यदि प्रवृत्तिमा सुधार देखिएन भने मुलुक अस्थिरताको भुमरीमा जाकिने छ – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

यदि प्रवृत्तिमा सुधार देखिएन भने मुलुक अस्थिरताको भुमरीमा जाकिने छ


१.को प्रधानमन्त्री हुने , को राष्ट्रपति हुने , को सभामुख हुने , को उपराष्ट्रपति हुने अनि को राष्ट्रिय सभामा अध्यक्ष हुने भन्ने कुराले नेपाली जनतामा कुनै उत्साह किन थप्न सकेको छैन ? किनभने यस्ता कुरालाई राजनीतिक वृत्तमा त्यति वास्ता गरिएको देखिएन जबकि प्रत्येक निर्वाचनपश्चात् त्यसको जिज्ञासा चर्चाको शिखरमा हुनुपथ्र्यो । उनै दोहोरिने छन् भन्ने करिब करिब स्पष्ट देखिन्छ जसका बारेमा यति धेरै यसो विरोध र कुप्रचार भएको थियो । त्यसो हुनुमा सायद राजनीतिले राजनीतिको अपेक्षित बाटो नसमाएकाले हो कि ? जसको केही संकेत स्थानीय निर्वाचनताका नै देखिन थालेको हो । त्यसो त प्रत्येक निर्वाचनमा कालो बादलमा चाँदीको घेरा देखिन्छ तर कालो बादलको घेराले देखिएको चाँदीको घेरारुपी उज्यालोलाई छेकेको छ ।

२.नेपाली जनतामा किन किन समसामयिक राजनीतिले डो¥याएको बाटोप्रति न विश्वास देखिएको छ, न त राजनीतिको बाटोप्रति अविश्वास नै देखिएको छ । एकातिर हामीले प्रत्यक्ष निर्वाचनलाई पनि आत्मसात् गरेका छौँ र त्यसलाई धेरै महत्व दिएका पनि छाँै । सँगै समानुपातिक निर्वाचन प्रणाली धेरै खुसीसाथ ल्याएका छौँ तर त्यही नै कतै असमावेशी र असमानताको द्योतकको रुपमा समाजमा रोगको रुपमा फैलिएको हो कि भन्ने पनि देखिएको छ । अर्थात् संसदीय लोकतान्त्रिक व्यवस्थाप्रति आस्था छ तर यसलाई डो¥याउने नेताहरुको बारेमा विश्वास छैन । आफू चढेको मोटरको क्षमताप्रति चाहिँ विश्वास छ तर चालकको क्षमताप्रति भने अविश्वास देखिन्छ । यसो हुनुमा कसको दोष होला ? नेपाली जनताको दोष होला कि जसले त्यस्तालाई छान्ने काम गर्छन् बारम्बार या बारम्बार एउटै प्रवृत्ति दोहो¥याउने नेतृत्वको ?

३. सबैभन्दा अनुपम सुन्दरता पनि समानुपातिक प्रतिनिधित्वको देखिन्छ एकातिर भने त्यही समानुपातिक प्रणाली नै जनताको अविश्वासको कारण पनि बनेको देखिन्छ । समानुपातिक प्रतिनिधित्व, जसका लागि त्यसको व्यवस्था गरिएको हो । त्यही मुलुकको मूलधारमा नरहेको तर जसको स्वामित्वका लागि आवश्यकता ठानेर त्यो व्यवस्था गरिएको भनिएको हो । अहिले तिनै बाहिर परेको र नेपालको जनसंख्याका आधारमा अनुपातिकता मिलाइएको छैन भन्ने नै बढी चर्चामा छ । त्यसरी समानुपातिक प्रतिनिधि छान्ने ठाउँमा नै असमानुपातिक नेतृत्व छ भन्ने पनि गुनासो देखिन्छ । बेलामौकामा उत्साही र सचेत वर्गबाट राजनीतिको चालक परिवर्तन गर्न त खोजेको देखिन्छ तर परम्पराको गणितले र परम्पराको पुनरावृत्तिले फेरि पनि उही पारा देखिन्छ । वास्तवमा नेपालमा कस्तो राजनीतिक व्यवस्था चाहिएको हो र कस्तो व्यवस्था चलिरहेको छ भन्ने बारेमा पनि बहस हुन सकेको देखिँदैन । त्यस्तो बहस हुनुपर्ने संसदमा हो, त्यो पनि खुलारुपमा । मुलुकका सबै समस्याको बारेमा खुलेर छलफल हुनुपर्ने ठाउँमा न छलफल हुने गरेको पाइन्छ, न त जानेर ती भुइँमानिसहरुका लागि सामाजिक न्यायको पक्षमा बोलिन्छ ।

४.सामाजिक न्याय भनेको राज्यका तर्फबाट जनताले महसुस गरिने कुरा हो रहेछ । जनताका तर्फबाट राज्यले महसुस गर्नुपर्ने कुरा रहेछ । राज्यका कर्तव्यहरुबाट राज्य नभाग्ने, जनताका कर्तव्यहरुबाट जनता नभाग्ने नै सामूहिकरुपमा सामाजिक न्यायालाई व्याख्या गर्न सकिने रहेछ । राज्य र जनताले महसुस गर्दा पनि देखिने गरी महसुस हुनुपर्ने रहेछ । कोही पनि नहार्ने खेल भनेको सामाजिक न्यायको खेल रहेछ । राजनीतिमा सामाजिक न्याय नहुँदासम्म सामूहिक तथा व्यक्तिगत जीवनमा सामाजिक न्यायले प्रवेश पाउने रहेनछ । हामीले पौराणिक काल र महाभारतकाल देखि नै सुन्दै भोग्दै आएका रहेछौँ राजनीतिमा सामाजिक न्यायको रिक्तताले कस्तो हुने रहेछ ? त्यसैले अबको राजनीति खुलारुपमा कसैले पनि कसैलाई नठगी, जे स्वाभाविकरुपमा हुनुपर्ने त्यही हुँदै गएमा त त्यही हो रहेछ राजनीतिमा सामाजिक न्याय । के अहिले त्यस्तो अवस्था छ त ? बन्दकोठामा गरिने खासखास खुसखुसका आधारमा मुलुकले चालक छान्नुपर्ने किन ? को कतिपटक प्रधानमन्त्री भएमा उसले मुलुकको सेवा गर्न भ्याउने हो ? संविधानले तोकेको काम कसले कसरी गरेको छ भन्ने मूल्यांकन किन हुँदैन? कसले गर्ने हो ? सायद संसदले हो, सायद सर्वोच्च अदालतले हो , सायद प्रजातान्त्रिक अवयवका लागि भनेर कल्पना गरिएका आधिकारिक र संवैधानिक अंगहरुको हो ? ती संस्थाहरु किन सक्रियताका साथ जनताले देख्ने गरी काम गर्दैनन् ? या कसलेचाहिँ आलंकारिक पदमा बसेर जानाजान सक्रियता देखाउने गरेको छ भने किन ? यी प्रश्नहरुको जबाफ सायद अहिलेको नयाँ संसदबाट जनताले खोज्दा हुन् ।

५. हामीले तयार गरेको संवैधानिक व्यवस्था र संविधानवादले भन्छ—राज्यका सबै अंग उत्तिकै महत्वपूर्ण तर सबैको जगमा जनताको मतबाट चुनिएका जनप्रतिनिधिहरु नै महत्वपूर्ण , किनभने प्रधानमन्त्री छान्ने पनि व्यवस्थापिका, सर्वोच्च अदालतका प्रधान न्यायाधीशसहितका न्यायाधीशहरु पनि संसदीय विशेष सुनुवाइबाट छानिने, अन्य संवैधानिक अंगका पदाधिकारीहरु पनि संसदले छान्ने हो । राष्ट्रपति , उपराष्ट्रपति र सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष समेत सबैलाई जनताका प्रतिनिधिहरुले नै छान्ने हो । अनि ती जनताका प्रतिनिधिमूलक संस्थाहरु किन यति निरीह ? किन यति निष्क्रिय ? सायद नेपाली जनतामा देखिएको निराशाको आधार पनि त्यही हो । कतिसम्म भने संसदमा गणपूरक संख्या नपुगेर कैयौँपटक संसदमा विधेयकहरु अलपत्र परेका छन् र कतिपटक संसदका बैठकहरु स्थगित भएका छन् । यसमा त पक्कै दोष त जनताको होइन, तिनै जनप्रतिनिधि तथा तिनका जिम्मा लिएर लैजाने दलहरुको हो भन्न किन हिच्किचाउने ?

६. हाम्रो नेपालको संविधान हेर्दा विश्वका धेरै प्रजातान्त्रिक देशहरुको भन्दा प्रगतिशील र प्रजातान्त्रिक छ । तर त्यसको सही कार्यान्वयन नहुँदा सामाजिक न्यायमुखी समाज हुन सकेको छैन ।

७. र अन्त्यमा, सरकार बन्ने कुरा परम्परागत काम हो । तर सरकार सक्रियताका साथ जनताका पक्षमा उभिनु पर्ने चाहिँ आजको आवश्यकता हो । जनतामा सचेतना यति धेरै छ कि जेजे काम जसले गरे पनि जनता ठिक हो भन्ने पक्षमा छैनन् । जनता जाग्नुभन्दा पहिले नै नेतृत्वहरुले आफू सुध्रिएको देखाउन सक्नु पर्नेछ । अन्यथा अब फेरि नेतृत्ववर्गसँग वाक्क भएर सडकमा नेपाली जनता आए भने मुलुक झन अस्थिरतातर्फ जाकिने छ । र अहिलेको अवस्थामा कुनै परिवर्तन हुन सकेन भने, देखिएको प्रवृत्तिमा परिवर्तन आउन सकेन भने मुलुकको अस्मितामा समेत नयाँ संकट देखिने छ ।नयाँ विकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष ११, १०: ३९

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०७९ पुष ११, १०: ३९

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७९ पुष ११, १०: ३९

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...