
विराटनगर। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी (प्रहरी उपरिक्षक) नवराज कार्की प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) तानिएपछि उनले खटाउने चार घुमुवामाथि पनि अनुसन्धान शुरु भएको छ।
एसपी कार्कीको ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र भनेर चिनिएका एसपी राजन लिम्बुलाई मोरङमा काजमा खटाइएको छ।
तर, सत्तारुढ नेपाली कांग्रेसका प्रदेशस्तरीय नेताले गृहमन्त्री रमेश लेखकसँग असहमति जनाएपछि लिम्बूको सरुवा समेत रद्द भएको छ। एसपी लिम्बु इलाका प्रहरी कार्यालय दमक र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा हुँदा कांग्रेसका नेता र कार्यकर्तामाथि प्रतिशोधपूर्ण व्यवहार गर्ने प्रहरी अधिकृत हुन्।
लिम्बुको काज रद्द गरेपछि त्यहाँ एसपी नारायण प्रसाद चिमोरियालाई काजमा पठाइएको छ।
यसैबीच जिल्लामा कार्यरत एक प्रहरी निरीक्षकसहित चारजना आफ्नो नियन्त्रणमा लिएर कोशी प्रदेश प्रहरी कार्यालयले छानबिन र अनुसन्धान अगाडि बढाएको छ।
दशैंको मौका छोपेर मोरङमा तस्करी र जुवाजन्य गतिविधि बढेको र त्यसमा प्रहरीकै संरक्षण रहेको आरोपमा इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ र हवल्दार खगेन्द्र राउत तथा सहायक हवल्दार सरोज श्रेष्ठलाई कारबाहीको दायरामा ल्याइएको छ।
यी चारै जनालाई एसपी नवराज कार्कीले घुमुवा प्रहरीका रूपमा खटाएका थिए। चारै जनामाथि जुवाजन्य र तस्करीका गतिविधिको संरक्षण गरेको र जुवा खेल्ने र खेलाउनेसँग लाखौं रूपियाँ लिएको आरोप लागेको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले चारजनालाई प्रदेश प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान एवम् छानबिन प्रारम्भ गरिएको बताए।
उनले ती सबैमाथि अनलाइन जुवाको सेटिङ गर्ने र त्यसवापत मोटो रकम असुल गर्ने साथै तस्करीजन्य गतिविधिको पनि संरक्षण गर्ने गरेको आरोप लगेको छ।
हेडक्वाटर तानिएका एसपीमाथि पनि छानबिन
यता प्रहरी प्रधान कार्यालय नक्साल तानिएका एसपी भने झमेलामा परेका छन्। २०८० फागुन २ मा मोरङ गएका कार्की कार्तिक २ मा तानिएका हुन्।
उनले क्रिप्टो करेन्सीको कारोबार गर्नेसँग रकम लिएको आरोप छ। क्रिप्टोको कारोबारीको सूचना लिएर पक्राउ नगर्ने र मुद्दा नचलाउने शर्तमा कार्कीले २२ लाख रकम बुझेको आरोप छ।
क्रिप्टो कारोबार गर्नेसँग रकम बुझ्न उनले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराईलाई पठाएको प्रदेश प्रहरी कार्यालयले गरेको प्रारम्भिक छानबिनबाट थाहा भएको छ।
छानबिनका लागी निगरानीमा राखिएका इन्स्पेक्टर भट्टराईले आफूले रकम लिएर कार्कीलाई बुझाएको ‘साबिति बयान’ दिएका छन्। कोशी प्रदेशका डीआईजी (प्रहरी नायव महानिरिक्षक) चन्द्रकुबेर खापुङले चारै प्रहरी कर्मचारीलाई कारबाही गर्ने उद्देश्यले गहन अनुसन्धान गरिरहेका छन्।
डिआईजी खापुङ प्रधानमन्त्री केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा उनका व्यक्तिगत सुरक्षा अधिकृत थिए।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...