
काठमाडौं। स्थानीय तहमा रिक्त पदहरुका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।
जिल्ला समन्वय समितिको प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हँुदैछ।
निर्वाचन आयोगअनुसार ओखलढुंगा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हँुदैछ।
यस्तै, ताप्लेजुङको सिरिजङ्गा गापा ३, झापाको कन्काइ नपा ६, तेह्रथुमको लालीगुराँस नपा ८, सुनसरीको गढी गापा ६, ओखलढुङ्गाको मोलुङ गापा ५, उदयपुरको त्रियुगा नपा १२ र बेलका नपा ९, सप्तरीको डाक्नेश्वरी नपा १ र ४, धनुषाको धनुषाधाम नपा १, महोत्तरीको रामगोपालपुर नपा २, रौतहटको ईशनाथ नपा ७, राजपुर नपा ६ र गढीमाई नगरपालिका वडा नं ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ।
त्यस्तै, कीर्तिपुर नपा १ र ४, काठमाडौं मनपा १६, नुवाकोटको ककनी गापा २, मकवानपुरको हेटौँडा नपा १२, गोरखा नपा ५, गुल्मीको मुसिकोट नपा १, रोल्पाको रुन्टीगढी गापा ४, बर्दियाको ठाकुरबाबा नपा ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गापा २ र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचन हुने आयोगका सूचना अधिकृत सुमन घिमिरेले बताए ।
यस्तै, दैलेखको दुल्लु नपा १३, कालिकोटको तिलागुफा नपा ४, जाजरकोट कुशे गापा ७, डोल्पाको त्रिपुरासुन्दरी नपा ५, रुकुम (पश्चिम) सानीभेरी गापा ५, बझाङको सुर्मा गापा ४, डोटीको पूर्वीचौकी गापा ६, दार्चुलाको दुहुँ गापा ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ।
मंसिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ। मंसिर २ गते निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुनेछ भने सोही दिन अपराह्न उम्मेदवारको सूची प्रकाशन हुनेछ।
निर्वाचन आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ ।
मंसिर ३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
मंसिर ५ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने छ भने सोही दिन अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
निर्वाचन आयोगले उम्मेदवारको मनोयनपत्र दर्ता भएको मितिदेखि निर्वाचन परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको छ ।
नगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले चार लाख ५० हजार, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख ५० हजार, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछ।
महानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले तीन लाख, नगरपालिका वडाध्यक्ष पदका उम्मेदवारले दुई लाख र गाउँपालिकाका वडाध्यक्षले एक लाख ५० हजार रुपैयाँ खर्च गर्न सक्नेछ।
आयोगले यही कात्तिक १ गते आसन्न स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय तोकेको छ। उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ ।
वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगले जनाएको छ ।
उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता उपनिर्वाचनका लागि आयोगमा २५ राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका २६ राजनीतिक दलमध्ये रीत पूरा भएका २५ दल दर्ता गरिएका आयोगले जनाएको छ ।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...