
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
“गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ, यसले हामीलाई समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ, यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने संकल्पका लागि अभिप्रेरित गरेको छ, किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमीको स्वामित्व दिएको छ, त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा हो”, उनले भने ।
उनले गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ सम्बृद्ध बनाउन हामी सबै राजनीतिक निष्ठा, मूल्यमान्यता एवम् आचरणमा परिवर्तनसहित एकताबद्ध भएर सबै लाग्नेमा विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले गणतन्त्र फगत एक व्यवस्था होइन, यो आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो भने ।
“यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई विर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौ, आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र सम्वृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम् र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आवद्ध गर्न प्रेरणा देओस्”, उनले भने ।
मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको र यसले जनताको चाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रुपमा अगाडि बढाउने निर्णय गरेको उनले उल्लेख गरे । साथै, उनले शासकीय सुधारका एक सय कार्यसूचिलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र, तौलरहित व्यापारको निमित्त संरचनागत र कानूनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने विश्वास व्यक्त गरे ।
“हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षाहरू पूरा हँुंदैनन्, यसका लागि हाम्रो राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ, अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन”, राष्ट्रपति पौडेलले भने ।
उनले आज हाम्रो सबैभन्दा ठूलो शत्रु अरु कोही होइन, ढिलासुस्ती, अनियमितता र वेथिति भएको बताए । उनले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यीनै वेथितिहरूले निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्दछ भन्नेमा जोड दिए ।
काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको...
काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को...
काठमाडौं : सरकारले शिक्षा क्षेत्रका लागि दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम...