कामपाको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध – Naya Bikalpa
March 16, 2025, Sunday

कामपाको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले लक्षित वर्ग, विपन्न, असहाय र बेवारिसेको निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ वटा अस्पताल आबद्ध भएका छन् ।

महानगरका अस्पतालमा ‘निःशुल्क उपचार सेवा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८०’ को व्यवस्थाबमोजिम महानगर क्षेत्रभित्रका सम्पूर्ण निजी तथा सामुदायिक अस्पताललाई यही फागुन १ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न महानगर स्वास्थ्य विभागले गरेको पत्राचार अनुसार ४१ अस्पताल आबद्ध भएका हुन् ।

आवद्ध ४१ अस्पतालमा कूल तीन हजार दुई सय ३९ शय्या छन् । जसको १० प्रतिशत अर्थात् तीन सय २३ वटा शय्या लक्षित वर्गका लागि रहेको महानगर स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिईन।

स्वस्थ्य भएर बाँच्न पाउने तथा रोग लागेमा उपचारको सुविधा पाउने नागरिक अधिकार कार्यान्वयन गर्न विभिन्न चरणका प्रक्रिया पूरा भएको महानगरको भनाइ छ । आर्थिक रुपमा विपन्न र कोही नभएका व्यक्ति यस सेवाको लक्षित समूह हुन् । महर्जनले भन्नुभयो, “लक्षित वर्गको सहजताकै लागि सबै अस्पताललाई उक्त प्रणालीमा आबद्ध हुन आग्रह गरिएको छ ।”

लक्षित वर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन जारी गरिएको कार्यविधिमा कामपाको प्रमुख बालेन्द्र साहकोे संयोजकत्वमा निर्देशक समितिको गठन भइसकेको छ ।

समितिमा महानगरका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सरोकारवाला कार्यालयका प्रतिनिधिहरू सदस्य रहैका छन ।

उपचार प्रक्रियाका लागि बिरामीले वडालाई सिफारिसका लागि दिने निवेदन, स्थानीय तहले उपचारका लागि गर्ने सिफारिस, वडाले गर्ने सर्जमिन, बिरामीलाई उपचार दिँदा भर्नुपर्ने फाराम, दैनिक रजिस्ट्रार, उपचार गर्ने बिरामी वा निजको आफन्तबाट प्राप्त गर्नुपर्ने विवरण, प्रतिवेदनका ढाँचा कार्यविधिको अनुसूचीमा राखिएका छन् ।

सेवा नेपालका जुनसुकै भागबाट आएका व्यक्तिलाई पनि तोकिएको मापदण्डबमोजिम उपलब्ध हुनेछ ।

कसरी लिने निःशुल्क सेवा ?

गरिबी परिचयपत्र भएका बिरामीले सोझै अस्पताल गई उपचार सेवा लिन सक्नेछन् ।

यदि गरिबी परिचयपत्र छैन भने बिरामीले कार्यविधिको अनुसूची–२ बमोजिमको निवेदन र आर्थिक अवस्था खुल्ने अनुसूची–५ बमोजिमको फाराम भरी सम्बन्धित वडा कार्यालयमा दिनुपर्छ ।

वडा कार्यालयबाट दिइने अनुसूची–४ बमोजिमको सर्जमिन र अनुसूची–३ अनुसारको सिफारिसपत्र लिई अस्पतालमा जानुपर्ने छ ।

त्यस्तै, बेवारिसेको हकमा नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसका आधारमा निःशुल्क उपचार प्रदान गरिने, बिरामीलाई उपचारका लागि कुन अस्पताल जाने तथा अन्योल भएमा सम्बन्धित वडाको सिफारिसपत्र लिई कामपा स्वास्थ्य विभागको निःशुल्क उपचार सहजीकरण एकाइ वा जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठलाई मोबाइल नम्बर ९८०१३०६८९३ मा सिधै सम्पर्क गर्न सकिनेछ ।

सम्बन्धित समाचार

पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
  • २०८० फाल्गुन ९, १४: ०६

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...

ख्वप अस्पतालया अनुगमन
ख्वप अस्पतालया अनुगमन
  • २०८० फाल्गुन ९, १४: ०६

ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...

गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
  • २०८० फाल्गुन ९, १४: ०६

तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...