पूर्वडिआईजी जोशीको प्रश्न– चेक काट्ने रबीलाई कहिले पक्राउ गर्ने? – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper
‘सहकारीको रकम अपचलनमा रवी र जीबी जिम्मेवार’

पूर्वडिआईजी जोशीको प्रश्न– चेक काट्ने रबीलाई कहिले पक्राउ गर्ने?

 

काठमाडौं। सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीको पूर्वडिआइजी (प्रहरी नायव महानिरिक्षक) छविलाल जोशीले रवी लामिछानेलाई कहिले पक्राउ गर्ने भन्दै प्रश्न गरेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले पक्राउ गरेर पोखरा पठाउने क्रममा पूर्वडिआइजी जोशीले ‘सञ्चालकलाई पक्राउ गर्नुभयो, एकल रूपमा चेक काट्ने र रकम अपचलन गर्नेलाई कहिले पक्राउ गर्ने हो भाइ?’ भनेर प्रश्न गरेका थिए। जबाफमा प्रहरीले चाँडै पक्राउ गर्ने बताएका थिए ।

जोशीले गोरखा मिडिया प्रालिको चेक आफूले नकाटेको र रकम कसरी आयो भन्ने जानकारी समेत आफूले नराखेको उनले बताएका थिए।

‘चेक काटेर करोडौं रूपैयाँ उडाउनेले चाहिँ उन्मुक्ति पाउने अनि मैले चाहीँ गिरफ्तारी हुनु पर्ने?’, जोशीको भनाई थियो।

उनलाई अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाँच दिनको अनुमति लिएको छ। काठमाडौं महानगरपालिका–१ नक्साल घर भएका पूर्वडिआइजी जोशीले आफू भाग्न नखोजेको बताएका छन्।

समितिले जोशीसहित गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई कारबाहीका लागि सिफारिस गरेको छ।

कास्की प्रहरीले अनुसन्धानका लागि समय लिन जिल्ला सरकारी वकिलको कार्यालयमा लैजाँदा बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग राखेका थिए।

‘म भाग्ने भए पहिला नै गइसक्थें, मलाई जरुरी पक्राउ पुर्जी जारी गरेर ल्याइयो, त्यो जरुरी थिएन। कहीँ जान्नथें, जानु पनि छैन, म बाहिरै रहेर पनि अनुसन्धानलाई असर पर्दैन। मेरो पासपोर्ट अदालतले राखे हुन्छ, तारेखमा रहेर मुद्दा लड्न पाऊँ, सहकारीमा विवाद आउनुअघि नै म सञ्चालकबाट बाहिरिएको थिएँ,’ जोशीले सरकारी वकिल कार्यालयमा भनेका थिए।

समितिले दिएको प्रतिवेदनअनुसार उनीहरूले सुप्रिम, सूर्यदर्शन, सानोपाइला, सहारा र स्वर्णलक्ष्मी सहकारी बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडियामा रकम लगी ठगी गरेका थिए।

सहकारीबाट मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रूपैयाँ ऋण प्रवाह भएको समितिको प्रतिवेदनमा उल्लेख छ।
सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। गोर्खा मिडिया दर्ता गर्दा २०७७ भदौ १० गते जिबी राई र छविलाल जोशीले ५०÷५० प्रतिशत सेयर लगानी गरेको समितिको प्रतिवेदनमा उल्लेख छ। त्यसबेला सुरुमा पुँजी पाँच करोड राखिएको थियो।

पुँजी बढाएर १२ करोड पु¥याउने प्रक्रियामा छविले आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिएका थिए। त्यसपछि जिबीको ५०, छविलालको ३५ र रविको १५ प्रतिशत सेयर कायम भएको समितिको प्रतिवेदनमा उल्लेख छ। रविले सेयर लिन पनि सहकारीकै रकम प्रयोग गरेका थिए।

२०७५ मा सेवानिवृत्त भएपछि जोशी जिबीले चलाएको नेटवर्किङ व्यवसाय नेचर हब्र्समा जोडिएका थिए। उनीसँगै व्यावसायिक साझेदारका रूपमा पछि गोर्खा मिडिया नेटवर्कमा पनि साझेदारी गरेका थिए। समितिको प्रतिवेदनअनुसार छविले बुटबलको सुप्रिम सहकारीबाट दुई करोड ५० लाख रूपैयाँ ऋण लिएर गोर्खा मिडियामा लगानी गरेका थिए। वीरगन्जको सानो पाइला सहकारीबाट एक करोड ८६ लाख रूपैयाँ ऋण लिएका थिए। पछि मनमुटाव बढेपछि जोशीले गोर्खा मिडियाबाट अलग भएको दाबी गरेका छन् ।

रबीले आफूलाई पक्राउ नगरिदिन भन्दै कांग्रेस र एमालेका नेताहरूसँग हारगुहार गरेका थिए। छविलाल र रविमाथि सहकारीबाट रकम ल्याएर ठगी गरेको, कम्पनी, कागजात किर्ते गरेको, संगठित अपराध, सम्पत्ति शुद्धीकरण तथा कम्पनी रजिस्ट्रार कार्यालयलाई छल गरेको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ।

सोमबार न्यायाधीश चन्द्रकान्त शर्माको इजालसलले जोशीलाई पाँच दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

 

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
  • २०८१ आश्विन ८, १५: १३

काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ आश्विन ८, १५: १३

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन ८, १५: १३

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....