१. भुटानबाट बलजफ्ती निकालिएका नेपाली मूलका भुटानीहरु र केही भुटानी मूलका बासिन्दासमेत नेपालका शरणार्थीको रुपमा खासगरी झापा, मोरङ्का शिविरमा थिए जसलाई नेपाल, भारत तथा भुटानबाहेकका देशहरुमा बसोबास गर्नेगरी केही वर्ष पहिलेदेखि पठाइएको हो । केही हजार अझै नेपालमा छन् भुटान जान पाए भुटान नै जाने , नभए अरु देशमा जाने भनेर पर्खेर बसेका । तिनै अमेरिका या अन्य देशमा जानका लागि बाँकी रहेका नेपाली मूलका भुटानीहरुको ठाउँमा नेपालीहरुकै नाम राखेर पठाउने अपराधको पोल खुल्न थालेको छ र त्यसमा तत्कालीन अवस्थाका गृह मन्त्रालय समाल्ने मन्त्री , मन्त्रीका नातेदार, सल्लाहकार र मन्त्रालयका अधिकारीहरु नै नक्कली भुटानीको विवरण तयार गरी पठाउने काममा संलग्न भएको सप्रमाण फेला परेको अवस्था छ । को को संलग्न छन् भन्ने अनुसन्धान हुँदैछ तर जजसको नाममा पक्राउ पुर्जी जारी भएको छ, जो जो पक्राउ परेका छन्, त्यो हेर्दा नेपाली हुँ भन्न पनि लाज लाग्ने गरी अन्तराष्ट्रिय बेइज्जती भएको छ । हुन त अदालतले अन्तिम निर्णय नदिँदासम्म कसैलाई पनि आरोपित गर्न सकिएला तर अपराधी नै भन्न नसकिएला । जुन प्रयत्न भएको मात्र प्रयाससम्मले पनि तेस्रो देश गएका भनिएका भुटानीहरुमध्ये कति नेपाली पनि परेका थिए कि भन्ने शंका उत्पन्न भएको छ । अहिलेको अवस्थाले त भुटानी शरणार्थीहरुको प्रमाणीकरणको प्रक्रियादेखि नै शंका उत्पन्न भएको छ । जोजो तेस्रो देशमा छन् , साँच्चै ती भुटानबाट निकालिएका नेपाली मूलका नै थिए त ? नेपालमा भ्रष्टाचार कसरी कहाँबाट उत्पत्ति हुन्छ र त्यसको फैलावट कसरी हुँदो रहेछ भन्ने कुराको सानो प्रमाणको रुपमा नक्कली भुटानी शरणार्थीको घटनाले स्पष्ट पारेको छ ।
२. यस्ता कति घटना भएका होलान् तर जुन जहिले देखापर्छ , हामी त्यसैलाई हेरेर निक्र्यौल निकाल्छौँ र निकालिरहेका पनि छौँ । राज्यका लागि ठुलो अपमानको कुरा हो कि भुटानले त उसका नागरिक लिएन नै । हामी त्यहाँ पनि चुकेका छौँ । भुटानजस्तो निकट छिमेकीलाई पनि हामीले उसका नागरिक को को हुन् भनेर भन्न सकेनौँ र उसका नागरिक उसैलाई फिर्ता गर्न सकेनौँ । यसमा भारतको भूमिकाको कुरा आउँदा हामी मौन बस्यौँ । कारण हो, विना पासपोर्ट भारतमा आएका भुटानीलाई उतै फर्काउने या समस्या समाधान नहुँदासम्म भारतमा शरणार्थीका रुपमा राखेर समाधान निकाल्नु पर्ने थियो । तर विना पासपोर्ट र भिसाका भुटानी नागरिकहरुलाई नेपालसम्म आउने सुरुङ् जस्तै गरी सुरक्षाको प्रबन्धसहित सीमित बाटो तयार गरी मेची पुल तारियो तर फेरि भारततर्फ फर्कन दिइएन ।
३. करिब डेढलाख जत्ति भुटानी शरणार्थी नेपालमा थिए । हाम्रा सबैभन्दा निकट र सहयोगी देशहरु भारत र भुटानले नेपाललाई दिएको पुरस्कार थियो त्यो । न भुटानले लैजाने आफ्ना नागरिक , न भारतले यसबारेमा चासो लिने । सार्क भन्ने गरिबहरुको क्लबले भन्यो, दुई पक्षीय कुराको छलफल हुने छैन किनभने दुई पक्षीय समस्या आफैँहरुले समाधान गर्नुपर्छ । त्यो त नेपालका लागि र भुटानका लागि मात्र देखियो । भारत र पाकिस्तानले आफ्ना दुई पक्षीय संघर्षका कारणले आज सार्क मृतप्रायः अवस्थामा छ भने नेपाल र भुटानका मामिलामा मात्र भारतले दुईपक्षीय कुराको अडचन देखाएको थियो ।
४. ती भुटानी शरणार्थीहरुको बिजोग देखेर र भारत अनि भुटानको नकारात्मक प्रवृत्ति देखेर संयुक्त राष्ट्रसंघको पहलमा अमेरिका, अस्ट्रेलिया, स्कान्डेनेभियन देशहरुमा शरणार्थीहरुलाई स्थायी बसोबास गरियो जबकि शरणार्थीहरु भुटान नै जान चाहन्थे, चाहन्छन् । बाँकी पनि भुटान नै जान चाहन्छन् । यसबेलामा भुटानको त्यो रटान स्मरणीय भएको छ , शरणार्थी शिविरका भुटानी भनिएका नेपालीहरु नै हुन्, भुटानी होइनन् । हुन त त्यो भारतका आडमा नेपाली मूलका भुटानीमाथि गरिएको ज्यादती नै थियो र नेपालमाथि भुटानले गरेको थोपरेको बोझ नै थियो । बाध्यताबश लखेटिएका नागरिकहरुको पहिलो कर्तव्य भनेको आफ्नो र परिवारको ज्यान जोगाउनु थियो र कतै टाउको लुकाउनु थियो । धेरैवर्ष देखि गएका नेपालीहरुको यहाँ न त कुनै थात थलो थियो, न त कुनै सम्पत्तिको शेष नै बाँकी थियो । तर भुटानले भन्थ्यो, भनिरहेको छ, ती सबै नेपाली हुन्, प्रमाणीकरण गर्न खोज्दा भागेका हुन् जबकि भुटानले गरेको ज्यादती विश्वभरलाई थाहा छ ।
५.त्यसरी दुःख पाएका र अरु देशले माया गरेर बसोबासको व्यवस्था गरेकोमा नेपालको त्यो पनि गृह मन्त्रालयभित्रैबाट यसप्रकारको धोखा हुन्छ भने नेपाली प्रशासनको विश्वव्यापी विश्वास कसरी आर्जन गर्ने हो ? गृहमन्त्री भएका व्यक्तिको नागरिकता र राहदानीमा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ, गृह प्रशासनले गर्नुपर्ने सही प्रमाणीकरणको यो हालत छ ।
६. र अन्त्यमा, न्याय निरुपणपछि मात्र को अपराधी , को ठिक, कसको बदनाममात्र गरिएको हो भन्ने थाहा हुनेछ । यहाँ अहिले अनुसन्धानका क्रममा कसैलाई चोखो र कसैलाई अपराधी भन्न खोजिएको छैन । कृपया प्रहरीले नेपालको इज्जत जोगिने प्रकारले प्रमाण एकट्ठा गरोस् र अदालतमा पेस गरोस् । जोसुकै होस्, नेपालको धमिरा हो , नेपालको बेइज्जत गर्ने अपराधी हो । यदि कुनै राजनीतिक दबाब नपर्ने हो भने नेपाल प्रहरी यस्ता प्रकरणमा अनुसन्धान गर्न सक्षम छ भन्ने धेरै प्रमाणहरु छन् । न्याय निरुपणमा जोजो अपराधी देखिने छन् , ती सबै न्यायको आँखामा, कानुनको आँखामा बराबरी हुनेछन् । भ्रष्टाचारको जालोलाई तोड्ने यो एउटा सुवर्ण अवसर पनि हो । अरु पनि भ्रष्टाचारका घटनाको छानबिन गरियोस् । कानुनका आँखामा कोही ठुलो या सानो हुँदैन । यो मौका हो सरकारलाई । अपराधी नउम्कियून्, निर्दोष नफसून् । नयाँ विकल्प साप्ताहिकबाट
काठमाडौं । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशमा राजनीतिक संकटहरु देखिन थालेको भन्दै त्यसको समाधान गर्न संसद्का दुई ठूला र...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दबाब बढ्दै गएको बताएका छन् । नेपाल निर्माण...