नयाँ वैकल्पिक शक्ति तर कसको विकल्प ? नेपाली कांग्रेसको या कसैको ? – Naya Bikalpa
March 25, 2026, Wednesday      Epaper

नयाँ वैकल्पिक शक्ति तर कसको विकल्प ? नेपाली कांग्रेसको या कसैको ?

१. नयाँ वैकल्पिक शक्ति तर कसको विकल्प ?
सामाजिक सञ्जालमा देखिएको तर नयाँ दलको रुपमा उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टीको भाषा भन्दा पनि अहिले चलन चल्तीमा आएको र प्रशस्त चलेको शब्द हो नयाँ वेकल्पिक शक्तिको उदय भएको छ , उसलाई काम गर्न दिनुपर्छ , नभए त पाँच वर्षपछि हेराैँला नि ।

अहिले यो संसदमा देखिएको नयाँ दल भनेको श्रम संस्कृति पार्टी मात्र हो ,अरु दल त यसभन्दा पहिले पनि संसदमा कुनै अहिलेकै नाममा त कुनै पुराना दलहरुको संयुक्त स्वरुपका रुपमा देखिएका हुन् । जस्तो कि संसदमा राष्ट्रिय मान्यता प्राप्त दलहरुमध्ये नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमालै, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी यी दलहरु २०७९सालको प्रतिनिधि सभामा राष्ट्रिय दलहरुका रुपमा नै थिए । नेपाली कम्युनिस्ट पार्टी चाहिँ तत्कालीन नेकपा माओबादी केन्द्रसँग मिलेका डेढ दर्जन कम्युनिस्ट पार्टीहरुको संयुक्त स्वरुप हो त्यसैले नाममा नयाँ भए पनि मूलतः माओबादी केन्द्रका सहयोगी दलहरुको एउटा नाम भएकाले यो दललाई नयाँ मान्दा पनि हुने, पुरानै मान्दा पनि हुने हो ।

नयाँ दलको रुपमा निर्वाचन घोषणा भएपछि खुलेकोले हालका लागि राष्ट्रिय दलको मान्यता पाएको श्रम संस्कृति पार्टी नयाँ दलको रुपमा संसदमा देखिएको हो । तर आम जनताले स्वीकार गरेर दुई तिहाई बराबरको संख्या दिएर सरकार बनाउने जनादेश पाएको दलचाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी हो । हालको जनताको भाषामा घण्टी चिन्ह लिएर निर्वाचनमा होमिएको दललाई नै नयाँ शक्तिको रुपमा र वैकल्पिक शक्तिको रुपमा चित्रित गरिएको हो ।

एउटा प्रश्न उठ्छ, यो दल कसको विकल्पमा उदाएको हो ? दलको रुपमा स्वतन्त्र संस्था भएर उदाएको र जनताको प्रचण्ड वहुमत पाएको हो कि ? उनीहरुले जिताउँदै आएका नेपाली कांग्रेस र एमालेको विपक्षमा जनताले रास्वपालाई जिताएका हुन् ? अनि कसको विकल्प ? वहुलवादी प्रजातान्त्रिक व्यवस्थामा दलहरुको उत्पत्ति हुनु, त्यसले जनताको आदेश प्राप्त गर्नका लागि निर्वाचनमार्फत् आउनु स्वाभाविक कुरा हो । तर कसको विकल्प भनेको कुरामा समयावधि पर्खनै पर्ने हुन्छ । प्रजातान्त्रिक व्यवस्थामा जनअपेक्षा पूरा नहुँदा जनताले पहिले दिँदै आएको समर्थन परिवर्तन गरेर अर्को दललाई जनादेश दिन सक्छन् जस्तो कि नेपालमा वहुदलीय व्यवस्था पुनस्र्थापना भएदेखि नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपाका बिचमा त्यो क्रम दोहोरिएको छ ।

झन २०६३सालमा तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि माओबादी शक्तिको रुपमा देखिएकै हो र आज पनि त्यो शक्ति चौथो शक्तिको रुपमा प्रतिनिधि सभामा उपस्थित छ जवकि २०६४सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा तत्कालीन संविधान सभा तथा व्यवस्थापिकामा पहिलो शक्तिको रुपमा उपस्थित थियो । तथापि त्यो बेलाको संसदको संरचनामा त्यो दल पनि वहुमतमा थिएन । पहिलो संविधान सभाले संविधान दिन नसक्दा र वामपन्थीहरुका मात्र चारजना प्रधानमन्त्री हुँदा पनि संविधान लेख्ने काममा प्रगति नहुँदा दोस्रो निर्वाचन भयो संविधान सभाको । त्यसमा नेपाली कांग्रेस पहिलो शक्तिको रुपमा उदायो, दोस्रोमा एमाले रह्यो भने तेस्रो शक्तिको रुपमा माओाबादी रह्यो । नेकांं र एमाले मिलेर सरकार बनाए र नयाँ संविधान घोषणा गर्न सके ।

एउटा कुरा यहाँ स्मरणीय छ कि चारचारवटा वाामपन्थी सरकार बने तर संविधानको खाकासमेत कोर्न सकेनन् जबकि २०७०सालको निर्वाचनले दिएको आदेशबमोजिम पहिलो दल नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बन्यो , त्यसले संविधान घोषणा गरेरै छोड्यो । त्यहाँ कसको विकल्प को थियो भन्ने अझै स्पष्ट थिएन । त्यसपछि नयाँ संविधान आयो २०७२सालमा र तत्कालै नेकपा एमालेको सरकार बन्यो संयुक्तरुपमा ।

२. सबै विकल्प नेपाली कांग्रेसका हुन् त ?
२००७सालतिर फर्कनु पर्ने हुन्छ किनभने नेपालमा दलीय संरचनाको सूत्रपात गर्ने नेपाल प्रजापरिषद् थियो र त्यसका नेताहरुलाई राणाका विरुद्धमा संगठित भएकाले फाँसी दिइयो, आजन्म जेलमा कोचियो, कति जेलमै मरे र कति पछिपनि मुलुकको नेतृत्वमा उदाएका थिए । नेपाली कांग्रेसको माउ पार्टी राष्ट्रिय कांग्रेसमा प्रजापरिषद्का नेतालाई नै अध्यक्ष राखेर गठन भएको थियो जुन दल पछि गएर नेपाली कांग्रेस भयो ।

त्यो दलले आफ्नो संगठनलाई प्रजापरिषद्को विकल्प ठानेन तर प्रजापरिषद्का अधुरा कामहरु भने पूरा गर्यो, राणातन्त्रलाई हटायो र प्रजातन्त्र स्थापना गरी नागरिक शासन चलाउने वातावरण तयार ग¥यो । २०१५सालमा भएको पहिलो आम निर्वाचनमा जनादेश पाएको ठुलो दलको रुपमा सरकार गठन गरेको थियो जसका प्रधानमन्त्री बिश्वेश्वरप्रसाद कोइराला हुुनुहुन्थ्यो । त्यो सरकारमात्र होइन, संसद नै विघटन गरेर तत्कालीन महाराजा महेन्द्रले करिब करिब सैनिक शासनको सरल प्रयोग गरे तर अनुहार भने नागरिक सरकारकै रह्यो अर्थात् नेपाली कांग्र्रेसको विकल्प खोजेको देखियो ।

३०वर्षपछि वहुदलीय व्यवस्थाको पुनस्र्थापना भयो र नेपाली कांगेसको संगठन सुषुप्त अवस्थामै मौलाएर आयो र तत्कालीन सरकार पनि कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईकै रह्यो र २०४८सालमा भएको दोस्रो आम निर्वाचनमा पनि नेकांलाई नै वहुमत दिएर सरकारमा पठाए नेपाली जनताले । त्यसपछि दिनहरुमा नेपाली कांग्रेस निर्णायक शक्तिको रुपमा रहेकै छ र नेपाली जनताले राखेको अपेक्षा पूरा नगरेकाले बेला मौकामा जनादेश नदिएर पर्खन, सच्चिन र फेरि प्रयास गर्न मौका दिइरहेका देखिन्छन् जसको परिणाम २०८२को आम निर्वाचनले देखाएको छ । यस्तो अवस्थामा पनि नेकांलाई १७लाखभन्दा बढी नेपालीहरुले मत दिए जबकि यो पटकको निर्वाचनमा यति आउनु पनि ठुलो सकसको अवस्था थियो । र पनि जति नयाँ शक्ति उदाउँछन्, तिनको मतको आधार नेपाली जनता नै हुन् र भन्ने गर्छन् : यो पटक नयाँ शक्तिलाई, नभए त छँदैछ कि नेकां ।

यसको मतलब नयाँ दलहरुले भन्ने गरेको वैकल्पिक शक्ति पनि नेकांको विकल्प रहेछ कि ? एमालेका उदय पनि कांग्रेसका विरुद्धको जनमत तयार गरेरै हो किनभने पञ्चायतलाई मित्रशक्ति मान्नेहरुको पछिल्लो संस्करण अझै बाँकी छन् कम्युनिस्ट दलहरुमा । राप्रपाले आफूलाई उदार प्रजातन्त्रवादी माने पनि विरालो बेलामौकामा म्याउँ गर्छ र निरंकुश राजतन्त्रको नयाँ संस्करणको तयारी गरिरहन्छ । हेर्नुछ, रास्वपा नेपाली कांग्रेसको सामाजिक प्रजातन्त्रको पक्षमा उदाउँछ कि उदार प्रजातन्त्रको पक्षमा उदाउँछ कि वाइमर संविधानबाट उदाएको हिटलरको नयाँ संस्करण हुन्छ, समयले त्यसको उत्तर दिनेछ । अहिले नकारात्मक टिप्पणी आवश्यक छ जस्तो लाग्दैन । विरालो कालो या सेतो जस्तो होस् मुसा मारोस् ।

३. अन्तमा, फेरि नेपाली कांग्रेसका कुरा
नेपाल विद्यार्थी संघले दिएको वक्तव्यले नयाँ तरङ्ग ल्याउने छ र नेकांमा देखिएको उग्र विभाजनको खाका कोरेको छ । यसको जरो नेपाली कांग्रेसभित्रको अराजकतालाई इँगित गर्छ र यो अहिलेको विशेष अधिवेशनका नेतृत्वहरुप्रतिको तीब्र प्रतिक्रिया हो जस्तो लाग्छ । कुरो झिनो मसिनो होला तर यसको चिंगारी नफैलिँदै पार्टीमा एकताको सन्देश र नियमित अधिवेशनको सहमतिको मिति तयार गरिँदैन, यो कपासको थुप्रोमा आगोको मुस्लोको काम गर्नेछ ।

नयाँ समितिले भंग गर्न सक्छ तर समानान्तर सगठनको जोखिम रहनेछ । त्यतिमात्र होइन, सतर्कताका साथ नेपाली कांग्रेस एकतात्मकरुपमा संगसठित हुन सकेन भने पार्टी विभाजनको जोखिम यथावत् छ । त्यसैले आगाको मुस्लोमा यो संगठन पसेको छ र त्यहाँबाट सखल्ल बाहिर आउने धेरैको त्याग आवश्यक छ, सहष्णुता आवश्यक छ र भावी पुस्ताप्रतिको दूरदृष्टि आवश्यक छ । बीपीले आफूलाई भन्दा पार्टीलाई केन्द्रमा राखेकाले आज पनि विकल्पहरुको कुरा हुन्छ, मूल पार्टीको रुपमा कांग्रेस नै देखिएको हो । नेतृत्वको प्यासभन्दा, सत्ताको प्यासभन्दा मुलुकको माया ठुलो हो, सहिदहरुको नाम सम्झेर आपूmलाई न्यौछावर गर्न सक्नु ठुलो कुरा हो । हेरौ कसले कति मनन गर्छ र दललाई सखल्ल राख्ने कोसिस गर्तेछ । सामान्यतया दलको नेतृत्वको हातमा त्यो संयमता र दूरदृष्टि आवश्यक छ ।

सम्बन्धित समाचार

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुँदै
एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुँदै
  • २०८२ चैत्र १०, १३: २८

काठमाडौं। यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) यही चैत १९ गतेदेखि सञ्चालन हुँदैछ।२१ फागुनमा भएको निर्वाचनको कारण यस वर्ष एसईई १२...

चलचित्र ‘तेल भिसा’का निर्माता कार्की पक्राउ
चलचित्र ‘तेल भिसा’का निर्माता कार्की पक्राउ
  • २०८२ चैत्र १०, १३: २८

  काठमाडौं । चलचित्र ‘तेल भिसा’का निर्माता पक्राउ परेका छन् ।ठगीको आरोपमा ‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ परेका हुन् ।...

निर्वाचनको समीक्षा गर विवादमा नअल्मलेऊ
निर्वाचनको समीक्षा गर विवादमा नअल्मलेऊ
  • २०८२ चैत्र १०, १३: २८

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मुलुककै सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेसले नराम्ररी पराजय भोग्नु पर्यो । पछिल्लो...