दलहरुमा अनुशासन पर्व र डाक्टर शेखर कोइरालाको गतिशीलता – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

दलहरुमा अनुशासन पर्व र डाक्टर शेखर कोइरालाको गतिशीलता

१.अनुशासन पर्वको जगजगी
अहिले मूलधारका दलहरुमा अनुशासन पर्व चल्न थालेको छ । सबैभन्दा पुरानो अनि प्रजातन्त्रको पर्याय मानिने दल नेपाली कांग्रेसमा २०७९सालको आम निर्वाचनका बेलामा दिएको उजुरीका आधारमा दलका नेतृत्वतहमा रहेका १८जनासहित अरु २४जनामाथि अनुशासनको कार्बाही गरिएको देखिन्छ । अरु प्ीन् पाइप लाइनमा छन् भनेर एकातिर तर्साइदै छ भने अनुशासन समितिका पाँचजनामध्ये दुईजनाले लिखित असहमति जनाए पनि कार्बाहीलाई अघि बढाइएको भनिएको छ । स्मरणीय छ, अनुशासन समितिमा आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा ध्रुव वाग्ले, सञ्जय गौतम, राजीव कोइराला र ईश्वरी न्यौपाने रहेका छन् । असहमति जनाउने सदस्यहरुमा सञ्जय गौतम र राजीव कोइराला छन् । नेपाली कांग्रेसको मूल नेतृत्वसँग असहमति जनाउने र जे गरेपनि चुपचाप नबस्ने समूहका नेताहरुलाई छानी छानी कार्बाही गरिएको आरोप नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले लगाउनु भएको छ भने अनुशासन समितिका सदस्य ध्रुव वाग्लेले अनुशासन नभए दलमा अराजकता आउने भएकाले कार्बाही गरिएको बताएका छन् ।

सभापति शेरबहादुर देउवा र उहाँका निकटहरु मानिएका कतिपय नेताहरुले आफ्नो रिसइबी साध्न आम निर्वाचनका बेलामा भएको विवादलाई आधार बनाएर उजुरी दिएका हुन् भनिएको छ र विधान अनुसार उजुरी परेको छ महिनाभित्रमा जे जे हुनुपर्ने भइसक्नु पर्नेमा अहिले कार्बाही गरिएको भनेर असन्तुष्टि जनाइएको छ । संस्थापनसँग असन्तुष्टि जनाउने नेताहरुमाथि भएको कार्बाहीले नेकांमा विवाद जन्मने देखिएकाले मध्यस्थकर्ताहरु भने यो कार्बाहीमा तत्काल पुनरावलोक गर्नुपर्ने र दलमा एकता कायम गर्नुपर्ने बताउँछन् । यसैगरी नेकपा एमालेभित्र सिधै अनुशासनको कार्बाही पहिले नै भएको तर अहिले आएर पार्टीको निर्णयबमोजिम राष्ट्रपति भएकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी दलको सक्रिय राजनीतिमा आउन खोज्दा र भावी सभापतिमा उठ्ने तयारी गर्दा उनको राजीनामा स्वेच्छिक हो र नयाँ तरिकाले पार्टीमा प्रवेश योग्य हो या दलले पठाएकोले प्राविधिकरुपमा काजमा पठाएको जस्तो नवीकरणीय सदस्यता हो भन्ने भन्नेमा विवाद सुरु भएको छ ।

यो विवादको कारण हो यही भदौमा हुन लागेको एमालेको विधान सम्मेलनमा भाग लिन पाउने कि नपाउने ? दसौँ महाधिवेशनमा चितवनमा भाग लिएका प्रतिनिधिहरुमात्रले भाग लिन पाउने निर्णय भएकाले र उनको सदस्यता नवीकरणसमेत पेन्डिङ् रहेकाले एघारौँ अधिवेशनमा भाग लिन नपाउने बुझिन्छ । अर्थात् प्रतिनिधिका हैसियतले भाग लिन नपाउने बित्तिकै पदाधिकारीको पदमा उठ्नै पाइएन जसले गर्दा केपी शर्मा ओलीका विकल्पमा अनुमान गरिएकी भण्डारीले महाधिवेशन प्रतिनिधि समेत हुन नपाउने देखिन्छ । यो अनुशासनको कार्बाहीको प्रतिध्वनि आवश्यकता परे सर्वोच्च अदालतसम्म पुग्ने देखिन्छ जसमा मुलुकका सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्याायाधीश, सभामुख तथा राष्ट्रिय सभामा अध्यक्ष तथा संवैधानिक अंगका प्रमुख तथा सदस्यहरु भइसकेको व्यक्ति पदपछिको आचार संहिताको व्याख्या गरिने हुनसक्छ के हुन पाउने र के हुन नपाउने ? यो नैतिकता र आवश्यकताका कुरा होला तर अहिले उठेको प्रश्नको जबाफ समयले मागेको छ किनभने उपराष्ट्रपति भइसकेका नन्दबहादुर पुन नेकपा माआबादी केन्द्रका उपाध्यक्ष मनोनीत भइसकेका छन् भने तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा आएकीले सरकारले दिएका सुविधाहरु त्यागेको घोषणा गरेकी छिन् ।

अब उनीहरु कानुनको दायराभन्दा बाहिर कि भित्र? संविधानले कतिपय कुरामा संविधानका विशेष अधिकार पछिसम्म दिएको देखिन्छ । उता राप्रपामा अनुशासनको डन्डा चलाएकाले तत्कालीन अनुशासन समितिका सभापति नवराज सुवेदी आफूविरुद्ध सभापति राजेन्द्र लिङ्देनले अन्याय गरेको भनी न्याय माग्न आयोग पुग्नु भएको देखिन्छ ।

स्मरणीय छ, राजतन्त्र पुनस्र्थापना मूल समितिका संयोजक हुने बित्तिकै उहाँँले आफू अब कुनै दलमा आबद्ध नरहेको भनी स्वेच्छिक राजीनामा घोषणा गरेको र त्यसैको आधारमा केन्द्रीय सदस्य माननीय रोशन कार्कीलाइ अनुशासन समितिका सभापति बनाइएको थियो । त्यसैगरी महामन्त्री सगुन लावती र उपाध्यक्ष गिरीलाई साधारण सदस्यसमेतको पदबाट निष्कासन गरिएको थियो । रास्वपामा पनि महामन्त्री डाक्टर मुकुल ढकालविरुद्ध गरिएको अनुशासनको कार्बाही विरुद्धको मुद्दा निर्वाचन आयोग र सर्वोच्च अदालतमा विचाराधीन छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोग लगाउँदै उजुरी दर्ता गरेपछि त्यो दलकी सचिव रामकुमारी झाँक्रीविरुद्ध पनि अनुशासन समितिले स्पष्टीकरण मागेको छ ।
जनमत पार्टीमा कोषाध्यक्ष र उपाध्यक्ष विरुद्ध पनि अनुशासनको कार्बाही गरिएको छ । अहिले जताततै दलहरुमा दलका नेताहरुविरुद्ध आवाज उठाउने विरुद्ध अनुशासनको डन्डा चलाउँदै उसको भविष्यको राजनीतिमाथि धाबा बोलिन थालेको छ । यसो हेर्दा यो अनिर्णित निरन्तरता देखिन्छ जसले दलहरुमा आपसी विवादले भित्रभित्रै वैमनष्यता बढाउने छ ।

२.र अन्त्यमा डाक्टर शेखरको दौडधुप र वैकल्पिक सरकारको हल्ला
नेपाली कांग्रेसका वैकल्पिक धारका नेता तथा महाधिवेशनमा ४० प्रतिशतभन्दा बढी मत ल्याएका डाक्टर शेखर कोइरालाको राजनीतिक गतिशीलता बढेको देखिन्छ जसले गर्दा नेपाली राजनीतिको वैकल्पिक नेताको रुपमा गणना गर्न थालिएको छ । नेता कोइरालाले प्रमुख प्रतिपक्षी नेता नेकपा माआबादी केन्द्रका अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँगको एक्लाएक्लै भएको भेटले राजनीति तरङ्गित भएको छ ।

यसैबिच जनता समाजवादी नेपालका नेता तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार माथिल्लो सदनमा अल्पमतमा परेको र विपक्षीले आवाज उठाएमा समर्थन गर्ने दलको समर्थन फिर्ता लिँदा फेरि विश्वासको मत लिनु परेमा अनिश्चयको वादल देखिन थालेको बताइन्छ । सरकारको वर्षदिन पुगेको दिनबाटै समर्थन फिर्ता लिएको र नेता कोइरालाको मौनरुपमा देखिएको दौडधुप र बाहिर सुरु भएको हल्लाले उहाँलाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा देखाएको कुराले पनि राजनीतिले फेरि नेपाली कांग्रेस र एमालेको बिचको गठबन्धनमा धमिरा पसेको हो कि भन्ने देखाएको छ ।

सरकार गतिशील त छ तर अपेक्षित सेवा दिन नसकेको गुनासका बिचमा र मन्त्रीहरुका विवादास्पद काम र घुसकाण्डहरुको खुलासाले सरकार अप्ठेरोमा परेकै छ । झन प्रधानमन्त्री ओलीलाई दलभित्रैबाट चुनौती आउन थालेकोले सत्ता शान्तिपूर्ण तरिकाले हस्तान्तरण होला भन्नेमा शङ्का उत्पन्न भएको छ । त्यसैले सरकारको एकवर्ष पुगेपछि देखिन थालेको अस्थिरताले फेरि सरकारको अस्थिरता र नयाँ सरकारको गठबन्धनको हल्ला सुरु भएको छ । तर कस्तो र कसको गठबन्धन कसरी हुने भन्ने स्पष्ट चित्र देखिएको छैन । नेपाली कांग्रेसभित्र शेखर कोइरालाविरुद्ध सुरु भएको आरोप प्रत्यारोपले भने केही त भएको अनुमान गर्न सकिन्छ । कम बोल्ने पात्रहरुले पनि डाक्टर शेखरविरुद्ध बोलेको र उनको पार्टीमा संसदीय दलको नेता हुने हैसियत नभएको भनेर कुबेलामा हल्ला बोल्न थाल्नुले पनि दालमा कुछ काला है भन्ने हिन्दी मुहाबरा याद आउन थालेको हो । (नयाँ विकल्प साप्ताहिकबाट साभार)

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०८२ श्रावण ५, १२: ३७

१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०८२ श्रावण ५, १२: ३७

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०८२ श्रावण ५, १२: ३७

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...