काठमाडौं। आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपचुनावमा नेपाली कांग्रेसले दुई वटै जिल्ला समन्वय समितिको सभापति हात पार्ने पक्का भएको छ।
ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति (जिसस) सभापतिका लागि हुने उपचुनावमा एमालेले समर्थन गर्ने सहमति भएपछि कांग्रेसले दुबै जिसस सभापति हात पार्ने पक्का पक्की भएको हो।
जिसस सभापतिका लागि ओखलढुंगामा कांग्रेस एक्लैको बहुमत छ। ८ पालिका रहेको ओखलढुंगामा कांग्रेससँग ९ जना (स्वतन्त्र जितेको एक पनि कांग्रेसतिरै रहेको) पालिका पदाधिकारी छन्।
एमालेसँग ५, माओवादी र जसपासँग १÷१ जना पदाधिकारी छन्। एमालेको पनि कांग्रेसलाई समर्थन हुँदा माओवादी र जसपाको दुई मत मात्र सत्ता गठबन्धन बाहिर छ।
‘प्रक्रिया मात्र बाँकी हो, सभापति हाम्रो भइसक्यो’, कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले भने। ओखलढुंगामा यसअघि पनि कांग्रेसकै सभापति थिए।
२०७९ को चुनावबाट डिल्लीराम खनाल जिसस सभापति निर्वाचित भएका थिए। उनको निधन भएकाले उपचुनाव हुँदैछ। कांग्रेसले उपचुनावमा टेकराज भट्टराईलाई सभापतिका रुपमा अघि सारेको छ।
ओखलढुंगा जस्तै कैलालीमा पनि एमालेले कांग्रेसलाई सहयोग गरेको छ। १३ पालिका रहेको कैलालीमा कांग्रेसका ८ र एमालेका ५ जना पालिका पदाधिकारी छन्। यो संख्या बहुमत हो।
टीकापुर नगरपालिकाका उपमेयर खडकबहादुर शाह निलम्बित छन्। उनले मत हाल्न पाउँदैनन्। उनले मतदान गर्न नपाउँदा कांग्रेस र एमाले बाहेक १२ जना पालिका पदाधिकारी मात्र (नाउपासँग ७, माओवादी ३ र एकीकृत समाजवादी १) बाँकी रहन्छन्।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सत्तारुढ गठबन्धन भएकाले कांग्रेसका उम्मेदवारलाई अझ सहज हुने देखिएको छ।
७ जना पालिका पदाधिकारी रहेको नाउपाले २०७९ को चुनावमा कांग्रेससँग प्रतिस्पर्धा गरेको थियो। एमालेको ५ पदाधिकारीको मत भएकाले नाउपाका इन्द्र चौधरीले जिससमा १२ मत पाएका थिए।
तर कांग्रेसका पदमबहादुर कलेलले १३ मत ल्याएर जिसस जिते । कलेललाई स्वतन्त्र जितेका धनगढी उपमहानगर पालिकाका मेयर गोपी हमालले मत दिएका थिए।
यसपटक एमालेकै समर्थन हुँदा कांग्रेसकी टीका चौधरी जिसस सभापति निर्वाचित हुने पक्का छ।
काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...
काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...
जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...