डेंगीको यो महामारीको बेलामा सरकार कहाँ छ ? गम्भीर अवस्थामा जनताको सेवा कसले गर्ने ? – Naya Bikalpa
April 26, 2024, Friday

डेंगीको यो महामारीको बेलामा सरकार कहाँ छ ? गम्भीर अवस्थामा जनताको सेवा कसले गर्ने ?

हरिविनोद अधिकारी

१.मुलुकमा कोरोनाको कहरबाट केही मुक्ति पाएको जस्तो देखिएको भए पनि डेंगु या डेंगीको प्रकोपबाट थलथलिएको छ । राजधानीमा मात्र ७ हजारभन्दा बढी संक्रमितहरुको संख्या छ । हुन त यो रोग सरुवा होइन र पनि भयावह स्वरुपमा देखिएको छ । पोहोर र परार पनि डेंगी संक्रमण थियो , खासगरी तराई क्षेत्रमा थियो ।

झन दसैँ र तिहारको छेकमा बढी नै रोगी फेला पर्थे तर अहिलेको धेरै पानी परेकोले पनि होला, लामखुट्टेका लार्भाहरुको विकासलाई मानवीय कोसिसले कमी गर्न सकेका छैनौँ ।

हुनसक्छ, करिब ३महिनासम्मको काठमाडौँको फोहोरको व्यवस्थापन नहुँदा लामखुट्टेको त्यो प्रजातिको विस्तृतीकरणलाई मद्दत नै पुग्यो होला । एकातिर वर्षा रोकिएको छैन, अर्कोतिर डेँगीले महामारीको रुप लिएको छ । बजारमा पुग्दोमात्रामा सिटामोल पनि छैन भनेर पीडितहरुको गुनासो छ । अस्पतालहरुमा डेँगी हो कि होइन भनेर जाँच्ने सुविधा पनि सबैतिर छैन, अनि महङ्गो जँचाइले विरामीहरु बरु रगत नजाँच्ने भनेर फर्केका छन् ।

समाजवाद उन्मुख राज्य रे एकातिर , अर्कोतिर कोरोना वा डेँगी वा अरु कुनै जाँच गर्न सुविधा नभएको , जहाँ सुविधा छ,त्यहाँ अचाक्ली महङ्गो , एकनासको व्यवस्था पनि नदेखिएको अवस्था विद्यमान छ ।

२. सरकारका एउटा स्वास्थ्यसम्बन्धी जिम्मा लिएको अंग मुलुकमा स्वास्थ्य संकटकाल घोषणा गर्नु पर्ने भनेर सिफारिस गर्छ तर त्यस्तो संकटकालको बारेमा गर्नुपर्ने कुनै तयारी देखिँदैन । अस्पतालमा ठाउँ छैन । कुनै आपतकालीन व्यवस्था गरिएको छैन । अस्पताल निजी होस् या सरकारी , जनताले सेवा चाहन्छन्, बाँच्न चाहन्छन् , बेलामा ओखती चाहन्छन्, सेवाको प्रत्याभूति चाहन्छन् र मलाई डेँगी या कोरोना या टाइफाइड या इन्सेफलाइटिस या मेनेन्जाइटिस या मौसमी भाइरल के भएको हो, जान्न चाहन्छन् ।

आफूले जान्ने कुरा भए पनि आखिर उपचारका लागि चिकित्सकको जिम्मामा जानु नै पर्छ तर कहाँ जाने ? कसरी जाने ? पहिले जनताको ज्यान जोगाउने कि चुपचाप महामारी कहिले आउँछ, आपतकालको घोषणाा कहिले गर्ने भनेर जोखाना हेरेर बस्ने हो ?

३. सरकार छ जस्तो लाग्न थालेको छैन । आपसमा दन्तबझान छ राजनीतिक फाँटमा । मुलुकमा करिब २२ हजारभन्दा बढीलाई डेँगी भएको छ, अझ कति त जँचाउन नै गएका छैनन् किनभने जँचाउने सुविधा पनि सहज छैन । कति घरैमा सिटामोल छ भने खाएर बसेका छन् होला, नत्र बिसेक हुन्छ भनेर रुँदै कराउँदै ऐया ऐया भन्दै बसेका छन् ।

गाउँ गाउँमा सरकार छ तर गाउँको सरकारले समेत यसमा तदारुकता देखाएको छैन । न लामखुट्टे मार्ने कुरामा तदारुकता देखाएको छ, न विरामीहरुको जाँच पड्तालमा वास्ता गरेको छ , न विरामीहरुको ओखतीका लागि ध्यान दिएको छ। संघीय सरकार र प्रादेशिक सरकारको वास्ता भनेको आगामी निर्वाचनमा कसरी आफ्ना आफ्ना गुट जित्ने भन्ने छ जबकि स्थानीय सरकारले यो काम संघीय सरकारको हो जस्तो गरी कानमा तेल हालेर बसेको देखिन्छ ।

केहीकेही स्थानीय सरकारले ध्यान दिएको देखिए पनि संक्रमितहरुको संख्या यसरी बढ्न थालेको छ कि अस्पतालले पनि थेग्न सक्ने देखिँदैन, खोइ त होल्डिङ् सेन्टरको व्यवस्था गरेको ? खोइ त जनस्वास्थ्यको बारेमा ध्यान दिएको ? खोइ त सिटामोलको व्यवस्था गरेको ? खोइ त रगत जाँच्ने व्यवस्था गरेको ? अनि जनताले निर्वाचनमा भाग लिएर मात्र सरकार बनाएको जस्तो देखियो, जनताको सेवामा सरकार लाग्नु पर्ने होइन र ? खोइ त सरकार , कहाँ छ ? कसका लागि सरकार छ ?

पाँचतारे होटलजस्ता अस्पतालमा लाखौँ खर्च गरेर ओखती गर्न सक्नेलाई मात्र लामखुट्टेले टोकेर डेँगी सार्ने होइन क्या रे । तै पनि ती अस्पतालमा पनि कोरोनाको बेलामा जस्तै कुनै सुविधाको बारेमा जानकारी दिइएको छ जस्तो लागेन । दिनको १५सयभन्दा बढी व्यक्ति संक्रमित भएर, विरामी भएर अस्पतालमा आउँदा अस्पतालमा नआएकाहरु, रगत जँचाउन नगएकाहरु, रगत जँचाउन तत्काल पैसा नभएकाहरुको संख्या कति होला ?

गाउँगाउँमा कस्तो भएको होला ? कोसँग होला र आधिकारिक अभिलेख ? कसलाई वास्ता रह्यो र ती निरीह जनताको जनस्वास्थ्यको चिन्ता ? कसले समानुपातिका टिकट पाउने, कसले प्रत्यक्षमा टिकट पाउने र आफन्तलाई कसरी दिलाउने भन्नेमा सरकारमा रहेका, या दलका टाउकेहरु लागेको बेलामा नै डेंगी किन आएको भनेर बसेका होलान् ती लाउकेहरु ।

४. कोरोना र डेँगीको महामारीको कुरा होइन, त्यस्तो महामारी हैजाको पनि आउन सक्छ । यो बर्षाको सुरुमा जुनबेला फोहोरमान्डु भएको थियो काठमाडौँ , त्योेबेलामा हैजाको कुरा आएको थियो र हैजाका कतिपय विरामीहरु अस्पतालसम्म पनि आएका थिए ।

त्यसको पनि महामारी हुन सक्छ, आउँको महामारी हुनसक्छ या कोरोनाजस्तै कुनै नयाँ संक्रमणको कुनै पनि बेला जनस्वास्थ्यमा समस्या आउन सक्छ तर हामी जनताको जीवन रक्षाको काममा वास्ता नगरेर जनतालाई निरीह बनाउने काममा लागेको छौँ भन्ने कुरामा पनि सरकारमा भएका मानिसहरुमा चिन्ता देखिँदैन , मानौँ मुलुकमा केही नै नभएको जस्तो देखिन्छ ।

संघीय स्वास्थ्य मन्त्रालयले आफ्नो काम गर्न सकेको देखिँदैन, प्रदेश त सोपिसमा राखिएको लुगा जस्तै हो , न त्यो लुगा विक्री हुन्छ, न त छुन नै पाइन्छ । मात्र हेर्नका लागि हो । त्यस्तै हो । अझै पनि तदारुकता नदेखाए कहिले देखाउने हो ? या त समय आएपछि रोग आफैँ साम्मे हुन्छ भनेर चुपचाप बसेको जस्तो लाग्छ ।

स्वास्थ्य विशेषज्ञहरुले भने धेरै पहिलेदेखि नै यसपटकको डेंगीको अवस्था भयावह हुने भनेर चेतावनी दिँदै आएका थिए तर सरकारले वास्ता गरेन, लामखुट्टेले त किन पो वास्ता गथ्र्यो र ? उसले टोक्छ, सार्छ अनि मर्छ । अनि मानिसलाई पनि सारेकै छ ।

५. र अन्त्यमा, बरु निर्वाचनका प्रक्रियालाई केही पर सारौँ, तर यो डेँगीको महामारीको लागि सबै तर्पmबाट तदारुकता देखाऔँ । सायद अहिलेको सरकारका विरुद्धमा मत माग्नेहरुका लागि यो पनि एउटा मसला हुनेछ जनताको कि कोरोना र डेँगीको महामारी हुँदा पनि आवश्यकताअनुसारको ध्यान सरकारले दिएन र जनधनको नष्ट हुन बाध्य भयो ।

सरकार जस्तो सरकार हुनुप¥यो भन्ने माग उठ्दै छ । डेँगीको महामारी भित्रै जनताको घरदैलोमा मत माग्न जानेहरुसँग जबाफ के होला जनस्वास्थ्यप्रति गरिएको हेलचेक्राइँको ? यति हो यो महामारीको सम्बोधन गर्न ढिलो भयो, ढिलो भयो , ढिलो भयो । महामारीको मात्रा शिखरमा पुग्यो । नेपाली जनताले भन्ने बेला भयो , गुहार गुहार गुहार हाम्रो रक्षामा कोही त आऊ हाम्रो स्वास्थ्यको ख्याल गर्नका लागि । बाँच्न पाउने हकको सुरक्षाका लागि ।

सम्बन्धित समाचार

अर्थसचिव मरासिनीले लिए राष्ट्र बैंकको सञ्चालकका रूपमा शपथ
अर्थसचिव मरासिनीले लिए राष्ट्र बैंकको सञ्चालकका रूपमा शपथ
  • २०७९ आश्विन १०, ११: २०

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंकको सञ्चालकका रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश...

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए  विश्वासको मत
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
  • २०७९ आश्विन १०, ११: २०

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत पाएका छन् । कुल ४० सदस्यीय मध्ये प्रदेश सभाको बैठकमा ...

रबीविरुद्ध कमेन्ट गर्ने सिंहद्वारा साइबर ब्यूरोको यातनापछि ‘अधिक औषधि सेवन’! आईसीयुमा उपाचार हुँदै
रबीविरुद्ध कमेन्ट गर्ने सिंहद्वारा साइबर ब्यूरोको यातनापछि ‘अधिक औषधि सेवन’! आईसीयुमा उपाचार हुँदै
  • २०७९ आश्विन १०, ११: २०

  काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धमा कमेन्ट गरेकै आधारमा एक युवकले नेपाल प्रहरीको साइबर ब्यूरोको यातानाका कारण व्युरोको ढोकामा...