
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार सञ्चालनमा देखिएको शासकीय अराजकता, विधिको शासन, आर्थिक अनुशासन, नागरिकका दैनिक समस्या तथा राजनीतिक स्थिरताका विषयमा सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको समापनमा बोल्दै थापाले सरकारलाई असफल बनाउने उद्देश्य कांग्रेसको नभएको स्पष्ट पार्दै सरकारका कामको गुण र दोषका आधारमा प्रश्न उठाउने बताएका हुन्।
थापाले केही दिनअघि आफ्नो घर अगाडि गाडी तेर्स्याउन नेपाल प्रहरीकै व्यक्ति प्रयोग भएको दाबी गर्दै त्यसलाई शासकीय अराजकताको उदाहरणका रूपमा प्रस्तुत गरे। उनका अनुसार आफ्नो घरमा आगजनी भएपछि निजी सम्पत्तिमा थप क्षति नहोस् भन्नेमा आफू र परिवार सचेत थिए। त्यसै क्रममा घर जाने बाटोअगाडि एउटा गाडी रोकिएको र उक्त गाडीबारे बुझ्न परिवारका सदस्य ट्राफिक कार्यालय पुगेको उनले बताए।
“मेरो जलाइएको घरअघि गाडी राखियो । निजी सम्पत्ति थियो, क्षति पुग्नुहुँदैन भन्नेमा सचेत थिएँ,” थापाले भने, “मेरो परिवारका सदस्य ट्राफिक कार्यालय गएर प्रश्न सोध्नुभयो– यो गाडी कसको हो ? हामी जान्न चाहन्छौँ । तर हामीलाई बताइएन । केहीबेरपछि एकजनाले म चालक हो भन्नुभयो । चालक बनेर आउने व्यक्ति प्रहरी हुनुहुन्थ्यो।”
गाडीको वास्तविक मालिक उपस्थित नभएको तर चालकका रूपमा प्रहरीका व्यक्ति आएको दाबी गर्दै थापाले सरकारलाई शासकीय अनुशासनमा रहेर काम गर्न आग्रह गरे। उनले राज्यका संयन्त्रलाई व्यक्तिगत वा राजनीतिक स्वार्थअनुसार प्रयोग गर्ने प्रवृत्ति बढ्दै गए त्यसले शासन प्रणालीप्रति नै अविश्वास पैदा गर्ने चेतावनी दिए।
“यो शासकीय अराजकता हो,” थापाले भने, “शासकीय अराजकता रोकिएन भने यसले निल्छ।”

थापाले विधिको शासन र कानुनको शासनलाई एउटै अर्थमा बुझ्न नहुने भन्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई यस विषयमा विशेष ध्यान दिन आग्रह गरे। प्रधानमन्त्रीले विधिको शासनलाई आत्मसात् गरेर सरकार सञ्चालन गरे अपेक्षित परिणाम हासिल गर्न सक्ने उनको भनाइ छ। तर कानुनलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्ने सोच राखिए त्यसको परिणाम सरकारकै लागि घातक हुने थापाले चेतावनी दिए।
“प्रधानमन्त्रीजीले यो कुरा बुझ्नुहोस् भन्ने हाम्रो आग्रह छ । ‘रुल अफ ल’ र ‘रुल बाइ ल’ सुन्दा एउटै सुनिन्छ । तर यो फरक कुरा हो,” थापाले भने, “विधिको शासनलाई प्रधानमन्त्रीले समात्नुभयो भने अपेक्षित नतिजा पाउनुहुन्छ । तर म विधिको शासन होइन, कानुनले शासन गर्छु, कानुनलाई टुलको रूपमा प्रयोग गर्छु भन्ने सोचाइ राख्नुभयो भने त्यसमा खनिएको खाल्डोमा अन्ततः तपाईं आफैँ पर्नुहुन्छ।”
उनले राज्य सञ्चालनमा शासकीय अनुशासन र विधिको शासनलाई आधार बनाउनुपर्नेमा जोड दिए। सरकारका निर्णय र गतिविधि कानुनसम्मत हुनु मात्र पर्याप्त नभई शासन सञ्चालनको समग्र प्रक्रिया पारदर्शी, उत्तरदायी र विधिसम्मत हुनुपर्ने उनको भनाइ थियो।
कांग्रेस सभापति थापाले आफूहरू प्रतिपक्षमा रहे पनि सरकारको दुस्मन नभएको दोहोर्याए। सरकारका कमजोरी औँल्याउनु र प्रश्न गर्नुको उद्देश्य सरकारलाई असफल बनाउनु नभएको उनको भनाइ छ।
“हामी सरकारलाई असफल बनाउन होइन, सचेत गराउन चाहन्छौँ,” भन्ने भावमा थापाले सरकारका कामप्रति कांग्रेसले निरन्तर निगरानी राख्ने बताए। नागरिकका समस्या समाधान गर्ने सवालमा सरकारसँग आफूहरू साझेदार बन्न तयार रहेको उनको भनाइ थियो।

उनले आर्थिक अनुशासनको विषयमा पनि सरकारलाई सचेत गराए। मुलुकको आर्थिक स्थिरता, सरकारी खर्च, वित्तीय अनुशासन र आम नागरिकको आर्थिक अवस्थाका विषयमा सरकार गम्भीर बन्नुपर्ने उनले बताए। आर्थिक क्षेत्रमा देखिने असन्तुलन र अव्यवस्थाको प्रत्यक्ष असर नागरिकको दैनिक जीवनमा पर्ने भएकाले सरकारले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
थापाले पछिल्लो समय ग्यासको अभावले आम नागरिकले समस्या भोग्नुपरेको विषय पनि उठाए। दैनिक उपभोगका अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्नु सरकारको प्राथमिक जिम्मेवारी भएको भन्दै उनले नागरिकलाई अनावश्यक दुःख दिने अवस्था सिर्जना हुन नहुने बताए।
कांग्रेस सभापति थापाले वर्तमान सरकारलाई राजनीतिक स्थिरताका लागि पूरा पाँच वर्ष चल्न दिनुपर्ने धारणा पनि राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार पाँच वर्षसम्म निर्वाध चल्नुपर्ने र आगामी निर्वाचन पनि यही सरकारले गराउनुपर्ने उनको भनाइ छ।
केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै थापाले सरकारको आन्तरिक विषयमा कांग्रेसले खेल्ने प्रयास नगर्ने स्पष्ट पारे।
“रास्वपाको सरकार पाँच वर्षसम्म निर्वाध चल्नुपर्छ । अर्को चुनाव यही सरकारले गर्नुपर्छ । आन्तरिक कुरामा खेल्न चाहँदैनौँ, खेल्दैनौँ,” थापाले भने, “सो चुनावमा हामी बलियो बनेर उभिन्छौँ, आउँछौँ।”
उनले विगतमा बहुमत प्राप्त सरकारसमेत आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसक्दा अस्थिर बनेको उल्लेख गरे। विपक्षी दलले पनि सरकार कमजोर बनाउँदा आफूलाई राजनीतिक लाभ हुने सोचका साथ खेल्ने प्रवृत्तिले लोकतन्त्र र मुलुकले ठूलो मूल्य चुकाउनुपरेको उनको विश्लेषण थियो।
“बहुमतका सरकारमा द्वन्द्वको व्यवस्थापन गर्न सकेनन्,” थापाले भने, “सरकार चलाउने दलमा विपक्षीले पनि लाभ हुने सोचे, खेले । जसले मूल्य डेमोक्रेसी र देशले चुकाउनुपर्यो।”
यसपटक कांग्रेसले त्यस्तो भूमिका नखेल्ने संकेत गर्दै थापाले सरकारका सकारात्मक काममा आवश्यक सहयोग र गलत काममा प्रश्न गर्ने नीति अपनाउने बताए। उनका अनुसार प्रतिपक्षको भूमिका सरकार गिराउने खेलमा सीमित हुनु हुँदैन; लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षले सरकारलाई उत्तरदायी बनाउन निरन्तर निगरानी र खबरदारी गर्नुपर्छ।
थापाले मधेशसँग सम्बन्धित विभिन्न समस्या समाधान गर्न पनि सरकारलाई आग्रह गरे। मधेशका नागरिकसँग जोडिएका समस्या, माग र सरोकारलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।
देशको कुनै पनि भूगोल वा समुदायका समस्या लामो समयसम्म थाती राख्दा त्यसले राजनीतिक तथा सामाजिक असन्तुष्टि बढाउन सक्ने भन्दै उनले सरकारले संवाद र समाधानको बाटो रोज्नुपर्ने बताए।
कांग्रेस सभापति थापाले संस्थापन इतर समूहको भेला र गतिविधिबारे पनि आफ्नो धारणा सार्वजनिक गरे। पार्टीको विधान र विधिभन्दा बाहिर गएर गरिएका भेलाबाट भएका निर्णयलाई कांग्रेसको आधिकारिक निर्णयका रूपमा स्वीकार गर्न नसकिने उनको भनाइ छ।
पार्टीका विभिन्न समूह र नेताहरूले आयोजना गरेका भेलाका विषयमा आफूले ध्यानपूर्वक सुनेको उल्लेख गर्दै थापाले पार्टीको आधिकारिक संरचना र विधानअनुसार मात्रै गरिएका निर्णयले संस्थागत मान्यता पाउने बताए।
उनले कांग्रेसको आगामी महाधिवेशनको तयारीतर्फ पनि संकेत गरे। भदौ १६ देखि पार्टीको महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढ्ने उल्लेख गर्दै उनले १५औँ महाधिवेशनमा आफूले राजनीतिक प्रस्ताव आफैँ पेस गर्ने बताए।
उनले असोजमा महाधिवेशन सकेर देशभरका वडा वडामा पुग्न चाहेको उल्लेख गरे।
पार्टीभित्र आफ्नो आलोचना गर्नेहरूप्रति पनि थापाले संयमित प्रतिक्रिया दिएका छन्। आफूलाई जति गाली गरे पनि त्यसको जवाफ गालीबाटै नदिने उनको भनाइ थियो।
“फोहोरमा हात हाल्दा आफू पनि फोहरी भइन्छ,” भन्ने धारणा राख्दै उनले केन्द्रीय समितिका सदस्यहरूलाई पनि आफ्नो मर्यादामा रहेर अघि बढ्न आग्रह गरेको बताए। आफ्नो आग्रहअनुसार बैठकमा कसैले पनि त्यस्तो प्रकारको गालीगलौज नगरेको उनले उल्लेख गरे।
पार्टी नेतृत्व र आफ्नो लोकप्रियतामाथि उठाइने प्रश्नप्रति पनि थापाले चुनौतीपूर्ण ढंगले प्रतिक्रिया दिएका छन्। आफ्नो अनुहारका कारण पार्टीलाई मत नआएको भन्ने तर्क गरिने हो भने आगामी महाधिवेशनबाट आफूलाई हराएर त्यसको राजनीतिक परिणाम देखाउन सकिने उनको भनाइ थियो।
“मेरो अनुहार हेरेर मत नआएको भए महाधिवेशनबाट मलाई हराएर अनुहार बिग्रेको देखाए भो त,” भन्ने आशयमा थापाले पार्टीभित्र नेतृत्वको वैधता र जनमतको विषयलाई महाधिवेशनबाटै परीक्षण गर्न सकिने बताए।

उनले पार्टीभित्रको विवादलाई अनावश्यक रूपमा तन्काएर कांग्रेसलाई कमजोर बनाउन नहुने पनि संकेत गरे। विशेष महाधिवेशनको बहसदेखि आम निर्वाचनसम्म आइपुग्दा धेरै राजनीतिक घटनाक्रम अघि बढिसकेको भन्दै अब पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नु आवश्यक रहेको उनको भनाइ थियो।
विशेष महाधिवेशनको विषयमा पनि थापाले लामो समय विवाद गरिरहनुको औचित्य नरहेको धारणा राखे। विशेष महाधिवेशन सम्पन्न भइसकेपछि आम निर्वाचनसम्मको राजनीतिक प्रक्रिया अघि बढिसकेको अवस्थामा अब पार्टीभित्र थप विवाद सिर्जना गर्नुको सट्टा संगठन सुदृढीकरण र आगामी राजनीतिक चुनौतीमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
कांग्रेस सभापति थापाले पार्टीभित्र एकता कायम गर्न प्रयासरत नेताहरूको पनि प्रशंसा गरे। पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद र विभाजनलाई मिलाउने प्रयास गर्दै आएको भन्दै उनले उनीहरूप्रति सम्मान व्यक्त गरे।
पार्टीमा मतभिन्नता हुनु स्वाभाविक भए पनि त्यसलाई संस्थागत विभाजनमा परिणत हुन नदिन नेतृत्व र सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको संकेत थियो। कांग्रेसलाई आगामी राजनीतिक प्रतिस्पर्धाका लागि बलियो बनाउन आन्तरिक एकता अपरिहार्य रहेको थापाको भनाइ थियो।
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको...
काठमाडौं : सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका ११ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा गरिने मुख्य काम तथा हासिल गर्नुपर्ने उपलब्धिलाई लक्षित गर्दै मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता...