाम्रा सामु छ । त्यसकारण निर्वाचनमा आफ्नो पक्षमा मत आउनु नै ठूलो कुरो होइन । त्यसलाई कसरी व्यवस्थित ढंगबाट अघि बढाउन सकिन्छ भन्ने महत्वपूर्ण सवाल हुन्छ ।
हिजो माओवादीले जुन ढंगबाट अकल्पनीय परिणाम हात पारेको थियो, अहिले रास्वपाले हात पारेको परिणाम पनि त्यहि नै हो । रास्वपाका निर्वाचित सांसद र समानुपातिक सूचीमा राखिएका नाम हेर्दा रास्वपाका लागि अबको संसद भवनको यात्रा अनि त्यसमार्फत गठन हुने सरकार संचालन गर्नु कम्ति चुनौतीपूर्ण छैन । किनभने हिजोका दिनमा बाहिर बसेर सरकारको कामको आलोचना गर्नु र अब आफैंले सरकार संचालन गरेर जनआकांक्षाको सम्बोधन गर्नु एउटै काम होइन । अर्कातिर रास्वपाले अहिले जे जति कुशासन, भ्रष्टाचार र बिकृति बढेको छ त्यो सबै पुराना दलका कारण हो र आफूले ती सबैमा तत्कालै देखिने गरी सुधार ल्याउने निर्वाचन अघि उसले मतदातालाई सपना बाडेको छ । यस्तो अवस्थामा पुरानो दल र लोकतान्त्रिक शक्तिका नाताले कांग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षका रुपमा अघि बढाउनु पर्छ । यसै गर्दै गर्दा सरकारका कुनै निर्णयका कारण लोकतन्त्रमा नै खतरा उत्पन्न हुने अवस्था आउँदा लोकतान्त्रिक दलको अगुवा संस्थाका नाताले कांग्रेस चुप लागेर बस्न मिल्दैन ।

संसदमा गणितीय हिसावले सानो भए पनि कांग्रेसले उठान गर्ने विषयको विशेष र अर्थपूर्ण भूमिका हुन्छ । यद्यपी फागुन २१ गतेभन्दा अगाडि आफुलाई ठूला दलका रुपमा स्थापित गरेका कांग्रेस एमालेभित्रका अहंमकारी देउवा–ओलीका कारण नेपालको राजनीतिक परिवर्तन गराउन सफल भएका तत्कालीन विपी कोइराला, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाको त्यागलाई चटक्कै बिर्सेर कांग्रेसबाटै पाँच पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाले कांग्रेस पार्टीलाई यो हालतमा पु¥याउँछन् भन्ने आम कार्यकर्ताले कल्पना समेत नगरेको विषय हुन सक्छ ।

पार्टीको सभापति पदबाट बिदा भएर गइसकेपछि पनि निर्वाचनको वातावरण बनाउन भन्दै ओलीसँगै बालुवाटार बैठकमा गएका देउवाले निर्वाचनका बारेमा एक शब्द पनि नबोली सिंगापुर गएर बसिरहँदा डडेल्धुरामा समेत नैनसिंहर महर पराजित भए । त्यसैगरी नेपाल कम्युनिष्ट आन्दोलनका पुष्पलाल प्रधान, मनमोहन अधिकारी, मदन भण्डारी जिबराज आश्रितलगायतका नेताहरुको बलिदानीलाई ओलीको अंहकारले अब नेपालमा कम्युनिष्टहरुको सरकार एकादेशको कथा जस्तै हुने हो कि भन्ने आशंका उत्पन्न गराएको छ । पार्टी अध्यक्ष भएर देशभर आफ्नो पार्टीलाई मत माग्न हिँड्नुपर्ने ओली आफ्नै क्षेत्रमा बालेनसँग जुधिरहँदा पनि ५०औं हजारको मतबाट पराजित भएका छन् । (नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

गोपालमानले गगनलाई भने- ‘छाड्ने होइन, फेरि कांग्रेस रूपान्तरणको अभियानमा अघि बढौं’
गोपालमानले गगनलाई भने- ‘छाड्ने होइन, फेरि कांग्रेस रूपान्तरणको अभियानमा अघि बढौं’
  • २०८२ फाल्गुन २५, १५: ५७

काठमाडौं : नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई राजीनामा नदिइ नयाँ जनादेशअनुसार पार्टी संगठनमा लाग्न आग्रह गरेका...

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै
प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै
  • २०८२ फाल्गुन २५, १५: ५७

काठमाडौं : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम...

रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
  • २०८२ फाल्गुन २५, १५: ५७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सहकारी ठगीसँगै जोडिएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा...