काठमाडौं । विकासको मेरुदण्डग मानिएको पूल निर्माणको विभिन्न ठेक्का लिएर समयमै काम सम्पन्न नगरी अलपत्र पार्दै हिंड्ने र कमसल काम गर्दै आएका पप्पु कन्सट्रक्सनका सञ्चालक तथा सांसदलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नबिनकुमार घिमिरेल पाता कस्ने हिम्मत गरेका छन् ।
गत ४ असोजमा मात्र संसदीय सुनुवाई समितिको अनुमोदनपछि अख्तियारको प्रमुख आयुक्तमा नियुक्त नविन कुमार घिमिरेले ओली सरकारले भाषण गर्दै आएको कामचोर ठेकेदारलाई ठेगान लगाउने घोषणालाई ठूलो राहत समेत दिएका छन् ।
गत जेठ पहिलो सातादेखि काम नगर्ने, कमसल काम गर्ने र बाटो घाटो तथा पुल निर्माण कार्यलाई अधकल्चो छोडेर हिंड्ने ठेकेदारलाई पाता कस्ने भनेर गृहमन्त्री रामबहादुर थापा बादलले जहीँ तहीँ भाषणा गर्दै हिँडे पनि एउटै कामचोर ठेकेदारलाई नियन्त्रणमा ल्याउन सकेका थिएनन् । उल्टै सरकारका अर्का भौतिक पूर्वाधार मन्त्रीले रघुबीर महासेठले निर्माण व्यवसायिको मनोवल घट्न नदिने भन्दै बचाउ गरेका थिए । तर निष्कलंक र स्वच्छ छवि बनाएका अख्तियारका आयुक्त तथा नेपाल सरकारका पूर्व सचिव घिमिरे अख्तियार प्रमुखमा नियुक्ति भएसँगै अख्तियारमा नयाँ रक्तसंचार भएको धेरैले आंकलन गरेका छन् ।
स्थायी घर झापाको दमक भए पनि राजनीतिक आग्रह र पूर्वाग्रहमा नफसेका घिमिरे कुनै बेला तत्कालिन गृह सचिव तथा हालका लोकसेवा आयोगका प्रमुख आयुक्त उमेशप्रसाद मैनालीका विश्वास पात्र समेत थिए । उनै मैनालीले हिम्मतदार र स्वच्छ क्षबी भएका घिमिरेलाई सँधै बिबादमा आउने अध्यागमन विभागका जिम्मेवारी दिएका थिए ।
जिम्मेवारी सम्हाल्ने बित्तिकै अख्तियारको यो कदमलाई धेरेले सकारात्मक र आशाबादी भएर हेरेका छन् । राज्यले चाहेर पनि कारबाही गर्न नसकेको तथा सत्तारुढ दल संघीय समाजबादी फोरमका सांसद हरिनारायण प्रसाद साह रौनियार खुलम खुल्ला विकास समिति बैठक र संसदको बैठकको कारबाहीमा भाग लिन्थे । अख्तियारले पप्पु कन्सट्रक्सनका सञ्चालक सांसद रौनियारका छोरा र उनी रौनियारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि सांसद पद नै निलम्बनमा परेको छ । एक महिनाअघि रौतहटको रातु नदीमाथि टिकुलियाघाटको मुलको पिल्लरमा डुंगा ठोकिँदा ६ जनाको निधन भएपछि रौतहट प्रहरीले सांसद रौनियारका छोरालाई पक्राउ पुर्जी जारी गरेको थियो ।
निर्माणाधिन पुलको निर्धारित समयमा निर्माण सम्पन्न नगर्दा आधा निर्माण भएको पिल्लरमा डुंगा ठोकिएको थियो । त्यस्तै, बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमाथिको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको उजुरीमाथि अनुसन्धानबाट पुल निर्माणमा आर्थिक अनियमितता भएको देखिएपछि पप्पु कन्सट्रक्सनसहित सरकारी कर्मचारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारले पप्पु कन्सट्रक्सनका तत्कालीन सञ्चालक तथा संघीय समाजवादी फोरमका सांसद हरिनारायण प्रसाद साह रौनियारसहित उनका छोरा सुमित रौनियार गरी १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले सांसद रौनियारबाट १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनका छोरा सुमित रौनियारबाट समेत सोही बराबरको बिगो रकम दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सनबीच २२ असार २०६८ मा बर्दियाको जब्दीघाटमा बबई नदीमाथि पुल निर्माण गर्ने सम्झौता भएको थियो । तर उक्त पुल निर्माण भएर सञ्चालनमा नआउँदै भास्सिएपछि स्थानीयले अख्तियारमा उजुरी दिएका थिए । स्थानीयको उजुरीका आधारमा अख्तियारले पुल निर्माणको प्राविधिक पक्षको समेत अध्ययन गरी छानबिन गरेको थियो । अख्तियारको छानबिनबाट पुल बनाउँदादेखि नै कमसल निर्माण सामग्रीको प्रयोग भएको देखिएको छ ।
पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणको अध्ययनमा खटिएका सरकारी कर्मचारी र प्राविधिकहरूले समेत गुणस्तरहीन कामलाई मान्यता दिएको अख्तियारको छानबिनबाट देखिएको छ । सरकारी कर्मचारीले निर्माण कम्पनीको त्रुटीपूर्ण कार्यलाई गुपचुप रूपमा स्वीकार गरेको अख्तियारले जनाएको छ । पुल निर्माणको सम्झौता गर्ने डिभिजन सडक कार्यालय नेपालगञ्जका प्राविधिकहरुले हचुवाको भरमा फिल्डको नापजाँच गरेको, स्पेसिफिकेशनको क्लज ११२ बमोजिम नभएको फेला परेको देखिएको अख्तियारले जनाएको छ ।
यस्तै डिभिजन सडक कार्यालय नेपालगञ्जले पुल निर्माण परियोजनाको गुणस्तर निर्धारण योजनाबमोजिम गुणस्तर प्रमाणित नभइकनै पप्पुलाई भुक्तानी दिएको अख्तियारको ठहर छ । पुलका पिल्लरको चौडाई डिजाइनमा उल्लेख भएबमोजिम नदेखिएको अख्तियारको प्राविधिक अध्ययनबाट फेला परेको छ । जसका कारण पुल सञ्चालनमा नआउँदै भास्सिएको थियो ।
अख्तियारले गुणस्तरहीन काम हुँदा पनि भुक्तानी दिने डिभिजन सडक कार्यालयका कर्मचारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले डिभिजन सडक कार्यालय नेपालगञ्जका तत्कालीन प्रमुख भानु जोशी, मनोज श्रेष्ठ, राजेश कुमार यादव तथा निमित्त डिभिजन प्रमुख इञ्जिनियर नवराज केसी, इञ्जिनियर प्रेमकुमार चुवाई, इञ्जिनियर हरिबहादुर खड्का, इञ्जिनियर दीपेन्द्रबहादुर विष्ट, सब–इञ्जिनियर, कार्मातेन्जिन तामाङ्ग र सब–इञ्जिनियर गोविन्द गैरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
डिभिजन सडक कार्यालय नेपालगञ्जका तत्कालीन प्रमुख भानु जोशीविरुद्ध १ लाख २५ हजार र १ करोड ९५ लाख ८८ हजार ४ सय ३७ गरी कूल १ करोड ९७ लाख १३ हजार ४ सय ३७ रुपैयाँ बिगो बराबर जरिवाना र सजाय माग गरिएको छ । राकेश कुमार यादवविरुद्ध ७४ लाख ५३ हजार २ सय ६९ ।३७ रुपैयाँ र ३ करोड १४ लाख १८ हजार ९ सय ७ ।५८ गरी ३ करोड ८८ लाख ७२ हजार १ सय ७७ ।२० रुपैयाँको बिगो बराबर जरिवाना र कैद सजाय माग गरिएको छ । मनोज श्रेष्ठविरुद्ध ९ करोड २४ लाख २४ हजार ९९ ।१९ रुपैयाँको बिगो बराबर जरिवाना र कैद सजाय माग गरिएको छ ।
इञ्जिनियर नवराज केसीविरुद्ध ६ करोड ९२ लाख ४६ हजार ९ सय २१ ।६५, इञ्जिनियर प्रेमप्रसाद चुवाईविरुद्ध ३ करोड १९ लाख ३८ हजार ५ सय ७९ ।९६, इञ्जिनियर हरिबहादुर खड्काविरुद्ध ७ करोड ५४ लाख ४८ हजार ६१ ।१५ र इञ्जिनियर दीपेन्द्रबहादुर विष्टविरुद्ध १ करोड ६१ लाख ८३ हजार ४ सय ४३ ।५२ रुपैयाँ बिगो बराबर जरिवाना र कैद सजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको हो ।
सब–इञ्जिनियर कार्मातेञ्जिन तामाङविरुद्ध १५ करोड ८ लाख ८४ हजार ७ सय १३ ।४० र अर्का सब–इञ्जिनियर गोविन्द गैरेविरुद्ध १ करोड ९५ लाख ८८ हजार ४ सय ३७ रुपैयाँ बिगो बराबरको जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ । पप्पु कन्सट्रक्सनले पुल निर्माण गर्दा पेटी ठेक्का दिएको एभरेस्ट इञ्जिनियरिङ कन्सलट्यान्टका सञ्चालक कृष्णदेव यादवविरुद्ध समेत अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । कृष्णदेवविरुद्ध १ लाख ४१ हजार २ सय ५० रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
यस्तो छ पप्पुको खराब रेकर्ड
सडक विभागका अधिकारीहरुका अनुसार पप्पु कन्स्ट्रक्सनले बनाउनु पर्ने सबै पुलको लम्बाइ जोड्ने हो भने सात किलोमिटर नाघ्छ । काठमाडौंको तीनकुनेको पुल होस् वा टेकु र कालिमाटीलाई जोड्ने पुल होस्, पप्पुले नै ठेक्का पाएको छ । पप्पु कन्स्ट्रक्सनले पर्सामा नौरन्जीया, तिलाव, बेदाहा र हेरियाडी नदीमा पुल बनाउँदैछ । यसमध्ये नौरन्जीया र तिलाव ०७० सालमै सक्नुपर्ने थियो भने बेदाहा र हेरियाडीको निर्माण ०७३ मा सक्नु पर्ने थियो । तर, अझै काम सकिएको छैन ।
रौतहटमा निर्माण हुँदै गरेको चाँद नदी पुलको म्याद आगामी असारमा सकिँदैछ । तर, भौतिक प्रगतिले भने पुल बन्न अझै लामो समय लाग्ने देखिएको छ । रौतहटकै लमाह खोला र तरहरा झाँद्ध नदीपुल पनि म्याद गुज्रि सकेको छ । पप्पु कन्स्ट्रक्सनसँग अहिले १० अर्ब बढीको ठेक्का छ । तर, कुनै पनि काम न समयमा भएको छ, न प्रगति सन्तोषजनक छ । बरु कामको गुणस्तरीयतामाथि पटक(पटक प्रश्न उठेको छ । कञ्चनपुरको दैजी खोला पुलमा पनि पप्पुले यस्तै लापर्वाही दोर्होयाएको छ । यो पुल ०७४ को पुसमै निर्माण सक्ने गरी सम्झौता भएको थियो ।
पप्पु कन्स्ट्रक्सनले बाँके, सिराहा, धनुषा, सुर्खेत, सप्तरीलगायतका जिल्लामा पनि पुलका ठेक्का लिएर अलपत्र पारेको विभागका अधिकारीहरु बताउँछन् । हुलाकी मार्गमा पर्ने झापाको कन्काई पुलको निर्माणमा पनि पप्पुको लापरवाही कायमै छ । २०७२ जेठ मसान्तसम्ममा निर्माण सक्नुपर्ने पुल अझै बनिसकेको छैन । पुलसँगै सडकको अवस्था पनि त्यस्तै छ । कम्पनीले पर्साको सिर्सिया सुख्खा बन्दरगाह परवानीपुर सडकसहित दुई वटा खण्ड निर्माणको ठेक्का पनि लिएको छ । हुलाकी राजमार्गको एउटा खण्डमा डेढ अर्बको ठेक्का पनि पप्पुकै जिम्मामा छ । पप्पु कन्स्ट्रक्सनसँग अहिले १० अर्ब बढीको ठेक्का छ । तर, कुनै पनि काम न समयमा भएको छ, न प्रगति सन्तोषजनक छ । बरु कामको गुणस्तरीयतामाथि पटक(पटक प्रश्न उठेको छ ।
सबैभन्दा धेरै लापरवाही पुलमा
सडक विभागको तथ्यांकअनुसार पप्पुले सबैभन्दा धेरै लापर्वाही पुलमै गरेको देखिन्छ । गत असारमा बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल उदघाटन नहुँदै भत्कियो । यो पुल पप्पु कन्स्ट्रक्सनले साढे १६ करोड बढी लागतमा बनाएको थियो । यसको निर्माणमै गुणस्तरहीन सामाग्री प्रयोग भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । तर त्यसलाई रोक्न कसैले सकेन । पप्पुले समयमा काम गर्दैन र उसको कामको गुणस्तरमाथि पनि प्रश्न उठेको छ भन्ने जान्दाजान्दै पनि लो बिडका कारण एकपछि अर्को ठेक्का ‘अवार्ड’ जसरी पड्काइरहेको छ । पप्पुले रौतहटको लालबकैया नदीमा बनाएको पुल ०७४ सालमा दोस्रो पटक भासियो । पूर्र्वी पिलर भासिएको एक वर्षपछि पश्चिमतर्फको पिलर पनि भासियो । पप्पुले बनाएको बर्दियाको जब्दीघाटस्थित बबई नदीको पुल पनि निर्माण सकेर हस्तान्तरण नहुँदै पुल भाँचिएको थियो ।
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला रु १०० र चाँदी रु ३० ले...
काठमाडौं : बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् ।...
काठमाडौँ : आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४...