
काठमाडौं । सेक्युरिटी प्रेस (सुरक्षण मुद्रण) खरिद प्रकरणमा आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले दायर गरेको मुद्धामा सबै अभियुक्तसँग गरी दुई अर्ब ७५ करोड रुपियाँ बिगो माग दाबीसहित सबैलाई भ्रष्टाचारको कारबाही गर्न माग गरेको छ । सुरक्षण मुद्रण केन्द्रले ‘पावर सिस्टम इन सेक्युरिटी एन्ड प्रेसराइज्ड फ्युल स्टोरेज’सहित अन्य विद्युतीय पूर्वाधार खरिदमा आर्थिक अनियमितता भएकाृ भनेर अख्तियारमा उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार विद्युतीय उपकरण खरिदमा अस्वाभाविक लागत अनुमान गरी स्वीकृत गरेको, खरिद सम्झौताविपरीत गुणस्तरहीन ‘इलेक्ट्रिक ट्रान्सफर्मर’ स्वीकार गरेको, सम्झौतामा उल्लेख गरिएको भन्दा फरक ‘कन्ट्री अफ ओरिजिन’ भएको जेनेरेटर बुझेर भुक्तानी गरेको र कामै नगरी संरचना सञ्चालनबापत अग्रिम बढी रकम भुक्तानी दिएको आयोगको दाबी छ।
आवश्यक नै नभएको ‘बल्क फ्युल ट्याङ्क सिस्टम’ खरिद गरी सरकारको सम्पत्तिमा हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरेर भ्रष्टाचार गरेको भन्दै आयोगले केन्द्रका कार्यकारी निर्देशक पौडेललाई ६९ करोड आठ लाख ८१ हजार ८५४ रुपियाँ बिगो माग गरेको छ।
अख्तियारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधिका रूपमा खरिद कार्यमा संलग्न तत्कालिन सिनियर डिभिजन इन्जिनियर नवीनकुमार पोखरेल जो वन तथा वातावरण मन्त्रालयमा छन्, उनलाई ४९ करोड ४६ लाख ३५ हजार ९४५ रुपियाँ बिगो माग गरिएको छ।
केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पौडेल जो हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा छन्, उनलाई २० करोड ३८ लाख ९३ हजार ८२७ रुपियाँ बिगो दाबी गरिएको छ। केन्द्रका शाखा अधिकृत मनिकमान महर्जन जो हाल राष्ट्रिय समावेशी आयोगमा छन्, उनलाई तीन करोड ४४ लाख ६८ हजार ७२९ रुपियाँ र केन्द्रको लेखा अधिकृतबाट सेवानिवृत्त भएका रामबहादुर बुढालाई १९ करोड ८८ लाख, ९४ हजार २८९ रुपियाँ बिगो दाबी गरिएको छ।
केन्द्रका तत्कालीन शाखा अधिकृत शिरीष उपाध्याय जो हाल जिल्ला समन्वय समिति काठमाडौमा छन्,उनलाई ४० करोड एक लाख ३९ हजार ७३६ रुपियाँ, इन्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधानलाई २३ करोड ४४ लाख ९६ हजार ९२१ रुपियाँ तथा मेपटेक बिल्डिङस सर्भिसेज प्रालिका निर्देशक भुवन महर्जनलाई ४३ करोड, ५७ लाख ४२ हजार ३६८ रुपियाँ बिगो दाबी गरिएको छ।
सोही खरिद कार्यमा परामर्शदाताका रूपमा छनोट भएको वास्तुशिल्प एसोसिएटस प्रबन्ध निर्देशक मित्रलाल गुरौँलाई आठ लाख ६९ हजार ९७ रुपियाँ बिगोसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
नौ जनालाई नै बिगो रकमसहित भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद र बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुलउपरको माग दाबी गरिएको छ।
सो सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल वाँस्कोटाले सेक्युरिटी प्रेस आपूर्तीकर्तासँग ७० करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनले पदबाट राजिनामा दिएका थिए । यो खरिद प्रकरणमा मन्त्रालयको नीतिगत निर्णय तह र राजनीतिक तहका कोही पनि तानिएका छैनन् ।
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय कर...