महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने स्पष्ट पारेका छन् । आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले असोज १६ देखि १९ गतेसम्मको कार्यतालिका नै अन्तिम रहेको बताएका हुन् ।

थापाका अनुसार पार्टी विधान र प्रचलित कानुनअनुसार तय गरिएको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई छैन । पार्टीको बृहत्तर एकता कायम गर्न छुटेका नेता तथा कार्यकर्तालाई सदस्यता अद्यावधिक प्रक्रियामा समेट्ने क्रममा केही लचकता अपनाउँदा तयारीमा समय लागेको उनले उल्लेख गरे । यद्यपि वडा अधिवेशनलगायत प्रारम्भिक प्रक्रियामा अनावश्यक ढिलाइ नगरी समयमै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

सभापति थापाले विशेष महाधिवेशनको वैधानिकताबारे उठेका प्रश्नप्रति पनि प्रतिक्रिया दिँदै यसअघि नै निर्वाचन आयोग र सर्वोच्च अदालतबाट वैधानिकता प्राप्त भइसकेको विषय पुनः विवादित बनाउन आवश्यक नरहेको बताए । सर्वोच्च अदालतको पुनरावलोकन आदेशलाई सामान्य रूपमा लिएको उल्लेख गर्दै उनले आवश्यक परे पुनः न्यायालयको सामना गर्न पार्टी तयार रहेको स्पष्ट पारे । साथै, कुनै व्यक्तिको अभिव्यक्तिका आधारमा संस्थामाथि अविश्वास बढाउने कार्य नगर्न आग्रह गर्दै उनले न्यायालयप्रति विश्वास कायम राख्नुपर्ने बताए ।

उनले आगामी महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक विषयमा बैठकमा व्यापक छलफल गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।

यस्तै, सभापति थापाले सातै प्रदेशमा कांग्रेस, नेकपा (एमाले) र नेकपा मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव पार्टीले अस्वीकार गरेको जानकारी दिए । उनका अनुसार विगतमा कांग्रेस र एमालेबीच भएको समझदारीअनुसार निश्चित समयपछि एकअर्काको नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति भए पनि त्यसको कार्यान्वयनमा सहमति जुट्न सकेन ।

थापाले प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने अवधारणा संघीयता, लोकतन्त्र र बहुदलीय प्रतिस्पर्धाका मूल्यविपरीत हुने भएकाले कांग्रेसले यस्तो प्रस्ताव अस्वीकार गरेको स्पष्ट पारे । उनले संघीय सरकार र प्रदेशस्तरमा प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउने विषयमा पनि थप छलफल आवश्यक रहेको बताए ।

बैठकको प्रारम्भमा महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनको तयारी, सरकारको १०० दिने समीक्षा तथा समसामयिक राजनीतिक अवस्थासम्बन्धी एजेन्डा प्रस्तुत गरेका छन् ।

बैठकमा महाधिवेशन तयारी, आवश्यक नियमावली तथा निर्वाचन निर्देशिका निर्माण, क्रियाशील सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरण प्रक्रियालाई अन्तिम रूप दिने विषयमा छलफल हुने जनाइएको छ । साथै, महाधिवेशन तयारी समिति गठन, विभिन्न जिल्लाबाट आएका प्रतिवेदनमाथि छलफल, तथा केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन गर्ने कार्यसूची पनि तय गरिएको छ ।

महामन्त्री पौडेलका अनुसार बैठकमा वर्तमान सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेसको भूमिका थप प्रभावकारी बनाउनेबारे ठोस निर्णय लिइनेछ । तराई–मधेस क्षेत्रका पछिल्ला घटनाक्रम तथा सामाजिक सद्भाव कायम गर्ने विषयलाई समेत गम्भीरतापूर्वक छलफल गरिनेछ ।

सांगठनिक व्यवस्थापनअन्तर्गत सदस्यता व्यवस्थापन, जनसम्पर्क समितिका समस्या समाधान, तथा अन्य दलबाट आएका कार्यकर्ताको व्यवस्थापनसम्बन्धी विषय पनि बैठकको एजेन्डामा छन् । हाल १३ देशमा जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भइसकेको र बाँकी देशमा अधिवेशन सम्पन्न गर्ने तथा नयाँ देशलाई स्वीकृति दिने प्रस्ताव पनि प्रस्तुत गरिएको छ ।

यसका अतिरिक्त प्रदेश सरकारहरूको राजनीतिक अवस्था, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको विधान स्वीकृति लगायतका विविध विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०८३ श्रावण २४, १७: ०२

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०८३ श्रावण २४, १७: ०२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०८३ श्रावण २४, १७: ०२

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...