प्रमाण विनाको प्रहसन ! – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

प्रमाण विनाको प्रहसन !

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या ८९१५८६६ नाघेको छ भने नेपालमा ८ हजार ६०५ संक्रमित छन्, २२ को मृत्यु भइसकेको छ । गत वर्ष डिसेम्बरको अन्त्यतिरबाट देखा परेको यो महामारीले यतिबेला २१३ वटा देशमा प्रभाव पारेको छ । जब कोरोना भाइरसको पहिलो संक्रमण नेपालमा पुष्टि भयो तबसम्म कोरोनालाई विश्व स्वास्थ संगठनले विश्व महामारीको घोषणा गरिसकेको थियो । निकै समयको अन्तरालपछि नेपालमा दोस्रो संक्रमण पुष्टि भयो । जब नेपालमा फाट्टफुट्ट संक्रमित देखिदै थिए, विश्वका विकसित मुलुकहरुलाई कोरोनाले आफ्नो नियन्त्रणमा लिइसकेको थियो । इटली, स्पेन, अमेरिका लगायतका देशहरुमा दैनिक मृत्यु हुनेको संख्या हजारौंमा गन्ति हुन थालेको थियो । नेपाल सरकार पनि अन्य देशको गन्तिमै अल्मलियो । संसारभर भेन्टिलेटर र परिक्षण सामग्री अभाव हुन थालेपछि हाम्रो सरकार सामान खरिदको टेण्डर निकाल्दै थियो । त्यसमा पनि व्यापक अनियमितता छताछुल्ल भएको छ । अन्य मुलुकको अवस्था हेरेर नेपालले कोरोना विरुद्ध तयार हुने पर्याप्त समय हुदाँ हुदाँ पनि नेपाल सरकार मुक्त दर्शक बनेर बस्यो। प्रधानमन्त्री नेपालमा कोरोनाले प्रवेश गर्दैन भन्नेमा विश्वस्त भए । बरु उनी राजनैतिक दलहरुलाई जुधाउने र फुटाउने फोहोरी खेलमा व्यस्त भए । त्यसैले अहिले आफ्ना कमजोरी लुकाउन हाँस्य कलाकारको भुमिकामा उत्रिएका छन् । संसदमा सरकार प्रमुखको हैसियतमा प्रस्तुत भएर सांसदहरुको प्रश्नको जवाफ जिम्मेवार भएर दिनुपर्नेमा गाइजात्रा प्रहसनको कलाकार जस्तो भएर प्रस्तुत हुने गरेका छन् । कहिले बेसार र लसुन खाएर कोरोना निको हुन्छ
भन्ने त कहिले ह्ँयाछयूउँ गरेर कोरोना भगाउनुस् भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएर प्रधानमन्त्री जस्तो जिम्मेवार पदलाई नै हाँसोको विषय बनाएका छन् । स्वास्थ जस्तो संवेदनशील विषयमा यसरी प्रधानमन्त्रीले विना कुनै वैज्ञानिक आधार, विना कुनै प्रमाण जथाभावी बोल्दा आम जनतामा त्यसको नकरात्मक असर कति पर्छ भन्ने बारेमा प्रधानमन्त्री पूरै अज्ञानी देखिएका छन् । विज्ञहरुले पनि प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवार भएको बताएका छन् । पर्याप्त समय हुँदाहुँदै तयारी नगर्नु, विश्व स्वास्थ्य संगठनले आरडिटी परिक्षण भरपर्दो नभएकोले पीसिआर नै गर्नु भनेर बारम्बार भनिरहँदा त्यसलाई बेवास्ता गरेर आरडिटीमा मात्र जोड दिनु, परिक्षणको दायरा नबढाउनु, सीमा व्यवस्थापन नगर्नु, क्वारेन्टिन अव्यवस्थित हुनु लगायतका विषयहरुले महामारीप्रति सरकार असफल भएको प्रष्ट भएपछि आफ्नो बचाउमा प्रधानमन्त्रीले यतिखेर प्रहसनको सहायता लिएका छन् । तर आम जनताको स्वास्थ गम्भीर विषय हो प्रधानमन्त्रीज्यू, ! यसलाई हाँस्यव्यङ्गको विषय नबनाउनुस् । आफ्नो कमजोरी लुकाउन भ्रम फैलाउन जनताले तपाईलाई प्रधानमन्त्री बनाएका होइनन् । तसर्थ जिम्मेवार र इमान्दार भएर जनताको सेवामा लागेर लोकप्रियता कमाउनुस, प्रमाण विनाको प्रहसनले होइन । कोरोनाबाट विश्वभर चार लाख बढीको मृत्यु भइसकेको छ, त्यसैले यो कमेडीको विषय होइन । अन्य मुलुकहरुले जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर काम गरे । त्यसैले त्यहाँको जनजिवन अब विस्तारै सामान्य बन्दै गएको छ । तर हामीकोमा संक्रमितको संख्या दिनदिनै बढेको छ । केवल लकडाउनलाई विकल्प बनाएर देशलाई ठप्प पारेको तीन महिना हुन लागिसक्यो । तर संक्रमण नियन्त्रण बाहिर जाने खतरा र त्यसलाई नियन्त्रण गर्न नसक्ने डरले सरकारले लकडाउन लम्ब्याउने कामलाई मात्रै प्राथमिकतामा राखेको छ, जुन अबको परिस्थितिमा विकल्प होइन । खुकुलो पारिएको लकडाउनमा सरकार र जनता दुवै जिम्मेवार हनु जरुरी छ । प्रधानमन्त्रीले कमेडी गर्दमा यो बिषयको संवदेनशीलता घट्ने होइन । तसर्थ, प्रमले बिज्ञको सुझावलाई आत्मसात् गरेर त्यही अनुरुपका काम कारवाही गर्न जरुरी छ । हावादारी गफ प्रधानमन्त्रीलाइ सोभनीय हुदैन।

सम्बन्धित समाचार

किसानलाई समयमै मल आपूर्ति होस्
किसानलाई समयमै मल आपूर्ति होस्
  • २०७७ असार ८, ०६: ५०

हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७७ असार ८, ०६: ५०

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७७ असार ८, ०६: ५०

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...