बाढी प्रभावितलाई कांग्रेसको एक करोड सहयोग – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

बाढी प्रभावितलाई कांग्रेसको एक करोड सहयोग

काठमाडौं : रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त रकम बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो ।  उक्त प्रतिनिधिमण्डलमा महामन्त्री पौडेलका साथै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य लगायतका नेताहरू रहेका थिए ।

केही दिनअघि रसुवा र नुवाकोट क्षेत्र हुँदै बग्ने भोटेकोशी, त्रिशूली नदीलगायतका स्थानमा आएको भीषण बाढीले त्यस क्षेत्रमा ठुलो जनधनको क्षति गरेको थियो । बाढीका कारण कैयौं घरपरिवार विस्थापित हुनुका साथै भौतिक संरचनामा व्यापक नोक्सानी भएको छ ।

विपद्को घडीमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित बास स्थानको व्यवस्थापनमा सघाउ पुर्‍याउने उद्देश्यले कांग्रेसले उक्त रकम सरकारलाई उपलब्ध गराएको महामन्त्री पौडेलले जनाएका छन् ।

रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले संकटको अवस्थामा नेपाली कांग्रेस सम्पूर्ण बाढीपीडित नागरिकको साथमा रहेको बताए ।

बाढीपहिरोका कारण सुरुङमार्ग लगायतका विभिन्न स्थानमा फसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । ‘सुरुङमा फसेका र अलपत्र परेका नागरिकको उद्धार कार्यमा जुन ढिलासुस्ती देखिएको छ, यसलाई तत्काल सच्याएर उद्धारलाई तीव्रता दिन म सरकारसँग आग्रह गर्दछु,’ पौडेलको भनाइ थियो ।

त्रिशूली र भोटेकोशी आसपासका प्रभावित बासिन्दाको उद्धार र भत्किएका पूर्वाधारहरूको पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाउन समेत उनले माग गरेका छन् । राहत वितरण पारदर्शी बनाउन र अबको समग्र विपद् व्यवस्थापनलाई थप चुस्त तथा प्रभावकारी बनाउन उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

विपद् व्यवस्थापन, बेपत्ताहरूको खोजी र विस्थापितहरूको दीर्घकालीन पुनर्स्थापनामा सरकारलाई आवश्यक पर्ने हरेक सहयोग गर्न पार्टी तयार रहेको महामन्त्री प्रदीप पौडेलले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अन्य सहयोगका लागि पार्टीका विभिन्न संरचना परिचालन गर्दै उल्लेख्य योगदान गरेको छ ।

सभापति गगन थापाको नेतृत्वमा सरकारलाई सुझाव तथा सल्लाह दिने, दबाब दिने, ध्यानाकर्षण गराउने लगायतका कार्य भएका छन् भने सभापति थापा दुईपटक घटनास्थलको अवलोकन गरेर पनि फर्किएका छन् ।

सम्बन्धित समाचार

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
  • २०८३ भाद्र २२, १५: १६

काठमाडौं : नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध...

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
  • २०८३ भाद्र २२, १५: १६

काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर...

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
  • २०८३ भाद्र २२, १५: १६

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैं पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५...