मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको हत्याबारे प्रतिबेदनले यस्तो देखायो – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको हत्याबारे प्रतिबेदनले यस्तो देखायो

मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११, नवलपुर, सहिद स्मारकको मूल गेटको घर भएका मनोहर ढकाल विगत दुई दशकदेखि जिल्लामा रहेर सञ्चार क्षेत्रमा क्रियाशिल रहेका थिए । २०७५ साल पुस २५ गते हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१, भैरवडाँडाको जङ्गलमा उनलाई स्थानीय वासिन्दाले खोल्सामा ढलेको अवस्थामा देखेपछि साँझ साढे ५ बजेतिर प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले ढकाललाई हेटौंडा अस्पतालमा लगेपछि डाक्टरले मृत घोषणा गरेका थिए ।

उनी विगत १४ वर्षदेखि शिक्षण पेशामा पनि संलग्न ढकाल विद्यालयबाट घर फर्किदै गरेका ढकालको भैरवडाँडा जङ्गलमा हत्या भएपछि नेपाल पत्रकार महासंघका केन्द्र, प्रदेश र जिल्ला तथा मकवानपुरका पत्रकार÷सञ्चारकर्मी, ढकालका आफन्तको लगातारको दवाब, आग्रहपछि जिल्ला प्रहरी कार्यालय, मकवानपुरले घटनाको बारेमा अनुसन्धान गरि हत्यारा पत्ता लगाउन सफल भएको थियो ।

मकवानपुरका पत्रकारहरुका अनुसार कोही कसैसँग विवाद नगर्ने, भेटमा मुसुक्क हाँसेर स्वागत गर्ने स्वभावका सञ्चारकर्मी मनोहर ढकाल सबै पत्रकारहरुबीच प्रिय थिए । असल भावना राखेर कोही कसैलाई सम्झाउँदा ढकालले ज्यान गुमाए । रेडियोकर्मी ढकालले कुलतमा लागेकाहरुलाई सपार्न खोज्दा उक्त नियति भोग्नु प¥यो ।

प्रहरी अनुसन्धानमा ढकाल मोटरसाइकलमा पूर्व–पश्चिम राजमार्गको हेटौँडास्थित राप्ती पुलबाट करिब दुई सय मिटर कच्ची मोटरबाटो पार गरेर दाहिने जङ्गलतर्फ कुलतमा लागेका दुई युवाहरुले लागु औषध गाँजा सेवन गर्दै गरेको अवस्थामा भेटिएका र लागु औषध सेवन नगर भनेर सम्झाउन, बुझाउन खोज्दा ती दुई युवाले उल्टै ढकालमाथि हातपात गरेका र धकेलेर खोल्सामा खसालेर हत्या गरेको अध्ययनले जनाएको छ । हत्यामा संलग्न भएका दुई युवकसहित मृतकको औँठी र मोवाईल खरीद गर्ने अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ समेत गरेको छ ।

हत्या गरिएका रेडियोकर्मी ढकालले दक्षिण एशियाकै पहिलो अडियो टावर पालुङबाट आफ्नो सञ्चार यात्राको थालनी गरेका थिए । २०५२ सालमा हालको थाहा नगरपालिका—२ मा पैयूँको रुखमा माइक राखेर समाचार र सूचनाहरु सार्वजनिक गर्ने गरिन्थ्यो ।

उक्त अडियो टावरमा प्राविधिकको रुपमा प्रवेश गरेका ढकाल सक्रियतामा २०६१ असार २१ गते पालुङमा त्यही अडियो टावरलाई स्तरोन्नती गरी ‘सामुदायिक रेडियो पालुङ’ स्थापना गरिएको थियो । उक्त सामुदायिक रेडियोमा उनी प्राविधिकसहित कार्यक्रम सञ्चालक थिए । ढकालसँगै काम गरेका पालुङका सञ्चारकर्मी कुमार नेगीका अनुसार सामुदायिक रेडियो पालुङबाट प्रसारण भएको पहिलो आवाज मनोहर ढकालको थियो ।

रेडियो पालुङ नारायणी अञ्चलको पहिलो सामुदायिक रेडियो हो, ढकाल यसको पहिलो कार्यक्रम सञ्चालक र प्राविधिक थिए । ढकालले पालुङ रेडियोमार्फत डोको रेडियो सञ्चालन गरेर मकवानपुरका दुर्गम गाउँका वासिन्दाको आवाजलाई नीति निर्माण तहसम्म पु¥याउन सफल भएको थियो । २०६६ सालसम्म पालुङमानै रहेर रेडियो पालुङलाई अगाडि बढाए । ढकालले हेटौँडामा रेडियो शक्तिमा प्राविधिकसँगै कार्यक्रम संयोजकको जिम्मेवारीमा रहेर काम गरे ।

पछिल्लो समयमा हेटौँडा उपमहानगरपालिका—४स्थित रेडियो अनमोलमा कार्यरत थिए
ढकाल हेटौँडा उपमहानगरपालिका—१२ स्थित बुद्ध माविमा शिक्षक हुन् । विद्यालयमा पढाउने समय बाहेकको समयमा ढकाल रेडियोमा नै व्यस्त रहन्थ्ये । जुन दिन उनको हत्या भयो, त्यो दिन उनी विद्यालयबाट रेडियोमा गएनन् । घटना भएको दिन पुस २५ गते हेटौँडाको मुख्य बजारबाट घर जान्छु भन्दै स्कुलबाट बाहिरिएका थिए ।

२०३३ साल असोज ५ गते जन्मिएका ढकालले व्यवस्थापन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका थिए । सात वर्षको उमेरमा मनोहरले पिता गुमाएका थिए । अहिले उनका छोराले त्यही नियति भोग्नु परेको छ । मनोहरकी आमा, पत्नी, एघार वर्षीया छोरी र सात वर्षीय छोरा छन् । मनोहरको हत्यापछि ढकाल परिवार गहिरो शोकमा डुबेको छ । इमान्दार र सज्जन रेडियोकर्मी ढकालको हत्याले मकवानपुरका पत्रकार÷देशै भरका सञ्चारकर्मीसमेत शोकमा डुब्न पुगे ।
सञ्चारकर्मी मनोहर ढकालको हत्या बारेमा स्थलगत अध्ययनबाट पाइएका केही तथ्यहरु ः
१. स्थानीय वासिन्दाले घटनास्थलमा देखेर प्रहरीलाई खबर गरेको मिति र समय ः २०७५।०९।२५ गते साँझ साढे ५ बजे ।

२. घटना भएको स्थान र अवस्था ः मकवानपुर जिल्ला, हेटौँडा उपमहानगरपालिका वडा नं. १, भैरवडाँडा जङ्गल । बाटोबाट झण्डै ८ फिट तल खोल्सोमा ढुङ्गामा बजारिएर उत्तानो परेको र टाउको कोल्टे परेको अवस्थामा फेला पारिएको ।

३. मनोहर ढकाललाई घटनास्थलबाट तत्काल हेटौँडा अस्पतालमा पु¥याएको ५ मिनेटपछि डाक्टरले मृत घोषणा गरेका ।

४. हत्या भएकै दिनदेखि घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापासमेत सात जनाको टोली अनुसन्धानमा खटिएको ।

५. हेटौँडा– १ का वडाअध्यक्ष सबिन न्यौपाने र मकवानपुरका सञ्चारकर्मीहरुको रोहबरमा प्रहरीले प्रारम्भिक अनुसन्धान शुरु गरेको । घटनास्थल मुचुल्काको क्रममा तालिम प्राप्त कुकुरको प्रयोगबाट हत्यामा संलग्न व्यक्ति भागेको सहि दिशाको मार्ग निर्देशित भएको । त्यसपछि अनुसन्धान अघि बढाएको पाईएको ।

६. ढकाल हत्याको घटनामा संलग्न व्यक्तिहरु पक्राउ नपरुन्जेलसम्म पटक–पटक घटनास्थलको अवलोकन गर्दै प्रहरीले झण्डै एक सय पचासजनासँग सोधपुछ गरेर हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको पाइएको छ । ढकाल उक्त जङ्गलमा किन र कसरी पुगे भन्नेबारेमा थप अनुसन्धान भइरहेको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक मधुकुमार थापाले बताउनुभएको छ ।

७. प्रहरीले ११ दिनको अनुसन्धानपछि ढकालको हत्यामा संलग्न मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ बस्ने राजन पुडासैनीको छोरा वर्ष १९ को अनमोल पुडासैनी र मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर– १ बस्ने पदम वाईबाको छोरा वर्ष १८ को प्रवीण वाईबालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

८. प्रहरीले मनोहर ढकालको हत्या गरेर लुटिएका सामग्री खरीद गर्ने मकवानपुर, भिमफेदी गाउँपालिका वडा नम्वर ६ बस्ने दिनेश मोबाईल एण्ड ईलेक्ट्रोनिक सेन्टरका सञ्चालक वर्ष ३१ को दिनेश थापा मगर र मकवानपुर, हेटौँडा उपमहानगरपालिका वडा नम्वर २ बस्ने नारायणी सुनचाँदी पसलका सञ्चालक वर्ष ४८ को नारायण बहादुर सुनारलाई समेत पक्राउ गरेर मुद्धा चलाएको छ ।

९. स्थानीय अमृत वाग्लेले घटनास्थलमा मनोहर ढकाल ढलेको देखेर प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी घटनास्थलमा साँझ साढे ५ बजे पुगी स्थानीयको रोहवरमा घटनास्थलको मुचुल्का गरेको थियो ।

१०. प्रहरीले घटना सम्बन्धमा मृतकलगायत शंकास्पद व्यक्तिहरुको फोन नम्वरहरुको अनुसन्धानको शिलशिलामा प्रविधिको विशेष प्रयोग गरेको जानकारी गराएको । मिति ः २०७५।१०।०४ गते दिउँसो साढे १ बजे मृतकको मोबाईल फेला पारी दिनेश मोबाईल एण्ड ईलेक्ट्रोनिक सेन्टर पसलबाट वर्ष ३१ को दिनेश थापा मगरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ बस्ने वर्ष १९ को अनमोल पुडासैनीसँग दश हजार रुपैयाँमा खरीद गरेको कुरा बताएको, नागरिकताको छायाँकपी समेतबाट उक्त कुरा खुलेको प्रहरीले जानकारी गराएको ।

११. प्रहरीले अनुसन्धान गर्दै जाँदा मिति २०७५।१०।०४ गते साँझ ५ बजे मकवानपुर जिल्ला हेटौँडा–४ बाट घटनामा संलग्न मुख्य दोषी अनमोल पुडासैनी र प्रवीण वाईबालाई पक्राउ गरेको ।

१२. पक्राउ परेका दुई जना युवाले पत्रकार सम्मेलनमा आफुहरु बसी गफ गरिरहेको ठाउँमा मनोहर ढकाल आई भाईहरु तिमीहरु जङ्गलमा किन बसेको ? बदमासी गर्न बसेको हो ? प्रहरीलाई बोलाई दिऊँ ? भनि आफुहरुलाई भनेपछि आफुहरुले पनि किन त्यस्तो भनेको ? भनि बादबिवाद भईरहँदा ढकालको हातमा सुनको आँैठी रहेको र झोला समेत बोकेकाले प्रलोभनमा परी ढकालले चलाएर आएको ना.२३ प ६३३८ नम्वरको डिस्कभर मोटरसाईकल स्टार्टमै रहेको अवस्थामा हात समाती तानेर लडाई घाँटी थिची ढकालले लगाएको ः लेखेको सुनको औँठी, पर्स, हार्ड डिक्स र झोलासमेत खोसी मुखमा मुक्काले हिर्काई मार्ने नियतले घटनास्थलमा ढुङ्गा भएको खोल्सामा धकेली दिएको र मोबाईल, सुन र पर्समा भएको पाँच सय रुपैयाँ लिई पर्स खोल्सामा फालेको, झोलामा केही नभएकोले झोला पनि फाली हार्ड डिक्ससमेत लिई घटनास्थलबाट फरार भएको बताएका छन् ।

निष्कर्ष ः
सञ्चारकर्मी मनोहर ढकालको हत्या घटनाले परिवार गहिरो शोकमा छ, सहकर्मी सञ्चारकर्मीहरु मर्माहत बनेका छन् । जिल्लाको सञ्चार क्षेत्रमा ठूलो क्षति पुगेको छ । प्रहरीले हत्यामा संलग्न दोषीलाई पक्राउ गरि कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको छ । दोषी उपर कडा कानुनी कारवाहीका लागि निरन्तर खबरदारी आवश्यक छ ।

घटनाको छोटो समयमै प्रहरीले प्रभावकारी अनुसन्धान गरी दोषी पक्राउ गर्न सकेको छ । त्यसका लागि नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखा एवम् जिल्लाका पत्रकार÷सञ्चारकर्मीको निरन्तरको दवाब, आग्रह महत्त्वपूर्ण रह्यो । दोषी पक्राउ परेपनि घटनास्थलमा मनोहर किन र कसरी पुग्नुभयो भन्ने विषय अझै रहश्यको गर्भमै छ । प्रहरीले यो विषयको अनुसन्धान गरी चाँडो सत्यतथ्य पत्ता लगाउन आवश्यक छ । यसबाट घटनाबारे थप प्रष्ट हुनेछ ।

मनोहर ढकालको परिवारमा रहनुभएका उहाँकी आमा, श्रीमती र दुई सन्तान उहाँमा आश्रित रहँदै आउनुभएकोले मनोहरले सञ्चार क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै राज्यले परिवारको सहयोग र बालबच्चाको पठनपाठनका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराउन आवश्यक छ । यो घटनाले समाजमा अवाञ्छित क्रियाकलाप हुन नदिन तथा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासन थप चनाखो हुनुपर्ने तथा पत्रकार÷सञ्चारकर्मीहरुले पनि आफ्नो व्यक्तिगत सुरक्षाप्रति सतर्क भई आफ्नो व्यावसायिक कार्य सम्पन्न गर्नुपर्ने देखिएको छ ।

उक्त घटनाको छानविन तथा सत्यतथ्य पत्ता लगाउनका लागि नेपाल पत्रकार महासंघद्वारा बनाइएको मिसन कार्य दलमा रहेका– कृष्ण गिरी – केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ÷मिसन संयोजक, प्रताप विष्ट– नेपाल पत्रकार महासंघ ३ नं. प्रदेश अध्यक्ष, हरि हुमागाई–नेपाल पत्रकार महासंघ, मकवानपुर शाखा अध्यक्ष सदस्य रहेको कार्यदलले बनाएको प्रतिवेदनमा आधारित ।

सम्बन्धित समाचार

लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग
लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग
  • २०७५ माघ २८, ०९: ४३

काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत स्थापना भएको लायन्स अफ नेपाल जर्नालिष्ट क्लबले स्थापना कालदेखि विभिन्न...

तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
  • २०७५ माघ २८, ०९: ४३

काठमाडौं । असार महिना धान रोपेर किसानहरु रमाउने महिना, किनकी मानो रोपेर मुरी फलाउने कृषि प्रधान देश नेपाल यतिबेला, पहाडमा...

कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
  • २०७५ माघ २८, ०९: ४३

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टीको विधानका बारेमा छलफल सुरु गरेका छौं भन्दै १५औं महाधिवेशनले छोपी सकेको...