रबीको अभिव्यक्ति प्रेस स्वतन्त्रताबिरुद्ध छ: महासंघ र युनियन – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

रबीको अभिव्यक्ति प्रेस स्वतन्त्रताबिरुद्ध छ: महासंघ र युनियन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आइतबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन लगायतका संघ संस्थाले आपत्ति जनाएका छन् ।

महासंघले पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार गरेको जनाएको छ ।

संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत भइसकेका लामिछानेले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर संयमता गुमाएर सार्वजनिक रूपमा धम्की दिइनुले संचारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघले चिन्ता व्यक्त गरेको छ ।

लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवारी लमिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघले ठहर गरेको छ । महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा लामिछानेलाई आफ्नो धम्कीपूर्ण अभिव्यक्ति फिर्ता लिएर प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न माग गरिएको छ ।

रास्वपा अध्यक्ष लामिछानेको अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनले पनि आपत्ति जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै युनियनका महासचिव दिलिप पौडेलले पूर्वसंचारकर्मी लामिछानेले कुनै प्रमाण र आधारबिना संचारमाध्यम, सम्पादक र समग्र पत्रकारितालाई बद्नाम गर्ने गरी दिएको अभिव्यक्ति खेदजन्य भइको जनाएका छन् ।

‘संचारकर्मबाटै राजनीतिक आधारभूमि तयार पारेका लामिछानेले पत्रकारितालाई दुस्मनको जस्तो व्यवहार गरेर मिडियालाई घेराउ गर्नेसम्मको अभिव्यक्ति दिनु अशोभनिय छ’, महासचिव पौडेलले भनेका छन्, ‘संचारमाध्यमले प्रकाशन गरेका सामग्रीको बारेमा चित्त नबुझे कानूनी उपचारमा जान सकिने विकल्प हुँदा हुँदै सञ्चारमाध्यमकै मानमर्दन गर्नु निन्दनिय छ।’

लामिछानेको नागरिकताको विषयमा सञ्चारमाध्यमले जनतासम्म सूचना पुर्याएकोमा आक्रोस पोख्नु उपयुक्त नभएको जनाउँदै युनियनले लामिछानेलाई अपरिपक्व, गैरजिम्मेवार अभिव्यक्ति नदिन, जवाफदेही राजनीतिकर्मीको रुपमा आफ्ना विचार राख्न पत्रकारिता क्षेत्रलाई सम्मान गर्न आग्रह गरेको छ ।

युनियनले नेपाली मिडियाले देशमा भएका ठूला भ्रष्टाचार, अनियमितता, बेथितिका घटना वाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आईरहेको घटनालाई नजरअन्दाज नगर्न पनि आग्रह गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गृह मन्त्रालय नपाएपछि सरकारबाट वाहिरिने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार पत्रकार सम्मेलन गर्ने नाममा अध्यक्ष लामिछानेबाट संचारकर्मीमाथि लगाएको आरोपको हाल सर्बत्र निन्दा र भत्सर्ना गरिएको छ ।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
  • २०७९ माघ २३, १६: ४८

काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ माघ २३, १६: ४८

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ २३, १६: ४८

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...