
काठमाडौं। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको हत्यारा खोज्न किन नसकेको भन्दै प्रश्न गरेका छन्।
नेकपा एमालेले ललितपुरको गोदावरीस्थित सनराईज हलमा आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टीको हीरक जयन्ति महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले एमालेका नेताहरुले कांग्रेसलाई गालि गर्नमा मात्रै धेरे समय खर्चिएको भन्दै यस्तो प्रश्न गरेका हुन्।
देउवाले विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भएको र एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भए पनि मदन भण्डारीको हत्याको छानबिन नगरेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका हुन्।
देउवाले कांग्रेसलाई जति गालि गरेपनि यो प्रश्न एमाले तिर नै तेर्सिएको बताए।
‘मदन भण्डारीजस्तो व्यक्तित्वको बारेमा राम्रै कुरा गर्ने इच्छा थियो। अहिले आएर उहाँहरू (एमाले) ले कांग्रेसलाई गर्नुसम्म गाली गर्नुभयो। मैले जवाफ दिनुपरिहाल्यो’, अतिथि निम्त्याइएका देउवाले भने, ‘। मलाई गाली गर्नेहरूले मदन भण्डारीलाई कसले किन मार्यो किन भन्न सक्दैन?’
सभापति देउवाले प्रश्न गरे, ‘मदन भण्डारीको रहस्मय मृत्युको घटनाको बारे छानबिन गर्न कसले रोकेको छ? कांग्रेसले रोकेको हो, कसले रोकेको छ?’ उनले दुईपटक राष्ट्रपति हुँदा, पटकपटक प्रधानमन्त्री हुँदा भण्डारीको दुर्घटनाबारे पत्ता लगाउन चासो नदिएको बताए।
‘आफू खोज्न नसक्ने, कांग्रेसलाई गाली गर्ने, मदन भण्डारीको हत्यारा को हो? अहिलेसम्म पत्ता लगाउन सकेको छैन। हुँदाहुँदा उनको चालक पनि मारियो! कसले मार्यो पत्ता लागेको छैन! मदन भण्डारी राम्रो नेता हो, यसमा दुई मत छैन’ देउवाले भने, ‘हत्याबारे अहिलेसम्म किन पत्ता लागेन? त्यसकारण कांग्रेसको विरोध गर्न सजिलो होला, गर्नुहोस् केही छैन। आफ्नो पनि कुरा भन्नु पर्यो नि!’
एमालेका तत्कालिन महासचिव भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय ढंगले जीप दुर्घटनामा निधन भएको थियो। उनीसँगै एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि मृत्यु भएको थियो।
भण्डारीको निधनको दस वर्षपछि २०६० साउन ११ गते दिउँसै उनका चालक अमर लामाको पनि कीर्तिपुरमा गोली हानेर हत्या गरिएको थियो।
सोमबार भएको सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डरी, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतको उपस्थिति थियो।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...