अखिल क्रान्तिकारीका पदाधिकारीको दाबी – नेतृत्वकै निर्देशनमा ‘आर्थिक चलखेल’ – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper
माओबादी भ्रातृ संगठनले आन्दोलनको नाममा रकम असुल्न ‘बार्गेनिङ गरेको ’ खुलासा

अखिल क्रान्तिकारीका पदाधिकारीको दाबी – नेतृत्वकै निर्देशनमा ‘आर्थिक चलखेल’

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) र पोखरा विश्वविद्यालयसँग सत्तारुढ नेकपा माओबादी केन्द्रको भ्रातृ संस्था अनेरास्ववियू (क्रान्तिकारी)का पदाधिकारीहरुले सौदाबाजी गरेर रकम असुल्ने गरेको घटना सार्वजनिक भएको छ ।

सिटीईभीटी र पोखरा विश्वविद्यालयले केही सेवा विस्तार र केही कलेजलाई सम्वन्धन दिन लागेको विषयमा आन्दोलन गरेको र केही रकमको सौदाबजीपछि आन्दोलन फिर्ता गरेको आरोप अखिल क्रान्तिकारीको नेतृत्वमाथि लागेका छ । तर अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भने कुनै प्रतिक्रिया जनाएकी छ्रैनन् ।

अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय लेखा आयोग प्रमुखले समेत संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्रको निर्देशनमा आर्थिक चलखेल भएको भन्दै त्यस्तो काममा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।

त्यस्तै, सात जना उपाध्यक्षहरुले संगठन भित्र देखिएको समस्या समाधानका लागि तत्काल पदाधिकारी बैठक बोलाउन माग गर्दै माओबादीको केन्द्रीय कार्यालय र अध्यक्ष पञ्चा सिंहलाई संयुक्त रुपमा निवेदन दिएका छन्।

उपाध्यक्षहरु इन्द्र भुसाल, मिलन एमसी, लक्ष्मी जोशी, राजकुमार याक्सो, नारायण खनाल, डा. अच्युत भट्ट र गजेन्द्र देवले बैठकको माग गर्दै निवेदन दिएका हुन् ।

सात जना उपाध्यक्षहरुले बैठक बोलाउन माग गर्दै निवेदन दिएकै दिन केन्द्रीय कोषाध्यक्ष भूषण शाही र केन्द्रीय लेखा आयोग प्रमुख विश्वमणि थापाले संयुक्त विज्ञप्ति निकालेर संगठनका जिम्मेवार नेताहरुबाट सिटिइभिटी, पोखरा विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयमा सम्बन्धन र कार्यक्रम विस्तारलाई लिएर आन्दोलनको नाममा आर्थिक लेनदेन गर्न बार्गेनिङ गरेको बताएका छन् ।

आर्थिक चलखेल जस्तो गम्भीर विषयले संगठनको आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न खडा भएको भन्दै उनीहरुले ‘कुनै कमिटीमा छलफल नगरी शैक्षिक मुद्दाहरुको तय, मुद्दाहरुको उठान प्रक्रिया र सम्बिन्धित निकायमा प्रारम्भिक रुपमा बुझ्दा केन्द्रको निर्देशनमा चलखेल भएकै बुझिन्छ ।’

विश्वविद्यालय, कलेज र अन्य निकायमा अखिल क्रान्तिकारीको नाममा भइरहेको आर्थिक गतिविधि बन्द गर्न अनुरोध गर्दै उनीहरुले अहिले उठेको प्रश्नमा सत्यतथ्य छानबिन गरी आर्थिक चलेखल गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन पार्टी संगठनको फ्र्याक्सन कमिटी र केन्द्रीय कार्यालय समक्ष माग समेत गरेका छन् ।

केन्द्रीय उपाध्यक्षहरु इन्द्र भुसाल र नारायण खनालले सिटिइभिटी र पोखरा विश्वविद्यालयमा अखिल क्रान्तिकारीबाट आर्थिक बार्गेनिङ भइरहेको सामाजिक सन्जालमा पोष्ट गरेका थिए ।
तर आर्थिक लेनदेख र चलखेलमा संलग्न भएको आरोप लागेका अखिल क्रान्तिकारीको सिटिइभिटी राष्ट्रिय समितिका अध्यक्ष वीरेन्द्र विष्टले भने बुधबार पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेका थिए । उनले संगठनविरुद्ध दुष्प्रचार गर्नेहरुलाई कारबाही गर्न माग गरेका थिए ।
विष्टले आर्थिक चलखेल भएको भन्ने विषयमा लगाइएको आरोपको खण्डन गरेका छन् । उनले सो आरोप भ्रमपूर्ण, कपोकल्पित गोयवल्स शैलीको दुष्प्रचार भएको भन्दै घोर निन्दा र भत्र्सना गरेका छन् ।

विष्टले सिटिईभिटीई राष्ट्रिय समिति आँफैमा कार्यकारी निकाय भएकोले आफ्नै नेतृत्वमा आन्दोलन, वार्ता तथा अन्य गतिविधिहरु सञ्चालन भैरहेको जनाए । उनले पछिल्लो समय संगठनका उपाध्यक्षहरु ईन्द्र भुषाल र नारायण खनालले पटक पटक आफूलाई भेटेर सिटिईभिटीका पदाधिकारीसँग भेट गराउने र आर्थिक व्यवस्थापनको जिम्मा आफूहरुले लिने बताएको पनि दाबी गरेका छन् ।

उनले संगठनका उपाध्यक्षद्धय भुषाल र खनाललाई यस प्रकरणमा छानबिन गरी हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन् ।

अखिल क्रान्तिकारीका उपाध्यक्षहरु इन्द्र भुसाल र नारायण खनालले आफ्नो संगठनको नामबाट सीटीईभीटी र पोखरा विश्वविद्यालयको सम्बन्धन वितरणमा पैसाको बार्गेनिङ भएको सामाजिक सञ्जालमा पोष्ट गरेपछि विषय वाहिर आएको थियो ।

अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहको प्यानलबाट उपाध्यक्ष बनेका खनालले आर्थिक चलखेल गरेर संगठनलाई बदनाम नगर्न पटक– पटक गराइएको ध्यानाकर्षण बेकार भएपछि सामाजिक सञ्जालमा लेख्न बाध्य भएको उल्लेख गरेका छन् ।

पोखरा विश्वविद्यालयका अनुसार गत भदौमा सम्बन्धनका लागि आवेदन आह्वान गर्दा करिब १५० कलेजले आवेदन दिएको र प्रक्रिया अघि बढेको थाहा पाए पछि अखिल क्रान्तिकारीले विभिन्न माग राखेर तालाबन्दी गरेका थिए

सीटीईभीटीले कोर्सहरु थप्ने तयारी गरेको अवस्थामा सम्बन्धन दिंदा विद्यार्थी संगठनहरुले विरोध नजनाउन भनेर मोटो रकमको चलखेल हुने गरेको स्रोतहरु बताउँछन्।

यसअघि अखिल क्रान्तिकारीकै नेतृत्वमाथि पोखरा विश्वविद्यालयबाट ११ लाख रुपैयाँ असुलेको आरोप लागेको थियो । यद्यपि त्यसको पुष्टि हुन भने सकेन । अहिले फेरि सोही संगठनका नेताहरुले पोखरा विश्वविद्यालयका पदाधिकारीसँग बार्गेनिङ भइरहेको विषय सार्वजनिक गरेका छन् ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष भुसालले पोखरा विश्वविद्यालयका पदाधिकारीहरुले आफूलाई टेलिफोन गरी क्रान्तिकारीकै नेताले रकमको बार्गेनिङ गरेको भनी फोन आएको जनाएका छन् ।

अखिल क्रान्तिकारीका अर्का उपाध्यक्ष नारायण खनालले पनि पोखरा विश्वविद्यालय र सीटीईभीटीमा अखिल क्रान्तिकारीकै जिम्मेवार नेताले रकमको बार्गेनिङ गरेको पाइएको बताए । यसबारे आफूले अध्यक्ष पञ्चा सिंहको ध्यानाकर्षण गराएको तर ‘रेस्पोन्स नपाएपछि सामाजिक सञ्जालमा लेख्न बाध्य भएको बताएका छन्।

पोखरा विश्वविद्यालयमा राष्ट्रिय समितिको अध्यक्ष जीवन खड्का छन्। खड्काले थप कलेजलाई सम्बन्धन दिनु हुँदैन भनेर र एकैपटक बढाइएको ४५ प्रतिशत शुल््क वृद्धि लागू हुनु हुँदैन भनेर आफूहरुले पोखरा विश्वविद्यालयमा तालाबन्दी गरेको बताए । तर रकमको बार्गेनिङ गरेको कुरा सत्य नभएको उनले बताए ।

अखिल क्रान्तिकारीको नेतृत्वमा पञ्चा सिंह छिन्। तर नेतृत्व चयन प्रक्रिया र संगठनको गतिविधिप्रति विरोध जनाउँदै पवन कार्की नेतृत्वको समूहले समानान्तर गतिविधि गर्दै आएको छ ।

कार्कीले आफूहरुले संगठनमा गलत भइरहेको छ भन्ने कुरा उठाउँदै आएको अहिले पोखरा विश्वविद्यालय र सीटीईभीटीमा बार्गेनिङ भइरहेको विषय सार्वजनिक हुनुले त्यसलाई पुष्टि गरेको बताए ।

सम्बन्धित समाचार

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’
समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’
  • २०७९ मंसिर २९, १५: ३६

काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक...

गोपालमानले गगनलाई भने- ‘छाड्ने होइन, फेरि कांग्रेस रूपान्तरणको अभियानमा अघि बढौं’
गोपालमानले गगनलाई भने- ‘छाड्ने होइन, फेरि कांग्रेस रूपान्तरणको अभियानमा अघि बढौं’
  • २०७९ मंसिर २९, १५: ३६

काठमाडौं : नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई राजीनामा नदिइ नयाँ जनादेशअनुसार पार्टी संगठनमा लाग्न आग्रह गरेका...

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै
प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै
  • २०७९ मंसिर २९, १५: ३६

काठमाडौं : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम...