बाढी,पहिरोपछिको सम्भावित संक्रमण रोक्न खानेपानी मन्त्रालय र स्थानीय तहसँग सहयकार्य– मन्त्री पौडेल – Naya Bikalpa
January 24, 2025, Friday

बाढी,पहिरोपछिको सम्भावित संक्रमण रोक्न खानेपानी मन्त्रालय र स्थानीय तहसँग सहयकार्य– मन्त्री पौडेल

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि संक्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरुसँग आग्रह गरेका छन्।

मन्त्रालयमा बुधबार विशेष बैठक बोलाउँदै उनले बाढी पहिरोपछि पानीका श्रोत प्रदुषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेंगीलगायतका संक्रामक रोग लाग्न नदिन आ आफ्नो तर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोगबारे जानकारी गराउन आग्रह गरे।

विपद्का समयमा स्वास्थ्यकर्मीहरुले पुर्याएको योगदानको प्रशंसा गर्दै मन्त्री पौडेलले भने, ‘स्वास्थ्यकर्मीहरुले विपद्का समयमा बिरामीको उपचारका लागि पुर्याएको भूमिका सराहनीय छ, अब यसपछि फैलन सक्ने रोगबाट नागरिकलाई जोगाउन लाग्नुहोला । आवश्यक केही परे हामी सघाउन तयार छौं।’

उनले खानेपानीको शुद्धता बढाउन र कुनै पनि संक्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए। यसका लागि मातहतका सबै निकायलाई परेको अप्ठेरो फुकाउन मन्त्रालय लाग्ने उनले बताए।

खानेपानी मन्त्री प्रदीप यादवले सहकार्यको प्रस्तावका लागि मन्त्री पौडेलप्रति आभार व्यक्त गर्दै पानीको शुद्धता बढाएर नागरिकलाई शुद्ध पानी दिनका लागि शुुद्धिकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने घोषणा गरे।

बैठकमा बाढी पहिरोबाट बढी प्रभावित काभ्रेप्लाञ्चोक, सिन्धुपाल्चोक, कोशी, मधेश तथा गण्डकीलगायत प्रदेशका स्वास्थ्य सचिवहरुले आफूहरुले प्रदान गरिरहेको सेवाबारे जानकारी गराउँदै पानीको शुद्धिकरण तथा सचेतना फैलाउन मन्त्रालयको सहयोग मागेका थिए ।

मन्त्री पौडेलले दुइवटै मन्त्रालय मिलेर तत्काल सहयोग माग भएका ठाउँमा पठाउने र आवश्यक परेका ठाउँमा विशेष स्वास्थ्य टोली खटाउने प्रतिबद्धता जनाए।

उनले संघीय राजधानी उपत्यकामा जनसंख्या पनि बढी रहेको र अहिले संक्रमणको जोखिम बढी रहेकाले बढी प्राथमिकता दिएर संक्रमण रोक्न सचेतनासँगै रोकथामका उपाय अपनाइने बताए । यसका लागि प्रदेश र महानगरहरुसँग हातेमालो गर्ने पनि उनले बताए ।

ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले बाढीका कारण खानेपानी प्रदुषित भएकाले आफूहरुले ट्यांकरबाट किनेरै क्लोरिनेशन गरेर पानी वितरण गरेको बताए ।

बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्रीज्यूको निर्देशनअनुसार तत्काल बैठक डाकेर आवश्यक ठाउँमा थप स्वास्थ्य सामग्री पठाउने र सचेतना तथा संक्रमण रोक्न नदिन आवश्यक थप कदमहरु चाल्ने प्रतिबद्धता जनाए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
  • २०८१ आश्विन १६, १८: ५८

काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

बाँध मर्मतको काम अन्तिम चरणमा
बाँध मर्मतको काम अन्तिम चरणमा
  • २०८१ आश्विन १६, १८: ५८

राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
  • २०८१ आश्विन १६, १८: ५८

काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...