समयको पदचापलाई बेलैमा बुझ्ने कोसिस गरौँ – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

समयको पदचापलाई बेलैमा बुझ्ने कोसिस गरौँ

१. निर्वाचन प्रक्रियाको परिणाम घोषणा हुने क्रम जारी छ । प्राप्त मतमा पहिलो हुने प्रत्यक्षतर्फको नतिजा (प्रतिनिधि सभा र प्रदेश सभाहरुमा प्राप्त मतका आधारमा)को स्वरुप स्पष्ट भएको छ । प्रत्यक्षतर्फ समग्रमा नेपाली कांग्रेस पहिलो दलको रुपमा देखिँदा समानुपातिकतर्फ भने नेकपा एमालेले पपुलर मततर्फ आफ्नो वर्चस्व कायम गर्ने देखिन्छ । नेकपा एमाले र नेपाली कांग्रेसको पपुलर मत अर्थात् समानुपातिकतर्फको मतमा २०७४ को अनुपातमा र २०७९को स्थानीय निर्वाचनको प्राप्त वार्ड अध्यक्षहरुको मतका आधारमा करिब ६ प्रतिशतले ह्रास हुने अनुमान गरिएको छ । यसो हुनुमा राष्ट्रिय स्वतन्त्र पार्टीको जोडदार उदय , राष्ट्रिय प्रजातन्त्र पार्टीको पुरागमन अनि नागरिक उन्मुक्ति पार्टीको नयाँ उदयले हुनसक्छ । त्यसो त एउटै दलको वहुमत पुग्ने देखिएन । सत्तापक्षीय गठबन्धनमा केही तिक्तता आउने देखिए पनि अन्ततः मिलेरै सरकार बनाउने देखिन्छ किनभने जनतासँग लिएको जनादेश पनि त्यही हो कि हामी संविधान विपरित जाने दल नेकपा एमाले र त्यसका नेता केपी ओली विरुद्ध मत माग्न आएका हौँ । हामी संविधान बचाउन चाहन्छौँ । त्यसो त यो संविधानका मूल प्रावधानसँग पटक्कै सहमति नगर्ने राप्रपासँग एमालेको तालमेलले पनि नेपाली कांग्रेसको मत बढेको देखिन्छ ।

२. सत्ता गठबन्धनको पोयो खोल्ने काम त सुरु होला तर संयमित र सहिष्णु भएर सत्ताको बढी चाह भन्दा योजनाबद्धरुपमा अगाडि नबढे नयाँ हस्तक्षेपको घण्टी बजेको सुनेकै हुनुपर्छ । अहिलेसम्म कांग्रेसको विकल्प एमाले र माओबादी भन्ने र कम्युनिस्टको विकल्प कांग्रेस भन्ने भाष्यमा परिवर्तन हुन थालेको छ र प्रजातन्त्रमा जनादेशको नयाँ उपायहरुको खोजी जनताले गर्नेछन् भन्ने मान्यता अनुसार विकल्पहरुले बाटो पाएको अवस्था छ । अहिलेको संकेतले के पनि देखाउँछ भने जनताले पुरानै मूलधारका दलहरुबाट सुशासन र प्रजातन्त्रको परिणाम पाएनन् , विकल्प खोज्दा अपरीक्षित दलहरुको पनि आड खोज्ने काम गर्न सक्छन् ।

३.प्रजातन्त्रको आवधिक निर्वाचनको अनुपम सुन्दरता भनेको जनादेशहरुको नवीकरण भइरहनु हो । जनादेशहरु भनेको वहुमतीय वहुदलीय प्रणालीमा जनतालाई प्रतिनिधित्व गर्ने विचारले हो र विचार लिएर जनतामा जाँदा कसलाई र कसको सिद्धान्त र भावनालाई जनताले अनुमोदन गर्ने भन्ने अन्तिम न्यायकर्ता त जनता नै हुन् जहाँ जनतालाई अधिकार दिइन्छ विचार छान्ने, मताधिकार प्रयोग गर्ने र मताधिकार प्रयोग गर्न लुकेर मौनक्रान्ति गर्ने । सायद यही सिद्धान्त नै प्रजातन्त्रको स्वीकार्यता हो र यो अहिलेसम्मको खुला शासनतन्त्रको रुपमा संसारका धेरै देशमा देखिएको छ । यो व्यवस्था यस्तो हो कि यसको विरोधमा समेत बोल्न, लेख्न, संगठन गर्न र यसको विकल्प खोज्न पनि सकिन्छ तर त्यसलाई जनताको अनुमोदन आवश्यक छ तर प्रजातन्त्रको विकल्प भनेको फेरि प्रजातन्त्र मात्रै हुनसक्छ ।

४.नेपालमा संविधान सभाबाट प्राप्त प्रजातान्त्रिक संविधानका आधारमा दोस्रोपटक प्रतिनिधि सभा र सातओटै प्रदेश सभाहरुको निर्वाचन २०७९ साल मंसिर ४ गते नेपालभर एकैदिन सम्पन्न भएको छ र शान्तिपूर्वक, स्वतन्त्ररुपमा, निर्भयताका साथ भएको भनेर निर्वाचन आयोगले भनेको छ, नेपाल सरकारले भनेको छ र नेपालमा खटिनु भएका ८ हजारजति स्थानीय , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुको विचारमा पनि यो निर्वाचन विश्वसनीय र वैधरुपमा सम्पन्न भएको छ । अर्थात् आम निर्वाचनका सबै प्रजातान्त्रिक प्रक्रियाहरु पूरा गरिएका छन् र निर्वाचनको परिणाम पनि अबका दुईहप्ताभित्रमा आउने नै छ । तर पनि सर्सर्ती परिणामको खाका देखिएको छ र कसैले पनि सरकार बनाउने वहुमत ल्याउने छैनन् भन्ने देखिएको छ । आखिर स्थापित मूलधारका दलहरुमध्ये नै दलहरु देखिने भएका छन् र दलहरुको कतिपय अप्रजातान्त्रिक कार्यहरुको निराशालाई मौनक्रान्तिको रुपमा मतपत्रद्वारा निकास दिएको देखिन्छ । त्यसो भनेको किन हो भने अहिलेको अचानक उदाएको नयाँ दल जुन दल केही महिनअघिमात्र स्थापित थियो र अहिले वैकल्पिक शक्तिको रुपमा देखिएको छ, राष्ट्रिय स्वतन्त्र पार्टी जसको नेतृत्व रवि लामिछानेले गर्नु भएको छ। अर्थात् अन्तिम नतिजा प्राप्त हुँदा सम्म रविको दलले साथ दिनेले मात्र सहजतका साथ सरकार बनाउन गठबन्धन गर्न सक्ने देखिएको राजनीतिक पर्यवेक्षकको धारणा छ ।

५.निर्वाचन आयोगको परिणाम स्पष्टसँग नआउँदै एकपटक सत्ताको स्वादका लागि जोसँग जो पनि मिलेर नयाँ गठबन्धन गर्ने प्रयास हुनेछ । यसको मतलब हो गठबन्धनका दलहरु एकपटक फेरि हुँडलिने छन् र आफ्नै तरिकाले समीक्षा गर्नेछन् जुन भावी सरकार बनाउने नयाँ समीकरणको रुपमा अथ्र्याइने छ । त्यसो त आफ्ना कमजोरी भन्दा अरुले हराएको दोषारोपणले फेरि सामाजिक सञ्जाल रंगिने छन् अनि दलहरुभित्रै र अन्तर दलमा विवादको भुमरी सुरु गराइने छ । तर जनताको आदेशलाई फेरि पनि अवज्ञा गर्ने र पहिलेजस्तै फेरि पुरानै ढर्रामा सरकार बनाउने, ढाल्ने र फेरि गठबन्धन परिवर्तन गरिरहन काम भएमा संविधान अनुसार नै मध्यावधि निर्वाचनलाई रोक्न सकिने छैन । निर्वाचनको परिणाम नआउँदै को प्रधानमन्त्री भन्दा पनि को सभामुख, को उपसभामुख, को राष्ट्रपति, को उपराष्ट्रपति, कसले कुन संस्थामा कति मानिसहरु कसका राख्ने भन्ने कुरामा लेनदेन सुरु हुने देखिन्छ । यदि सरकार बनाउन नै आपसी अपवित्र गठबन्धन र जोसँग जो पनि मिल्ने काम गर्ने हो भने प्रजातन्त्र नेपालका लागि अफाप सिद्ध भनेर राजा महेन्द्रले भनेको प्रमाणित हुनेछ र लाखौँ नेपालीहरुको त्याग र बलीदानले प्राप्त प्रजातन्त्र, गणतन्त्र र खुला समाज आफैँमा पानीको फोकाजस्तै हुनेछ । भर्खर आम निर्वाचन सम्पन्न भएको छ र प्रजातन्त्रका लागि लडेर यी उपलब्धि प्राप्त गर्नका लागि आफूमात्रको प्रयास रहेको मान्ने मूलधारका नेतृत्वहरुले आपसमा बसेर भावी दिनका समीक्षा गनु जरुरी भएको छ ।

६.एकातिर पूर्वाग्रह र प्रतिशोध लिएर बस्ने अनि सहकार्य, सुधार र सहयोगको राप अलाप्ने काम फेरि सुरु भएको छ तर पुरानै ढर्राले एक्काइसौँ शदीको प्रजातन्त्र चल्नेवाला छैन । नेपालको परिप्रेक्ष्यमा राजनीतिज्ञहरुभन्दा जनता धेरै सुझबुझ भएका देखिएका छन् र समय समयमा मूलधारका दलहरुलाई विद्युतीय झट्का दिइरहेका छन् तर नेताहरु चेत्दैनन् र ढर्रा परिवर्तन गर्नुभन्दा जनतालाई ढाँट्न, ठग्न र झुक्क्याउन तयार भएर बसेका छन् जस्तो कि निर्वाचनको समीक्षा गर्दा आफूतिर नहेरी अरुले गर्दा मेरो अवस्था बिग्रिएको या सप्रिएको भनेर आपसमा दोषारोपण , आरोप प्रत्यारोप गर्न थालेका देखिन्छ ।
अबको राजनीतिक यात्रा भनेको बारम्बार संसद विघटन गर्ने होइन, बरु आपसमा बसेर कसरी अघि बढ्ने हो भनेर समीक्षा र सल्लाह गर्ने हो । लोककथाको तरबार बेच्ने र घिउ बेच्नेहरुको कथा अब धेरै प्रयोगमा आयो र आजको देशको अवस्था त्यसैको परिणाम हो ।

७.प्रतिशोध, द्वेष, मनमा तुस राखेर नयाँ नयाँ समीकरण गर्ने र एकअर्कालाई तत्काल धोखा दिनेले सरकार बनाउने र गिराउने भन्दा जनताले चाहेका छन्—राजनीति शुद्धीकरण होस् ।सिद्धान्तअनुसार र पारदर्शी तरिकाले सरकार बनोस् र आवश्यकता परे दक्षिण अफ्रिकाको नमुनामा सरकार बनाउने व्यवस्था होस् । त्यतिमात्र होइन, पाँचवर्ष सम्म चलेको संघीय स्वरुपको अनुभवमा आवश्यक परे संविधान नै संशोधन गरेर भए पनि सही सुशासनका लागि आवश्यक कदम चाल्नु पर्नेछ ।

८.मुलुकको अवस्था नाजुक छ । त्यसप्रति निष्पक्षताका साथ मनन गरी भावी दिनको कदम चाल्न मूलधारमा देखिएका र हालै जनादेश लिएर आएका नयाँ दलहरुका प्रतिनिधिहरुले गम्भीरताका साथ विचार गरुन् । प्रजातन्त्रका सिद्धान्तभन्दा बाहिर गएर मुलुकलाई गम्भीर अवस्थामा कोही पनि नजाओस् र राजनीतिलाई शुद्धीकरणका लागि युवाहरुको हस्तक्षेप अपेक्षित छ । यहाँ युवाहरुको मात्र कुरा पनि होइन, सुझबुझका साथ प्रजातन्त्रलाई सहजीकरण गरिएन भने सिसाजस्तै कुनै पनि बेला चकनाचुर हुन सक्छ किनभने जनता जनार्दन हुन् तर तिनको चाहनालाई मतमार्फत् दिएको संकेतलाई बुझ्नु पर्छ जोजो नेतृत्वमा छन् तिनले ।

९. र अन्त्यमा, बिरालो कालो होस् या सेतो,उसले मृुसा मार्नुपर्छ । राजनीति फेरि उही प्रधानमन्त्री को हुने भन्नेमा रुमलियो र आपसमा विवादको अनावश्यक झन्झटले जनतालाई वाक्क बनाउन थालियो भने विकल्प मतको रुपमा मात्र प्रकट भएको छ । अब जनता सडकमा अन्य विकल्पका लागि आउन खोजे भने राजनीतिकरुपमा प्राप्त उपलब्धि जोगाउन गाह्रो होला मूलधारका दलहरुलाई । अपरीक्षितहरुसँग स्थायी कार्यकर्ता छैनन् भन्दाभन्दै पनि जनताको मतले एउटा नयाँ संकेत दिएको छ । समयको पदचाप भनेको त्यही हो । समयको पदचापलाई फेरि पनि बेवास्ता गरे मुलुक यसैपनि बाहिरी आँखामा परेकै छ ,झन अब एकैपटक राजनीतिक , आर्थिक र सामाजिक संकटमा फस्यो भने मुलुकको अस्तित्वमा संकट आउने छ । नयाँ विकल्प साप्ताहिकबाट

 

सम्बन्धित समाचार

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ मंसिर १२, ११: ०९

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०७९ मंसिर १२, ११: ०९

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७९ मंसिर १२, ११: ०९

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...