नेपाली कांग्रेसका लागि अहिलेको अवस्था अपेक्षित थियो , अब जनताको सेवा नै सर्वोपरि मान्ने बेला हो ….. – Naya Bikalpa
April 16, 2024, Tuesday

नेपाली कांग्रेसका लागि अहिलेको अवस्था अपेक्षित थियो , अब जनताको सेवा नै सर्वोपरि मान्ने बेला हो …..

१.सरकार बन्यो तर सरकारको आयुको बारेमा नयाँ नयाँ अड्कल सुरु भइसकेको छ । यसको कारण हो यो गठबन्धनप्रति जनताको विश्वास किन हो , जम्न सकेको छैन । त्यसको कारण हुनसक्छ, पोहोरदेखि सरकार बन्ने बेलासम्मको पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र हालका प्रधानमन्त्री पुष्पकमल दाहालका बिचको घोचपेच, आरोप प्रत्यारोप अनि एमाले फुटाएको आरोपको कारणसमेत । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउबाको प्रधानमन्त्री चयनसम्मको दोषारोपणको मुख्य आरोपित दाहाल नै रहेका थिए ।

२.२०७९सालको आम निर्वाचन भएर पनि केन्द्रमा नयाँ सरकार बनिसकेको छ । प्रदेशहरुमा नयाँ सरकार बन्ने क्रममा छ । निर्वाचन पछि देखिने उत्साह भने कतै देखिँदैन । केन्द्रमा बनेको सरकारको आगामी गतिविधिप्रति न त नेपाली जनतालाई कुनै नयाँ अपेक्षा देखिन्छ, न त कुनै जिज्ञासा देखिन्छ । बरु कुनै पनि बेला सुन्नुपर्ने राजनीतिक दुर्घटनाको पो प्रतीक्षा देखिन्छ । यसको कारण होला, हालैको स्थानीय र प्रतिनिधि सभा र प्रदेश सभाहरुको निर्वाचनमा देखिएको सत्ताधारीहरुको गठबन्धन र सरकार बन्ने बेलाको नाटकीय विकासक्रम । सायद त्यसैले होला, १८ महिना पहिलेको घटना अब कुन दिन घट्ने हो भनेर पो नेपाली जनता प्रतीक्षारत देखिन्छन् । त्यस्तो नहोस्, राजनीतिक स्थिरता कायम होस् र जसले सरकार चलाए पनि सामाजिक न्यायको प्रत्याभूतिसहित राज्य सञ्चालन गरुन् भन्ने चाहना नागरिक समाजको देखिन्छ । तर मुलुकको राजनीतिको परिणाम नेपालीहरुको मतले मात्र नहुने रहेछ भन्ने कुराको गूढार्थ फेरि बुझ्न नेपालीहरु अभिशप्त भएका छन् ।

३. २०७८सालको जेठ ७ गते मध्यरातमा गरिएको प्रतिनिधि सभाको दोस्रोपटकको विघटनपछि स्वतःस्फूर्तरुपमा तयार गरिएको राजनीतिक तयारी जुन पछि गएर पाँच दलीय नयाँ गठबन्धन बन्यो, जुन पछि गएर सत्ता गठबन्धनकै पाँचदलीय गठबन्धनको रुपमा विकसित भयो । त्यही बेलादेखिको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाबाट बाहिरिएका , एमालेबाट बाहिरिएका सांसदहरुको राजनीतिक बाचा र प्रतिबद्धता स्मरण गर्ने नेपालीहरु के सम्म भन्न रुचाउन थालेका छन् भने अहिलेको गठबन्धन पनि कृत्रिम हो जस्तो कि नेकपा गठन हुँदा एमाले र माओबादी केन्द्रको एकता बलजफ्ती रुपमा भएको देखिएको थियो ।

४. जे भए पनि त्यो गठबन्धन एकप्रकारले निर्बाधरुपमा चलेको थियो । भित्रभित्रै जेजे खिचडी पाकेको अनभूत हुँदा पनि पुस १०गते विहान ११बजेसम्म दन्तबझानविना नै चलेको थियो जस्तो कि गठबन्धनका बेलामा भनिएको थियो । निर्वाचनका बेलामा पनि भनिएको थियो, जस्तोसुकै परिस्थितिमा पनि यो गठबन्धन टिकेर रहने छ । सायद यही भनेर नै कांग्रेसले माओबादी, नेकपा एस, राष्ट्रिय जनमोर्चाको झन्डा बोकेर मत मागेको थियो र ती दलहरुले पनि कांग्रेसलाई मत मागेका थिए । कतिपय परिणाम साँच्चै अनपेक्षितरुपमा नै सकारात्मक थियो । अझ भन्ने नै हो भने नेकपा एसको हैसियत बढाउन प्रतिनिधि सभाका १०क्षेत्रमा र कतिपय प्रदेश सांसदहरुको जितमा एकीकृत मतले ठुलो भूमिका निर्बाह गरेको देखिन्थ्यो ।

५.झट्टहेर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले दुई पद( प्रधानमन्त्री र राष्ट्रपति) नछोड्ने अडानका कारणले गठबन्धन तोडिएको भन्ने भाष्य बनेको भए पनि यो यस्तै हुने गरी भएका कूटनीतिक प्रयासहरु भएका नांगै आँखाले पनि देखिन्थे । शान्त कूटनीतिसँग पाकेको भात खाने नयाँ महत्वाकांक्षाले काम गरेको थियो र भैँसी पाल्नुभन्दा बजारमा तयारी भएको पोकाको दूधको प्रयोग गर्ने हल्ला धेरै पहिलेदेखि राजनीतिक वृत्तमा थियो । झन त्यसमा पुरानो इख बोकेर बस्नु भएका पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पासोले ती नेपाली कांग्रेस र माओबादी गठबन्धन टुटाउन लागी परेका कूटनीतिक प्रयासका लागि ठुलो मद्दतको काम गरेको पाइयो । जे हुनुपर्ने थियो भयो भन्ने पनि छन् र जे नहुनुपर्ने थियो, त्यो अचानक घाँसमा हरियो सर्प बसेझैँ गरी सहजताका साथ भएझैँ सम्पन्न भयो । यसलाई एमसीसी पछिको कूटनीतिक नियति मान्ने पनि छन् भने कांग्रेसभित्रै पलाएको नयाँ महत्वाकांक्षाको पटाक्षेप मान्ने पनि छन् ।

६.अब के हुन्छ ? नयाँ नयाँ पात्रहरुको अनपेक्षित र अचानक प्रवेशले प्रजातन्त्रलाई धरापमा लैजान्छ कि लिगमा फर्काउँछ भन्ने जिज्ञासा, भय र अनपेक्षित राजनीतिक परिणामको अवस्था सृजना भएको छ । तर सबैमा कुनै पनि बेला घट्न सक्ने राजनीतिक दुर्घटनाको पो प्रतीक्षा देखिन्छ । यस्तो नहोस् र दुर्घटना टरोस् । तर स्थितिको विकासक्रम हेर्दा सहज पनि छैन, मुलुकको राजनीतिले सकारात्मक परिणामको अपेक्षा कतै गरिँदैन । किन होला ?

७.पुराना पात्रहरुको साँढे जुधाइ होस् र मुलुक झन अस्थिरततर्फ जाओस् भन्ने चाहना बाहिर र भित्रका पात्रहरुको बुझ्न सकिन्छ । त्यसको तयारी मिहिन तरिकाले भएको र त्यसको तयारीका लागि नेपाली कांग्रेसलाई नै परोक्षरुपमा प्रयोग गरिएको पनि बुझ्न सकिन्छ । यसको उदाहरणमा कांग्रेसमा देखिएको माओबादी प्रेम जसलाई पार्टी कार्यकर्ताहरुप्रतिको निर्मम व्यवहार र आफ्नाको भन्दा बाहिरियाको मायाले बढी नै प्रभाव पारेको देखिन्थ्यो । त्यसको कारणमा धेरै प्रमाणहरु आए र नेपाली कांग्रेसमा देउवाजी पछि लगत्तै हुने प्रधानमन्त्रीको भित्री चयनले भूमिका खेलेको मानिन्थ्यो । तर अचानक पुरानो सत्ता गठबन्धन टुटेर नयाँ गठबन्धन हुने बित्तिकैको केही छिमेकीहरुको हतार हतारको व्यवहारले पनि नयाँ विवादले जन्म लिएको छ र मुलुक विदेशीहरुको खेलमैदान हुने र अहिलेको गठबन्धनले त्यसको समाधान गर्न नसक्ने जुन देखिएको छ ।

८.समय नेपाली कांग्रेसले पाएको छ भुइँमानिसहरुसँगको सम्पर्कका लागि किनभने कुनै पनि बेला मध्यावधि निर्वाचनको घोषणा हुनसक्छ जसले नेपाली कांग्रेसलाई २०७४मा भन्दा पनि तल पार्ने योजनामा काम भएको देखिन्छ । पक्कै कांग्रेसीजनले बुझेका त होलान् नै । त्यसो त विषाद र खुसीमा यसै पनि होस गुमाउने चलन मानवीय स्वभाव नै हो । मात्र प्रधानमन्त्रीको पद गएको हो, जनता नेपालमा नै छन्, प्रजातन्त्रको आदर्श नभएकाहरुसँग प्रजातान्त्रिक आचरण आशा नगरी अघि बढ्ने काम सायद नियतिले नेपाली कांग्रेसको भागमा पारेको देखिन्छ । यसैलाई सौभाग्य मानेर प्रजातन्त्रको दिल र दिमागले उपासना गर्नु नै नेपाली कांग्रेसका लागि नयाँ मौका हो ।

९. र अन्त्यमा, नेपाली कांग्रेसले आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको छ । प्रतिनिधि सभा र प्रदेश सभाहरुको निर्वाचनको समीक्षा हुनेछ र समसामयिक राजनीतिको समीक्षा हुनेछ । संसदको बैठकसमेत पुस २५गते हुने , २९ गते नयाँ गठबन्धन सरकारले विश्वासको मत लिने, १० माघसम्ममा सभामुख र उपसभामुखको निर्वाचन हुने, प्रदेशहरुमा सभामुख, उपसभामुख र मुख्यमन्त्रीहरु र मन्त्रीहरुको चयन हुने र कम्तीमा पनि फागुनभित्रै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुने कुराले पनि प्रवेश पाउला । पक्कै नै अहिले सरकारबाट बाहिरिनु परेको दोष संस्थापनले लाजै नमानी संस्थापन इतरलाई थोपर्ने कोसिस गर्ला, र संस्थापन इतरले सभापति शेरबहादुरजीको वहिर्गमनका लागि स्वेच्छिक माग गर्लान् । बाहुबलीहरुको पनि मसल प्रदर्शन हुनसक्ला र जग हँसाइको नयाँ नाटक मञ्चन होला । अरु दलहरुसँग मिल्दा कसरी मत दिने भनेर रोइकराइ गर्ने कार्यकर्ताहरुको रोदनको पनि सुनुवाइ होला । तर त्यो अरण्य रोदन हुनेछ किनभने ती फेरि पनि अर्को गठबन्धनका लागि वाधक हुनेछन् । कांग्रेसमा आफूमाथि विश्वास गर्ने बानी नै बिर्सेजस्तै भएको छ । कम्युनिस्टहरुको प्रभाव यत्ति परेको देखिन्छ कि कम्युनिस्टको आडभरोसविना राजनीतिको पाइलो पनि चाल्न नचाहनेहरुको वर्चस्व नेपाली कांग्रेसमा देखिन्छ । सायद बीपीको सिद्धान्तप्रतिको यो नै ठुलो स्खलन हो । यो स्खलन धेरै पहिलेबाट सुरु भएको भए पनि अहिले त्यसको परिणाम सहजतरिकाले देखिन थालेको हो । त्यसैले जनताको सेवामा जाने र प्रजातन्त्रका पक्षमा फेरि आफूलाई विश्वस्त पार्ने । समयले दिएको यो मौकालाई नेपाली कांग्रेसले कसरी उपयोग गर्नेछ, हेरौँ न । नयाँ विकल्प साप्ताहिकबाट

 

सम्बन्धित समाचार

सुदूरपश्चिममा सोडारी नै मुख्यमन्त्री बन्ने
सुदूरपश्चिममा सोडारी नै मुख्यमन्त्री बन्ने
  • २०७९ पुष १८, १०: ५६

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी नेता दीर्घ सोडारी नै मुख्यमन्त्री बन्ने भएका छन् । केन्द्रमा सत्ता गठबन्धनमा देखिएको खटपट...

कांग्रेसको अवरोध कायमै, मधेश प्रदेश सभामा झडप
कांग्रेसको अवरोध कायमै, मधेश प्रदेश सभामा झडप
  • २०७९ पुष १८, १०: ५६

काठमाडौं । मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको दोस्रो पटक विश्वासको मत लिने प्रयास असफल भएको छ । प्रतिपक्षी दल नेपाली...

गृहमन्त्री लामिछाने भन्छन् – सहकारीबाट पैसा लिएको छैन
गृहमन्त्री लामिछाने भन्छन् – सहकारीबाट पैसा लिएको छैन
  • २०७९ पुष १८, १०: ५६

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूले बुटवलको सुप्रिम सहकारीबाट पैसा नलिएको स्पष्टीकरण दिएका छन्। लामिछाने शक्तिमा रहेका कारण उन्मुक्ति...