
नयाँ विकल्प
दार्चुला- जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ। मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो।
जयसिंह धामी बेपत्ता प्रकरणमा सूक्ष्म ढङ्गले अध्ययन गरेरै प्रतिवेदन आउने उल्लेख गरेको गौतमले घटनास्थल पुगेर त्यहाँको वस्तुस्थिति ल्याइने बताएका छन्। यस्तै समितिले भारतीय एसएसबी र स्थानीयवासीले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने जनाएको छ।
गत साउन १५ गते व्यास गाउँपालिका–२ का मालका जयसिंह धामी सदरमुकाम खलङ्गामा महाकाली नदीमा बेपत्ता भएका थिए। भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिँदा घटना घटेको समाचार आएसँगै घटनाबारे अध्ययन गर्न छानबिन समिति दार्चुला पुगेको हो।
बेपत्ता धामी अझै फेला परेका छैनन्।
बुधबार जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल र व्यास गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेपछि टोली आज गस्कु गएको हो। नेपाल–भारत जोड्ने तुइन लगाएको स्थानीय क्षेत्रको टोलीले अवलोकन गर्नेछ।
टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ। समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य छन्।
भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरे पनि तुइन नकाटेको दाबी गरेको छ। छानबिन समितिको प्रतिवेदनअनुसार मात्रै सरकारले आवश्यक निर्णय लिने जनाएको छ।
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...