प्रधानमन्त्रीको आसन्न चीन भ्रमण र त्यसबाट नेपालले पाउने फाइदा – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

प्रधानमन्त्रीको आसन्न चीन भ्रमण र त्यसबाट नेपालले पाउने फाइदा

१. सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली यही मंसिर १७ गतेदेखि महान छिमेकी देश चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । हामी नेपालीका लागि यो सुखद अवसर पनि हो । जनस्तरको अनौपचारिक सम्बन्धले पनि हाम्रा दुई देशका बिचमा इतिहासदेखि नै न्यानो सम्बन्ध रहिआएको छ । झन सरकार —सरकारका बिचमा पनि आपसी सम्बन्ध र सहयोगको आदान प्रदान हुनु अर्को राम्रो पक्ष हो ।

२. करिब १४०० किलोमिटर भन्दा बढी सीमा जोडिएको हाम्रा देशहरुमा खासै सीमा विवाद छैन र यदि भई हालेमा पनि तत्कालै त्यसको निरुपण गरी आपसमा समझदारी गरी हाल्ने चलन यथावत् छ । खासगरी सगरमाथाका विषयमा मुख्य चुचुरो कसको हो भन्ने ठुलो विवाद एकपटक थियो तर तत्कालीन नेपाली नेतृत्व रहनुभएका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र चीनका सर्वोच्च नेता अध्यक्ष माओ तथा प्रधानमन्त्री चाउले मुख्य चुचुरो नेपालको हो भनेर समाधान निकालेपछि त्यो समस्या कहिले पनि बल्झेको छैन ।नेपाल र चीनको सम्बन्ध सगरमाथा जत्तिकै उच्च, शुभ्र , गहन र स्थिर छ भन्ने मानिन्छ ।

३. प्रधानमन्त्रीओलीको चीन भ्रमणका बारेमा कुनै विवाद पनि छैन र नेपालका प्रधानमन्त्रीले कुन देशको औपचारिक, अनौपचारिक या मैत्रीपूर्ण भ्रमण कहिले कुन समयमा गर्छन् भन्ने निर्णय सार्वभौम नेपालको आफ्नो हो र जहिले जुन देशले बोलाउँछ या आफ्नो जरुरत पर्छ, भ्रमण गर्ने हो । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै एउटा अन्तरवार्तामा भन्नु भएको रहेछ— ओली चीन पहिले गएर चाइना कार्ड खेल्न लागेका छन् । चाइना कार्ड अर्थात् छिमेकी देशहरुसँगको सम्बन्ध र वैश्विक सम्बन्धमा चीनलाई देखाएर अरुलाई धम्क्याउने, तर्साउने या बदला लिने अर्थमा चाइना कार्डको अर्थ हुने गर्छ । नेपालले कतिपय मामिलामा भारत, चीन ,अमेरिका , रुस, जापान जस्ता देशको भन्दा फरक धारणा व्यक्त गरेको छ र बेग्लै धारणा राख्न पाउने अधिकार हाम्रो आफ्नो असंलग्न नीतिको उपज पनि हो र आफ्नो हित केमा छ, त्यसको पक्षधरता लिन पाउने अधिकार पनि हो । त्यसमा भारतलाई चाइना कार्ड देखाउनु पर्ने, अनि चीनलाई भारत कार्ड देखाउनुपर्ने अवस्थामा नेपालको परराष्ट्र नीति छैन ।

४. प्रधानमन्त्री चीन जानुहुन्छ, नेपालका हितमा पारवहन, व्यापार, उद्योग तथा अन्य नेपालको हितका लागि जे आवश्यक छ, सन्धि, सम्झौता, सहमति गर्न पाउनु हुन्छ । हाल चलेको अर्को प्रश्न हो बेल्ट एन्ड रोड इनिसिएटिभ— बीआरआइका विभिन्न परियोजनामा नेपालले के गर्छ ? यसमा कुनै विवाद नै छैन, सात वर्षअघि नै बीआरआइ इनिसिएटिभको बारेमा सहमति भएको छ र नेपालले पनि सिल्क रोडको फाइदा लिने इच्छा व्यक्त गरेकै छ ।अत्यन्त विकासको गतिमा उडेको चीनसँग हामीले धेरै कुरा सिक्नु छ, लिनु छ, दिनु छ र आपसमा धारणाहरु साटासाट गर्नु छ । न त हाम्रो व्यापार खबौँँमा भएको छ, न त हामी चीनसँग कुनै पनि कुरामा असहमत रहेका छौँ ।

५. कुरा के मात्र हो भने चीनले बीआरआइमा जुन सहयोग दिन्छ, त्यो ऋणको रुपमामात्र दिन्छ । नेपालको धारणा के छ भने सकेसम्म छिमेकीसँग ऋण नलिउँ, त्यो पनि चीनको एक्जिम बैंकको धेरै व्याजको ऋण नलिउँ भन्ने मात्र हो । यहाँ एकथरीको अचम्मकौ रुवाइ देखिन्छ, संसारमा जताबाट पनि ऋण लिनु हुने, अनि चीनसँग किन लिन नहुने ? अनि तिनीहरुले नै भन्थे एमसीसी सित्तैमा भने पनि अमेरिकीहरुको सहयोग लिनु हुँदैन किनभने त्यो पुँजीवादी हो, विस्तारवादी हो , साम्राज्यवादी हो । अनि साम्यवादी चीनसँग चाहिँ ऋण लिएर भने पनि, कडा व्याजको ऋण लिएर भने पनि चीनको साथी हुनु जरुरी छ । यो कस्तो तर्क हो ? तर सरकारले भन्यो, बीआरआइसँग हामी जोडिएका छौँ र कसरी त्यसका परियोजनाहरुलाई नेपालको हितमा र चीनको प्रविधिलाई नेपालका विकासको रुपमा भित्र्याउन सक्छौँ, त्यो प्राविधिक कुरा हो । आवश्यक परे नरम ऋण लिन सकिन्छ तर प्रमाणका रुपमा श्रीलङ्का देखिँदा डराउनु स्वाभाविक हो । सहयोगका लागि हात थाप्ने तर तत्कालका लागि ऋण नलिने मात्र भनेको हो । आवश्यकता पर्दा सहयोग, ऋण जे पनि लिनु पर्छ । चीन पनि त्यसमाअपवाद हुन सक्दैन । तर प्रारम्भिकअवस्थादेखि नै ऋणको भार नबोकौँ भन्नु साम्राज्यवादीहरुको चाकरी हुनै सक्दैन ।

६. र अन्त्यमा, नेपालका प्रजातान्त्रिक आन्दोलनका धरोहर तथा संसदीय व्यवस्थाकाअनुपम उदाहरणीय व्यक्तित्व दमननाथ ढुंगाना मंसिर २ गते हामीबाट सदाका लागि बिदा हुनुभयो । यो असामयिक तथा अकल्पनीय घटनाको परिपूर्ति नेपालको राजनीतिक क्षेत्रमा कहिल्यै हुनै सक्दैन । प्रजातन्त्र पुनर्स्थापनापछिको प्रतिनिधि सभाका सभामुखका हैसियतले उहाँले देखाउनुभएको प्रजातान्त्रिकआचरण नजिरका रुपमा नेपाली संसदीय इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । उहाँप्रति श्रद्धासुमन अर्पण गर्नु हाम्रो कर्तव्य हो र उहाँले देखाएको संसदीय व्यवस्थाको उदाहरणीय नेतृत्वलाई सबैले मनन गरी संसद सञ्चालन गर्न सकून् भन्ने अपेक्षा राख्न सकिन्छ ।

सम्बन्धित समाचार

नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
  • २०८१ मंसिर १०, १३: ०३

वीरगञ्ज : नेपाल–भारत विकास सहकार्यअन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य...

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
  • २०८१ मंसिर १०, १३: ०३

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...

आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
  • २०८१ मंसिर १०, १३: ०३

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...