
काठमाडौं। संयुक्त राज्य अमेरिकाको ४७औं नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ।
राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ।
मतदानको एकदिन बाँकी रहँदा सोमबार दुवै उम्मेदवारहरु अनिर्णित मतदातालाई आफ्नो पक्षमा पार्न स्वीङ स्टेटमा केन्द्रित भएका थिए।
राष्ट्रपतिमा निर्वाचित हुन स्वीङ स्टेटहरु पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिचिगन, एरिजोना, विस्कन्सिन र नेभाडा गरी ७ राज्य निर्णायक मानिन्छन्। कुल १६ करोड मतदातामध्ये साढे ७ करोड नागरिकले मतदान गरिसकेका छन्।
निर्वाचित राष्ट्रपतिको कार्यकाल चार वर्षको हुनेछ। राष्ट्रपतिका अतिरिक्त अमेरिकी मतदाताले आज अर्थात् ५ नोभेम्बरका दिन तल्लो सदन कंग्रेसका ४ सय ३५ र सिनेट तथा माथिल्लो सदनका ३४ सिटमा नयाँ सदस्य चयनका लागि समेत मतदान गर्नेछन्।
इतिहास रच्ने प्रयासमा कमला
सन् २०२० को चुनावमा तत्कालीन सिनेटर कमला ह्यारिस जो बाइडेनको चुनावी अभियानमा सामेल भएकी थिइन् र उनी पहिलो अश्वेत र दक्षिण एसियाली महिला थिइन्। जसलाई प्रमुख राष्ट्रिय पार्टीले उपराष्ट्रपतिमा मनोनीत गरेको थियो।
उनको विजय ऐतिहासिक उपलब्धि थियो। जुन पहिलो पटक एक अश्वेत महिलाले उपराष्ट्रपतिको पद धारण गरेको थियो।
अब, शीर्ष पदका लागि डेमोक्र्याटिक उम्मेदवारको रूपमा, उनी फेरि एक पटक इतिहास रच्न सक्छिन् र सम्भवतः अमेरिकाको पहिलो महिला राष्ट्रपति र पद सम्हाल्ने पहिलो अश्वेत महिला बन्नेछिन्।
ट्रम्पको पुनरागमनको प्रयास
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मा जो बाइडेनसँग हारेको राष्ट्रपति पद पुनः प्राप्त गर्ने लक्ष्यका साथ ह्वाइट हाउसमा फर्कने प्रयास गरिरहेका छन्।
यद्यपि, ट्रम्पको बाटो कानुनी र राजनीतिक अवरोधहरूले भरिएको छ, किनकि उनी आपराधिक अभियोगहरूको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन्। यी विवादका बावजुद ट्रम्प फेरि सत्तामा फर्किने दाउमा छन्।
यस्तो छ प्रक्रिया
तल्लो सदनले कानुन पारित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ भने सिनेटले सरकारका महत्वपूर्ण नियुक्तीहरुका लागि मतदान हुने गर्छ।
अमेरिकी चुनावमा १८ वर्षभन्दा बढी उमेरका मानिसहरुले राष्ट्रपति पदका लागि मतदान गर्न योग्य छन् भने अग्रीम मतदानको समेत व्यवस्था छ।
अमेरिकामा यस वर्ष कुल मतदाता २३ करोड छन्। त्यस मध्ये रेजिस्टर्ड भोटर १६ करोड छन् भने अहिलेसम्म सात करोडभन्दा बढीले मतदान गरिसकेका छन्।
अमेरिकाको राष्ट्रपति चुनावमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुँदैन। यसको सट्टा, दुवै दलका उम्मेदवारहरूले सबै ५० राज्यमा चुनाव जित्न प्रतिस्पर्धा गर्नुपर्छ। जहाँ जनसंख्यामा आधारित इलेक्टोरल कलेज अर्थात् निर्वाचक मण्डलको निश्चित संख्या हुन्छ।
५० राज्यमा ५ सय ३८ इलेक्टोरल कलेज छन्। यी मध्ये, २ सय ७० वा त्यसभन्दा बढी जित्ने मात्र विजेता घोषित हुन्छन्। त्यसमा पनि विशेष गरी ७ स्वीङ स्टेटमा रहेको इलेक्टोरल कलेजको संख्या निकै महत्वपूर्ण मानिन्छ।
राष्ट्रपतिय चुनाव सकिएपछि पनि सबै राज्यका निर्वाचक मण्डलहरूले फेरि डिसेम्बरमा मतदान गर्नेछन्। त्यही मतदान चाहिँ राष्ट्रपति चयनमा निर्णायक मानिन्छ।
काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग हुने टी–२० अन्तर्राष्ट्रिय सिरिज र आइसिसी विश्वकप लिग–२ का लागि छुट्टा छुट्टै नेपाली...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२०...