शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्को जोखिमप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत मौसम पूर्वानुमानसम्बन्धी जानकारी सार्वजनिक गर्दै शुक्रबार (असोज ९) देखि आइतबार (असोज ११) सम्म देशका विभिन्न स्थानमा मेघगर्जनसहित चट्याङ, हावाहुरी तथा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने जानकारी दिएका हुन् ।

उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको उनले बताएका छन्।

विशेषगरी गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङ तथा हिमाली क्षेत्र, बागमतीका पहाडी भूभाग, कर्णालीको जुम्ला आसपास र सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षाको जोखिम बढी रहने प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा गेग्रानसहितको बाढी आउन सक्ने र त्यसबाट सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।

प्रधानमन्त्री शाहले वर्षा भइरहेको समयमा तथा रातको समयमा राजमार्गमा यात्रा नगर्न, नदी तथा खोलानालाको आसपास र अन्य जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

त्यस्तै, मौसममा सुधार नआएसम्म पदयात्रा तथा हिमाली क्षेत्रमा हुने भ्रमण स्थगित वा पुनर्विचार गर्न पनि उनले अनुरोध गरेका छन् ।

उनले मौसम पूर्वानुमान महाशाखा तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना र निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गर्दै सम्बन्धित निकायलाई आवश्यक तयारी, आपसी समन्वय तथा पूर्वसूचना प्रवाहमा सक्रिय रहनसमेत अनुरोध गरेका छन् ।

प्रधानमन्त्री शाहले सार्वजनिक गरेको विवरणमा आगामी केही दिनको प्रतिकूल मौसमका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै नागरिक तथा सम्बन्धित सरकारी निकायले पूर्वतयारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
  • २०८३ आश्विन ७, १६: ३८

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...

कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
  • २०८३ आश्विन ७, १६: ३८

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...

विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
  • २०८३ आश्विन ७, १६: ३८

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...