बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिं लामा नियुक्त – Naya Bikalpa
January 24, 2025, Friday

बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिं लामा नियुक्त

हेटौंडा। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन्।

बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

लामाले आजै कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। प्रदेश प्रमुख शर्माले आज मंगलबार ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए।

नुवाकोटका लामा बागमतीको पाँचौं मुख्यमन्त्री हुन्। उनको भोलि बुधवार ११ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ हुनेछ। लामाले भोलि नै कांग्रेसका ६ र एमालेका ६ मन्त्रीसहित १३ सदस्यीय मन्त्रीपरिषदलाई एकै पटक पूर्णता दिने तयारी गरेका छन्।

एमालेले ६ मन्त्रीको टुंगो लगाइसकेको छ भने कांग्रेसमा आकांक्षी धेरै भएकाले मन्त्री छनोटमा कठिनाइ भएको जनाइएको छ। कांग्रेसका मन्त्रीहरूको नाम बुधवार बिहानसम्म टुंग्याइ सक्ने लामाको सचिवालयले जनाएको छ।

लामा मुख्यमन्त्री बनेसँगै नेपाली कांग्रेसले बागमती सरकारको पहिलो पटक नेतृत्व गर्ने अवसर पाएको छ।

बागमतीको पहिलो कार्यकालमा एमालेबाट डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य र नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे तथा दोस्रो कार्यकालमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेका थिए। जम्कट्टेलले ६ साउनमा प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिएका थिए।

को हुन लामा?

दिपबहादुर लामा तामाङ र पुर्णिामाया लामा तामाङको कोखबाट २०२७ साल कात्तिक ८ गते नुवाकोटको किस्पाङ्ग गाउँपालिका ५ मनकामनामा लामाको जन्म भएको हो।

सामान्य परिवारमा जन्मेर पनि पारिवारिक पृष्ठभुमिले सानैदेखि अब्बल र हक्की स्वभावका लामाले गाउँकै स्थानीय बिद्यालयबाट निम्न माध्यमिक तहसम्म, सदरमुकाम बिदुरको विद्यालयबाट एसएली र काठमाडौको शंकर देव क्याम्पसबाट स्नातक सम्मको शिक्षा हाँसिल गरेका छन।

२०४३ सालदेखि नेपाल विद्यार्थी संघको सदस्य हुँदै नेबिसंघ शंकरदेव क्याम्पस ईकाई सदस्य, २०४५ मा नेविसंघ नुवाकोट क्षेत्रिय सभापति र जिल्ला उपसभापति हुँदै उनी कांग्रेसको राजनीतिमा प्रवेश गरेका हुन्।

२०५४ को स्थानीय तहको निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना गाविस अध्यक्षमा भारी मतका साथ निर्वाचित लामा पार्टीको १३ औं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य भएका थिए।

२०६४ मा नुवाकोट क्षेत्र नं.३ बाट संविधानसभा सदस्य पदको निर्वाचनमा झिंनो मतान्तरले पराजित भएपनि, २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादीका महासचिव पोष्टबहादुर बोगटीलाई भारी मतले पाराजित गरेका थिए।

२०७४ मा प्रतिनिधिसभा सदस्य तथा २०७९ मा बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका लामा शेरबहादुर देउवाका बिश्वासपात्र मानिन्छन्।

कांग्रेस बृत्तमा प्रभावशाली नेता भएकै कारण बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित लामा ०७९ चैत २६ गते सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

दलको नेता भएपछि उनकै अडानले संयुक्त सरकारमा कांग्रेसले ५ वटा मन्त्रालय लिएको थियो। सरकारमा पहिलो पटक गएकै बेला आफुलाई प्रभावशाली मन्त्री र नेता साबित गर्न सफल लामाको आम जनतामा समेत आशा र अपेक्षा गरेका छन्।

संघीय सांसदको भुमिकामा रहदैँ आफुलाई बिकासप्रेमी नेताका रुपमा पहिचान बनाउन सफल लामा राष्ट्रिय राजनीति र जनतामा प्रभाव जमाउन सक्ने नेताका रुपमा परिचित छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
  • २०८१ श्रावण ८, १७: ५८

काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

बाँध मर्मतको काम अन्तिम चरणमा
बाँध मर्मतको काम अन्तिम चरणमा
  • २०८१ श्रावण ८, १७: ५८

राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
  • २०८१ श्रावण ८, १७: ५८

काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...