
काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप अनुसन्धानका लागि चार दिन प्रहरी हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाइएको प्रकरणमा पक्राउ परेका अर्याललाई प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार उनलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । पक्राउ पर्नुअघि उनी भारतमा रहेको बताइएको थियो । प्रहरीले पक्राउपछि अर्यालको निवासमा समेत खानतलासी गरेको थियो ।
अर्यालमाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहँदा मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा अतिरिक्त शुल्क उठाएर विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ ।
नेपाल र मलेसियाबीच भएको समझदारीविपरीत श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिव्यक्ति थप १०० मलेसियन रिंगेट असुल गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार सन् २०१९ देखि २०२४ सम्म उक्त शुल्क संकलन गरी १७ पटकमा एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम मलेसिया पठाइएको थियो । यसमा ८३ लाख ७० हजार अमेरिकी डलर र ३७ लाख १७ हजार बेलायती पाउन्डसमेत रहेको बताइएको छ ।
प्रहरीले उक्त रकम संकलनमा मलेसियाली कम्पनीको स्थानीय प्रतिनिधि म्याक्रो टेक प्रालिको भूमिका रहेको दाबी गरेको छ ।
यस प्रकरणमा प्रहरीले यसअघि पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन अधिकारी तथा व्यवसायीहरूलाई पक्राउ गरिसकेको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा प्रधानमन्त्री...
काठमाडौं : नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले निर्वाचन आयोगले पार्टीको आधिकारिक विवरण अद्यावधिक गरिसकेकाले अब आन्तरिक विवाद र वैधानिकताको...
काठमाडौँ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का कर्मचारी १२ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएका छन् । नेपाल...