महाधिवेशनको चटारोमा नेपाली कांग्रेस – Naya Bikalpa
October 12, 2026, Monday      Epaper

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस

 

१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन
नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८३साल असोज १८गतेबाट सुरु भएको छ र निर्वाचन प्रक्रिया नलम्बिए असोज २२गते नयाँ कार्यसमितिलाई अहिलेको समितिले कार्यभार सुम्पने छ । यो महाधिवेशनको कार्यतालिकाले असोज १६गतेदेखि हुने भनिएको भए पनि मुलुकमा आएको अविरल वर्षाका कारणले बाटोघाटोको समस्या र कतिपय क्षेत्रमा अधिवेशन हुन पनि नसकेको अवस्थाले गर्दा दुई दिन सारेर भए पनि अधिवेशन सुरु भएको छ । त्यसो त प्रदेश अधिवेशन, जिल्ला अधिवेशनहरु बाँकी नै छन् र ती अधिवेशनहरु फुर्सदमा गर्ने अवस्था सृजना भएको छ किनभने अब तत्कालै दसैँ, तिहार अनि खेतीमा पाकेको अन्नबाली भित्र्याउने बेला सुरु भएकै छ ।

अनि निवर्तित सभापति या अपदस्थ सभापति भनौँ, शेरबहादुर देउबा पक्षले पनि असोज १५ गतेबाट नै आफ्नो समूहको तर्फबाट १५औँ महाधिवेशनका लागि वडा अधिवेशन सुरु गरेर मंसिर २१देखि महाधिवेशनको तयारी गर्न थालेका समाचारहरु आउन थालेका छन् । गगन थापाले नेतृत्व गरेको केन्द्रीय समितिलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएकोले त्यो नै आधिकारिक नेपाली कांग्रेसको रुपमा देखिएको छ भने देउबाको पक्षमा खुलेको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशाङ्क कोइराला नेतृत्वको समूहले भने आफूलाई १४औँ महाधिवेशनको निरन्तरता र नियमित अधिवेशन पक्षधर मानेको छ । यसलाई दुईवटा कांग्रेस मान्ने अवस्था देखिएको छ र पनि मूलधारको रुपमा गगन नेतृत्वको कांग्रेस नै देखिएको छ जबसम्म सर्वोच्च अदालतले देउबाको समूहलाई आधिकारिक नमान्दासम्म ।

तर विशेष अधिवेशनलाई मान्यता दिएर अघि बढेको गगन समूहको आधिकारिक नेपाली कांग्रेसले असोज २२सम्ममा अधिवेशन गरेर नयाँ कार्यसमिति नै बनाई सक्दा पनि निस्सा पाएको पक्षका लागि सर्वोच्च अदालतको नयाँ कुनै फैसला आउने देखिँदैन र यो पार्टीको आन्तरिक समस्यामा अब अदालत पनि धेरै अल्झिने अवस्था पनि छैन । त्यसैले होला, देउबा समूहका धेरै ठुलो संख्या जो राष्ट्रिय भेला गराउनका लागि उद्यत थियो, ती पनि आधिकारिकताका लागि गगन समूहमा समाहित भएका देखिन्छन् र वडादेखि नै निर्वाचन लडेर महाधिवेशन प्रतिनिधि बनेका पाइन्छन् ।

महाधिवेशन एउटा जीवन्त पार्टीका लागि नियमित प्रक्रिया थियो तर त्यसलाई रोक्न खोज्दा विशेष अधिवेशनको चटारो आएको हो । त्यसले एउटा बाटो समायो र आजका दिनको महाधिवेशन हुन लागेको हो । महधिवेशनका लागि सदस्यता नवीकरण र नयाँ सदस्यहरुको आगमन, करिब १० लाख सदस्यहरुको संख्या पुग्नु अनि क्षेत्रीय अधिवेशनहरु भएर करिब ७५०० भन्दा बढी प्रतिनिधिहरु चुनिनु, ठुलो संख्यामा युवा, महिला, दलित, जनजाति, उपेक्षित वर्गका सहभागिता रहनु आफैँमा सकारात्मक पक्ष हो र पार्टी जरासम्म नै चलायमान भएको प्रमाण हो । फेरि शेरबहादुरजी पक्षले पनि त्यही प्रक्रिया गर्दा फेरि पार्टी चलायमान त हुन्छ तर भाँडभैलोमा परिणत नहोस् भन्ने कामना गर्नुपर्छ । यदि यो बिचमा पनि सहमति र समझदारी भएन भने मंसिरमा जस्तो भए पनि अधिवेशन हुनेछ र आगामी स्थानीय निर्वाचनमा दुई पक्ष भएर निर्वाचनमा जाने निश्चित छ ।

त्यसले नेपाली प्रजातान्त्रिक आन्दोलनलाई विखण्डन गर्नेछ र मुलुक नयाँ द्वन्द्वमा फस्दासमेत नेपाली कांग्रेसको विभाजित शक्तिले राष्ट्रको नेतृत्व गर्न सक्नेछैन । पार्टी जतिसुकै होऊन् , वहुदलीय व्यवस्थामा पिर गर्ने अवस्था होइन, तर एउटा सखल्ल पार्टी जसको इतिहास ८दशकदेखि अनवरत प्रजातन्त्रको पर्यायको रुपमा सतीसालझैँ खडा थियो, त्यो विखण्डन हुँदा प्रजातन्त्रका पक्षमा उभिने आधिकारिक र बलियो संस्था नरहने हो कि भन्ने चिन्ता देखिन्छ । देउबा पक्षमा रहेका कांग्रेसहरु चिनिएका कांग्रेसहरु हुन् भन्ने शंका छैन तर प्रक्रिया र अहंकारका कारणले आजको अवस्था सृजना भएको हो भन्ने कुरामा आत्म समीक्षा हुन सकेको पाइएन ।
चलायमान नेपाली कांग्रेसले नयाँ बाटो समाएर अघि बढ्न लागेको यो महाधिवेशनको क्षणमा शुभकामना व्यक्त गर्नुपर्छ, नियमित प्रक्रियामा जोजो नेतृत्वमा आउने छन्, तिनले जसरी पनि पार्टीलाई एकताबद्ध गर्नेछन् भन्ने विश्वाससमेत लिन सकिन्छ ।

व्यक्ति गौण हो भन्दा भन्दै पनि व्यक्तिमा रहेका अनेक गुणहरुले नै नेतृत्व बन्ने हो जस्तो कि बीपी कोइराला बन्नका लागि आज पनि कोसिस भएका छन् र पनि कोही किन त्यस्तो विचारवान नेता बन्न सकेका देखिएनन्। त्यही दलको आज जनताबाट तिरस्कृत हुनुपर्ने यो हबिगत किन भयो भने अतीतमा भएका गल्तीहरु दोहोरिने र नयाँ विचारले पार्टी डो¥याउन नसक्दा यस्तो भएको हो । अब त्यस्तो नहोस् भन्ने कुरा १५महाधिवेशनबाट आउने नेतृत्वले सुझबुझ राखोस् भन्ने कामना गरौँ र शेरबहादुरजीको समूहले पनि आजको समय सापेक्ष विचारलाई मनन गरी आपसमा विवाद होइन, समझदारी गरौँ भन्नेमा जानुपर्छ । उनै कार्यकर्ता, उही भुइँसत्यता, उही सिद्धान्त अनि केको विवाद ? विवाद त गरौँ संगठन बलियो बनाउनमा, सिद्धान्त जोगाउनमा, नयाँ नयाँ सिद्धान्त प्रतिपादन गरेर विश्वलाई प्रजातन्त्रको आवश्यकता अब झन छ भनेर सिकाउनमा ।
सुरु भएको महाधिवेशनको सफलताको कामना सहित आउने नेतृत्वलाई अग्रिम शुभकामना ।

२. र अन्त्यमा, संसदको अधिवशेन सुरु भयो, अन्त्य पनि भयो
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बर्खे अधिवेशन समाप्त भएको छ । नेपाल सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेले असोज १६गते राती १२बजेदेखि लागू हुने गरी दुवै सदनको अधिवशेन अन्त्य भएको घोषणा गर्नु भएकोले स्थगित भएको छ । तर संसदको सम्मान प्रधानमन्त्रीबाट किन भएन भन्ने प्रश्न भने उठिरहेको छ । सामाजिक सञ्जालमा मात्र बोल्ने हाम्रा प्रधानमन्त्रीको बोली संसदमा गुन्जेको भए हुने थियो भन्ने धारणा आम मानिसहरुका उठेको छ । सरकार जुन गतिमा अगाडि बढोसस् भन्ने आम चाहना थियो, त्यस्तो भएन भन्नेमा सत्तारुढ दल रास्वपाका सांसदहरुले पनि घुमाउरो पारामा संसदमा व्यक्त गरेका थिए भने प्रतिपक्षीहरुले सदैव प्रश्न गरे तर प्रश्न अनुत्तरित नै रहे । कतिसम्म भने राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेता कमला पन्तले त यतिसम्म प्रश्न र जिज्ञासा व्यक्त गर्नुभयो कि माथिल्लो सदनले त प्रधानमन्त्रीको अनुहारसम्म पनि राम्रोसँग हेर्न पाएन ।

संसदको गरिमा सरकारले पनि राख्नुपर्छ, सांसदले त राख्नैपर्छ, त्यो त जनताको धरोहर हो । हामीले जबसम्म यो संविधानअनुसार शपथ लिन्छौँ र सांसद हुन्छौँ , त्यो बेलासम्म संसदको गरिमा बढाउनका लागि लागिरहनु पर्छ । तर सरकारका तर्फबाट देखाउनु पर्ने सम्मान देखिएन भन्ने विश्लेषकहरुको धारणामा असहमत हुनुपर्ने कारण देखिएन । राष्ट्रपतिले नेपाल सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेको बेलामा त्यो नीति तथा कार्यक्रम बनाउने प्रधानमन्त्री बालेन्द्र शाहले जसले नीति तथा कार्यक्रम वाचन गर्न राष्ट्रपतिलाई अनुरोध गरेर संसदमा बोलाए, त्यही वाचन गर्दागर्र्र्दै हिँडेको कुराले संसदीय मर्यादाको खिल्ली उडाएको, राष्ट्रपतिप्रति अनादर गरेको र संसदको गरिमाप्रति वास्ता नगरेको कुरा अभिलेखीकृत भइसकेको छ । अब त्यस्तो नदोहोरियोस् भन्ने कामनासम्म गर्न सकिन्छ र अनि सांसदहरुको उपस्थितिका बारेमा पनि प्रश्न उठाउन सकिन्छ । जेहोस्, विभिन्न घटना घटेर पनि संसदको अधिवेशन सम्पन्न भएको छ ।

त्यसैलाई परिणाम सुखद भएको ठानौँ । तर संसदीय परम्परामा नयाँ आयाम थपिएन, बरु नयाँ गलत नजिर कायम भयो भन्ने ठानौँ । यसप्रति सरकार, संसद, सभामुख र सांसदहरु सजग हुनैपर्छ । संसदीय परम्परा र सम्मान जोगाउने सांसदहरुले नै हो , सरकार पनि सांसदहरुको समूहले बनेको हो । यसमा दलहरुको भूमिका पनि त्यति सकारात्मक रहेन भन्ने गुनासो नेपाली जनताको रह्यो ।(नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै, शक्तिपीठहरूमा भक्तजनको घुइँचो
बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै, शक्तिपीठहरूमा भक्तजनको घुइँचो
  • २०८३ आश्विन १९, ११: ५९

काठमाडौँ — नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज (सोमबार) नवदुर्गा भवानीको दोस्रो रूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना...

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०८३ आश्विन १९, ११: ५९

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०८३ आश्विन १९, ११: ५९

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...