सुशीला अंगाईं , वनस्थली, काठमाडौँ

घनिभूत त्रासदिका आभा
कोरिएका अनुहारहरू
उँडाएर धूलो सडकको
सुसायो बतास, पानी र हुरी
बेमौसममै वर्षियो शीत
विशाल जमात अस्ताचलसम्म
घुमिरह्यो नयाँबस पार्कमा
आसपासमा प्रतीक्षरत लामो भीड
हातमा पञ्जा र मुखमा माक्स
डराएर मान्छेदेखि मान्छे
उभिएर अलि फरक दूरीमा
बेपर्वाह दीवा, प्रात र सन्ध्याका सबै पलहरू
सानाठूला सबै
दुधे बालक काखमा च्यापेका आमाहरू
खचाखच भरिएको यात्रु बस
देब्रेतिर चक्रपथको
थानकोट निशाना बनेका आँखाहरू
छिट्टै नेटो काट्ने धुनमा
अन्धो राक्षसले लखेटेको यात्रीझैँ
बेढंगको यात्रा र तिनको चाल
न चाडपर्वको पावन मौसम
नत जात्रा, मेला र उत्सव नै
त्यो पूर्वसन्ध्याको दृश्य लक डाउनको
डरायो गाउँ
डराएरै स्वागत ग¥यो भीडलाई
लुकायो बन्द गरेर झ्याल ढोका
महिपालका राजकुमार यात्रा गरेको सहरझै
चकमन्न, सुनसान जताततै सर्वत्र
रोगलाई बार हालेर बस्यो
मजदूरको भोकग्रस्त झुपडी
ज्याला कुर्दाकुर्दै तगारो हाल्यो लक डाउनले
छुट्यो तिनको यात्रा
अन्न र आगोले प्रवेश पाएन झुपडीमा
हार मानेर जिजीविषा रोयो
अलपत्र भोक र रुवाइको
सुनेर करुण कथा
निदाएन रातामा सडक
चिर्दै अन्योलग्रस्त समयको पावन्दी
कहालिँदै मजदूर हिँडे
राजधानीदेखि सुदूर सिमानातिर
थाले यात्रा
हिँडि रहे, हिँडि रहे दिनरात अनवरत
तिनका फुटेका पाइतालाबाट चुहेको रगत
लतपतियो राजमार्गमा नियालिरह्यो
भोक, प्यास र थकानको दुर्दशा
बिरानो यो राजधानीले चिनेन तिनलाई
भित्रभित्रै कुँडिएको तिनको मन
बिडम्वना विधिको
दुख्यो मानव हृदय
गोलो धर्ती
घामछायाँको चक्र
नियमित आकस्मिकताको दर्शन
साक्षात्कार वर्तमान
शंकर लामिछानेका दूरगामी चिन्तन
सिमाहीन विश्व
लहरा बनेर झ्याङ्गिएको राष्ट्रियता
विपत्तिको एकै छातामुनि विश्व
डुबे आँशुमा, बने बेवारिसे
खाडी मुलुकका श्रमिक
चुलिए संकट र पीडाको अचल
सुनेर मर्मश्पर्सी कथा
डुब्यो चिन्तामा देहाततिरको तिनको दैलो
मौन बने महाकवि मान्छेहरुका भीडमा
संकटमा फर्किँदा आफ्नो देश
भोटेताल्चा मारेको देखेर देशको मूलद्वार
संघर्षको मैदानमा लखेटियो
मानव जाति दुर्बल बनेर
समयको परीक्षामा अनुत्तरित भई
फगत् हेरिरह्यो टुलुटुलु
अत्तालियो अभिमन्युझैँ
संक्रमणको चक्रव्युहमा
गर्दागर्दै आराधना विज्ञानको
मत्र्य जाति विवश बन्यो
लजायो सन्ध्याको सूर्यझैँ
देखेर विनाश लीलाको कदम
अनि दन्किरह्यो आगो
कुवा खनाउने गर्दैमा तर्खर
समृद्धिको तमकझमक
सर्लक्क ओइलायो
डुब्यो शोकमा सहर
अदृश्य पंखधारी समय
उँडिरहन्छ अनन्त गतिमा
फेर्दै नौलो रंग
छर्दै दीप्ति
स्वतन्त्रताको फेरेर श्वास
मुस्कुरायो प्रकृति
पन्छीहरुले गाए सुमिरण
भाका सुसेन्दै कुञ्जकुञ्जमा
सललल्ल बगेर वेणु अब
फिर देश देशान्तरसम्म
हाल्दै आशिष विन्दु विन्दु
फार सारा भय भुवनको ।
काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत काठमाडौं चाबहिल सिटी क्लवका संस्थापक अध्यक्ष एवंम २०२६/०२७ का DG Elect लायन अजय...