काठमाडौं । संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठक आज दिउँसो दुई बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने भएको छ ।
आज पहिलो दिनको बैठक भएकाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ ।
यसैगरी सभामुखले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउने छन् । त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरुले बैठकलाई सम्बोधन गर्ने छन् ।
आजको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश पनि हुने छ ।
यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यही बर्खे अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुने छ ।
विगतमा बजेट अधिवेशनमा ‘प्रि–बजेट’ छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तमा हिउँदे अधिवेशनमै छलफल पूरा भइसकेको छ ।
सरकारले प्रत्येक वर्ष जेठ १५ गते वार्षिक आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सो व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठक आजका लागि आह्वान गरेका थिए ।
शान्तिपूर्ण सदन सञ्चालनका निम्ति सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गरेका पाँच राजनीतिक दलका शीर्ष नेतासँग मंगलबार बैठक गरेका थिए तर सत्ता साझेदार दलका नेताहरु आ–आफ्नै अडानमा कायम रहेपछि बैठक निष्कर्षविहीन भएको थियो ।
प्रमुख विपक्षी दल कांग्रेसले संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।
यसैबीच प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी २६ वटा विधेयक विचाराधीन छन् । राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक दर्ता भएको छ । प्रतिनिधिसभामा दर्ता भएका २४ वटा विधेयकमध्ये १४ वटा विषयगत समितिमा र १० वटा राष्ट्रियसभामा विचाराधीन छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब...
काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...
काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव...