
गोदवरी (ललितपुर)। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको १५औं महाधिवेशन आगामी २०८२ भदौ महिनाभित्रै गर्न प्रस्ताव गरेका छन्।
यहाँ जारी पार्टी महासमिति बैठकमा मंगलबार सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री थापाले विधानको व्यवस्थाअनुरूप २०८२ मंसिरभित्रै महाधिवेशन गर्नु पर्ने र त्यसका लागि महासमितिलगत्तै बस्ने केन्द्रीय कार्यसमितिको बैठकले प्रक्रिया थाल्ने बताएका हुन्।
‘महाधिवेशनको अन्तिम वर्ष विधानको प्रावधान निलम्बन गरेर क्रियाशील सदस्यता वितरण गर्ने अभ्यास पूर्णतः बन्द गरी विधानबमोजिम २०८२ मंसिरमा हुने महाधिवेशनको कार्यतालिका महासमिति बैठकलगत्तै वस्ने केन्द्रीय कार्यसमिति बैठकले गर्ने छ’ थापाले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ।
थापाले आगामी निर्वाचनहरुमा पार्टी एक्लै चुनाव लड्ने प्रस्ताव पनि अघि सारेका छन्। उनले कांग्रेसको समर्थक र शुभेच्छुकमा पार्टीप्रतिको भरोसा टुट्न नदिन आवधिक निर्वाचनहरुमा रुख चिह्नमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने प्रस्ताव राखेका हुन्।
‘निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै कांग्रेस पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आमनागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ– हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं’ थापाको प्रतिवेदनमा भनिएको छ।
यसअघि २०७९मा भएको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा धेरै क्षेत्रमा गठबन्धन गर्दा कांग्रेसका समर्थक र शुभेच्छुकले आफ्नो चुनाव चिह्नमा मतदान गर्न नपाएको महामन्त्री थापाले बताएका छन्।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...