दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार – Naya Bikalpa
November 26, 2026, Thursday      Epaper

दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं : सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश दिनुपर्ने अवस्था नरहेको ठहर गरेको हो ।

अदालतको आदेशसँगै प्रहरी महानिरीक्षकमा नियुक्त डा. मनोजकुमार केसीले नै पदमा निरन्तरता पाउने भएका छन् । यद्यपि, कार्कीले दायर गरेको रिटको अन्तिम फैसला भने हुन बाँकी छ ।

सर्वोच्चले अन्तरिम आदेश जारी नगर्नुका तीन प्रमुख आधार प्रस्तुत गरेको छ । पहिलो, केसी सरकारले गरेको निर्णयअनुसार आईजीपीमा बढुवा तथा नियुक्त भइसकेर कार्यभारसमेत सम्हालिसकेको अवस्था रहेको अदालतको ठहर छ । दोस्रो, प्रहरी संगठनको नेतृत्व देशको शान्ति सुरक्षा कायम गर्ने विषयसँग प्रत्यक्ष जोडिएकाले यसलाई सार्वजनिक महत्वको संवेदनशील विषयका रूपमा लिइएको छ ।

त्यस्तै, कार्कीले उठाएका कानुनी प्रश्न र माग गरेको न्यायिक उपचारबारे रिटको अन्तिम सुनुवाइकै क्रममा निरूपण गर्न सकिने देखिएकाले तत्काल अन्तरिम आदेश आवश्यक नरहेको अदालतको निष्कर्ष छ ।

अन्तरिम आदेश नदिए पनि सर्वोच्चले मुद्दालाई भने छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ । प्रहरी संगठनको नेतृत्व, नियन्त्रण प्रणाली र शान्ति सुरक्षासँग सम्बन्धित विषय भएकाले विपक्षीबाट लिखित जवाफ प्राप्त भएपछि वा जवाफ पेस गर्ने अवधि सकिएपछि सात दिनभित्र मुद्दाको पेसी तोक्न आदेश दिइएको छ । साथै, पेसी स्थगित नहुने गरी दुवै पक्षलाई पूर्वसूचना दिन पनि भनिएको छ ।

सरकारले गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा खटाएको थियो । त्यसपछि डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा नियुक्त गरिएको थियो ।

सरकारको निर्णय गैरकानुनी रहेको दाबीसहित कार्की सर्वोच्च पुगेका थिए । उनले प्रहरी नियमावलीमा आईजीपीको पदावधि चार वर्ष तोकिएको अवस्थामा आफूलाई जिम्मेवारी हेरफेरका नाममा पदबाट हटाउन नमिल्ने जिकिर गरेका छन् ।

सम्बन्धित समाचार

बालेन र रविबीच पाँच घण्टा लामो छलफल, के भयो कुराकानी ?
बालेन र रविबीच पाँच घण्टा लामो छलफल, के भयो कुराकानी ?
  • २०८३ मंसिर १०, १८: २४

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच पाँच घण्टा लामो भेटवार्ता भएको छ ।...

मन्त्रिपरिषद्को मर्यादाक्रममा फेरबदल
मन्त्रिपरिषद्को मर्यादाक्रममा फेरबदल
  • २०८३ मंसिर १०, १८: २४

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा १७ सदस्यीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् । नयाँ मर्यादाक्रमअनुसार प्रधानमन्त्री...

संगठनलाई गुटभन्दा माथि उठाएर समुदायसँग जोड्न कांग्रेस केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यको प्रस्ताव
संगठनलाई गुटभन्दा माथि उठाएर समुदायसँग जोड्न कांग्रेस केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यको प्रस्ताव
  • २०८३ मंसिर १०, १८: २४

काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यले पार्टी संगठनलाई पदमुखीभन्दा काममुखी बनाउनुपर्नेमा जोड दिएकी छन् । आन्तरिक...