
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको पुँजी वृद्धि गर्दै लगानीका क्षेत्र तथा वित्तीय उपकरणको दायरा विस्तार गर्ने प्रस्ताव गरिएको बताएका छन् ।
बुधबार अर्थ समितिको बैठकमा कोषको कार्यसम्पादन, वित्तीय अवस्था, लगानी तथा प्रतिफल र भावी कार्ययोजनाबारे जानकारी दिँदै मन्त्री वाग्लेले नागरिक लगानी कोष ऐन, २०४७ लाई समयानुकूल बनाउन संशोधन विधेयक ल्याइएको बताए ।
उनका अनुसार कोषको पुँजी ८ अर्बबाट बढाएर १० अर्ब रुपैयाँ पुर्याउने, सेयर कित्ता ८ करोडबाट १० करोड पुर्याउने र चुक्ता पुँजी ३ अर्बबाट वृद्धि गरी ६ अर्ब ८० करोड रुपैयाँ पुर्याउने प्रस्ताव गरिएको छ ।
संशोधन विधेयकमार्फत कोषको लगानी दायरा पनि फराकिलो बनाउने तयारी छ । निजी इक्विटी, भेन्चर क्यापिटल, पूर्वाधार, उत्पादनमूलक उद्योग तथा आवास क्षेत्रमा लगानी विस्तार गर्ने व्यवस्था विधेयकमा समेटिएको मन्त्री वाग्लेले जानकारी दिए ।
उनले पुरानो ऐनमा समेटिन नसकेका नयाँ वित्तीय उपकरण तथा लगानीका क्षेत्रलाई समावेश गरी कोषको क्षमता अभिवृद्धि गर्न खोजिएको बताए ।
विधेयकमा कोषको परिभाषा र कार्यक्षेत्र विस्तार, सञ्चालक समितिको पुनर्संरचना, लगानीका क्षेत्र तथा वित्तीय उपकरणको विविधीकरण र लेखा प्रणालीको आधुनिकीकरणलगायत विषय समेटिएका छन् ।
संशोधन प्रस्तावअनुसार सञ्चालक समितिको पुनर्संरचना दफा २५, लगानीका क्षेत्र तथा वित्तीय उपकरण विस्तार दफा ३२ तथा लेखा प्रणालीको आधुनिकीकरण दफा ३७ र ३८ मा व्यवस्था गरिएको छ ।
त्यसैगरी, कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार निर्धारण, कोषका विशेष अधिकार विस्तार, मुद्दती निक्षेपमा लगानीसम्बन्धी व्यवस्था तथा कानुनी शब्दावलीमा आवश्यक परिमार्जन गर्ने प्रस्ताव पनि विधेयकमा समावेश गरिएको छ । राष्ट्रिय बीमा संस्थानको सट्टा राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको नाम राख्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
मन्त्री वाग्लेले ऐन संशोधनपछि नागरिक लगानी कोषको पुँजीगत तथा संस्थागत क्षमता वृद्धि हुने विश्वास व्यक्त गरे । साथै, राष्ट्रिय प्राथमिकताका पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा दीर्घकालीन पुँजी परिचालन गर्न सहज हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व र संशोधित विधानलाई अद्यावधिक गरेको छ । निर्वाचन आयोगको...
काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व रु २९ खर्ब ७५ अर्ब ११...
त्रिशूली (नुवाकोट) : भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घर भाडाबापतको रकम वितरण सुरु गरिएको छ । संघीय सरकारले बाढी...