इतर पक्षलाई मधु आचार्यको चेतावनी- अदालतमा रहेको पुनरावलोकन मुद्दा पाँच दिनभित्र फिर्ता फिर्ता नलिए प्रक्रिया अगाडि बढाउन सकिँदैन – Naya Bikalpa
September 12, 2026, Saturday      Epaper

इतर पक्षलाई मधु आचार्यको चेतावनी- अदालतमा रहेको पुनरावलोकन मुद्दा पाँच दिनभित्र फिर्ता फिर्ता नलिए प्रक्रिया अगाडि बढाउन सकिँदैन

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय सदस्य मधु आचार्यले प्रस्तुत धारणाले वर्तमान सरकारमाथि कडा आलोचना गर्दै पार्टीको भूमिकालाई सशक्त रूपमा उठाएको छ।

आचार्यले भोटेकोसी क्षेत्रमा आएको बाढीको सन्दर्भमा कांग्रेसले प्रारम्भदेखि नै सक्रिय भूमिका खेलेको उल्लेख गर्दै सरकार भने राहत तथा उद्धारमा अपरिपक्व, असफल र पूर्वाग्रही देखिएको आरोप लगाए। उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय तहका जनप्रतिनिधिहरूको योगदानको उच्च प्रशंसा गरे पनि संघीय सरकारले प्रदेश र स्थानीय तहको संवैधानिक भूमिकालाई बेवास्ता गर्दा पीडितहरू थप समस्यामा परेको बताए।

उनका अनुसार सरकारको कमजोर रणनीतिका कारण समयमै उद्धार हुन नसक्दा मानवीय क्षति बढेको दाबी गरिएको छ। यस्तो अवस्थामा “जलवायु न्याय” र “नमूना एकीकृत वस्ती विकास” जस्ता मुद्दालाई प्राथमिकतामा राख्न उनले पार्टीलाई आग्रह गरेका छन्।

पार्टी एकताको सन्दर्भमा आचार्यले अदालतमा रहेको पुनरावलोकन मुद्दा पाँच दिनभित्र फिर्ता लिन सम्बन्धित नेताहरूलाई आह्वान गरेका छन्। साथै, संगठन सुदृढीकरणका लागि वार्षिक रूपमा प्रदेशदेखि वडा तहसम्मका भेलाहरू आयोजना गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

उनले पार्टीका सबै तहका नेतृत्व प्रत्यक्ष रूपमा क्रियाशील सदस्यबाट निर्वाचित हुने व्यवस्था गर्नुपर्ने, जिम्मेवारी निर्वाहको अनुगमन गर्ने बलियो संयन्त्र बनाउनुपर्ने र वडा तथा पालिका तहलाई अझ शक्तिशाली बनाउनुपर्ने धारणा राखे।

त्यस्तै, प्रजातन्त्र सेनानी, द्वन्द्व पीडित र सहिद परिवारलाई छुट्टै क्लष्टरको रूपमा व्यवस्थापन गर्न, सदस्यता प्रक्रिया पारदर्शी बनाउन र आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्नुपर्नेमा उनले जोड दिएका छन्।

आचार्यले पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा, घात–अन्तर्घात र दुई दर्जाको सदस्यताको अन्त्य गर्दै सांस्कृतिक रूपान्तरण आवश्यक रहेको बताए। साथै, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको प्रतिनिधित्वलाई निरन्तरता दिँदै संगठनलाई समावेशी र उत्तरदायी बनाउनुपर्ने उनको भनाइ छ।

उनले गगन थापाको नेतृत्वमा पार्टीलाई अझ प्रगतिशील र जनमुखी बनाउँदै आगामी महाधिवेशनलाई ऐतिहासिक बनाउन आह्वान गरेका छन्।

बैठकमा आचार्यले प्रस्तुत गरेको विचार जस्ताको तस्तै :

१. नेपाली कांग्रेसले भोटेकोसी बाढीको सन्दर्भमा डे-वानदेखि जुन भूमिका खेल्यो, जिम्मेवार प्रतिपक्षको गरिमा बढाएको छ। राहत र उध्दार कर्ममा वर्तमान सरकार अपरिपक्व, असफल र पूर्वाग्रही देखिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा जनताको सबैभन्दा नजिक रहेको स्थानीय सरकार र त्यहाँका जनप्रतिनिधिको बाढी प्रभावित क्षेत्रमा रातोदिनको खटाई र भूमिकाको भने उच्च सह्राहना गर्नुपर्दछ। वर्तमान सरकारले स्थानीय र प्रदेश सरकारको संवैधानिक महत्वलाई उपेक्षा गरेका कारण पीडितलाई झन पीडित बनाएको छ। सरकारको तत्कालीन रणनीतिक कमजोरीका कारण हजारौं नागरिक बेलैमा उध्दार नपाएर ज्यान गुमाउँदै छन। राष्ट्रिय विपदको बेलामा सरकारले प्रदर्शन गरेको यस्ता गलत प्रवृत्तिको जोडदार प्रतिकार गर्न जरुरी छ। पार्टीले यतिखेर “जलवायु न्याय” र “नमूना एकीकृत वस्ती विकास” को मुद्दालाई प्राथमिकतासाथ उठाऔं।

२. ⁠पार्टीको वृहत्तर एकताका लागि क्रियाशील सदस्यताका सन्दर्भमा हामीले लचकता अपनाएर बलियो कदम अगाडि बढायौं। अदालतमा पुनरावलोकनको मुद्दा बोकेर जानुभएका श्रध्देय नेताहरु पनि पार्टी एकताको पक्षमा हुनुहुन्छ र पार्टी विभाजनका लागि उद्यत हुनुहुन्न भने पाँच दिन भित्र (आगामी शुक्रवारसम्म) मुद्दा फिर्ता लिएर पार्टी एकताको पूरक वातावरण बनाउनेतर्फ कदम चाल्न अनुरोध गर्दछु।

३. प्रत्येक वर्षको महासमिति बैठक अगाडि केन्द्रले नै प्रदेश भेला, जिल्ला सभापति भेला, प्रतिनिधिसभा सभापति भेला, प्रदेशसभा सभापति भेला, पालिका सभापति भेला र वडा सभापति भेला (प्रदेशगत) आयोजन गर्ने व्यवस्था गरौं।

४. ⁠नेपाली कांग्रेसको प्रत्येक तहको नेता सोझै क्रियाशील सदस्यको प्रत्यक्ष मतदानबाट निर्वाचित हुने व्यवस्था गरौं। यसले नेतृत्व र सदस्य बीच सोझो र पारदर्शी सम्वन्ध स्थापित गर्दछ। नेतृत्वलाई थप उत्तरदायी बनाउँछ र अपनत्व बृध्दी गर्दछ।

५. ⁠पार्टीको विधानमा क्रियाशील सदस्यदेखि केन्द्रीय सभापतिसम्म सबैको काम, कर्तव्य र अधिकार तोकिएको छ। बैठक प्रणालीको व्यवस्था छ। तर पद वा जिम्मेवारीमा बसेर जिम्मेवारी निर्वाह गरे नगरेको अनुगमन र मूल्यांकन गर्ने बलियो संयन्त्रको व्यवस्था खोई ? अनुशासनहीनलाई त अनुशासन समितिले कार्वाही गर्छ, कर्तव्य पूरा नगर्नेलाई कसले निगरानी गर्ने वा सचेत गराउने वा जिम्मेवारीबाट विदा गर्ने हो, विधानमै शक्तिशाली निकायको व्यवस्था गरौं।

६. ⁠पार्टी संगठनमा सबैभन्दा बढी शक्तिशाली वडा र पालिका कार्यसमितिलाई बनाऔं। कुशल संगठकहरुलाई जिम्मेवारीमा ल्याऔं। वडा सभापतिलाई पदेन प्रदेश अधिवेशन प्रतिनिधि र पालिका सभापतिलाई महाधिवेशन प्रतिनिधि बनाउन प्रस्ताव गर्दछु। प्रदेश क्षेत्रीय सभापतिलाई पनि महाधिवेशन प्रतिनिधि बनाऔं। उपमहानगरपालिका र महानगरपालिकाका सभापतिलाई महासमिति सदस्य बनाऔं। त्यसैगरी प्रत्येक उपमहानगरपालिकाबाट ५ जना र महानगरपालिकाबाट ७ जना महाधिवेशन प्रतिनिधि अतिरिक्त निर्वाचित हुने व्यवस्था गरौं।

७. ⁠प्रजातन्त्रसेनानी, द्वन्द्व पीडित र सहीद परिवारलाई छुट्टै क्लष्टरको रुपमा व्यवस्था गरौं। नेपाल ट्रेड युनियन कांग्रेससँग संवाद गरेर श्रमिक क्लष्टरको ट्रेड युनियन मैत्री परिभाषा वा ब्याख्या तय गरौं।

८. ⁠क्रियाशील सदस्यताको सूचीलाई जतिसक्दो चाँडो पार्टीपंक्ति बीच पारदर्शी सार्वजनिक गरौं। आवश्यक उजुरी लिने, छानवीन गर्ने अवसर दिएर अन्तिम प्रमाणीकरण गरौं।

९. ⁠हामीले कांग्रेस बदलिसकेका छैनौं। तर बदल्दैछौं र बदल्छौं, यो हामी जोडिदैगएका सबै सदस्यहरुको प्रतिवध्दता हो। पार्टी भित्र सुशासन कायम गर्न निश्चित मूल्य पध्दति (आन्तरिक लोकतन्त्र, निक्षेपण, पारदर्शिता, जवाबदेहीता र सहभागिता आदि) हाम्रा निर्णय प्रक्रिया, विधान र परिणाममा देखिनुपर्छ। लोकतन्त्रको आत्माको रुपमा रहेको ट्रेड युनियन अधिकारको पक्षमा पार्टी प्रष्टसँग मुखरित हुन र आवश्यक परे सरकारी दुस्साहसको विरुद्ध प्रतिकारमा समेत उत्रिन तयार हुनुपर्छ।

१०. ⁠पार्टी भित्र विगतको लिगेसीको रुपमा हामीले घात, अन्तर्घात, दुश्मनी, घृणालाई प्राप्त गरेका छौं। अस्वस्थ प्रतिस्पर्धा, अपमान र तेजोवधको सृंखलालाई अन्त गर्न पनि सिष्टम, मापदण्ड र समन्यायमा जोड दिंदै सांस्कृतिक रुपान्तरणमा काम गरौं।

११. ⁠पार्टी भित्र दुई दर्जाको सदस्य हुनुहुँदैन। कोही महाधिवेशन प्रतिनिधि बन्न वडादेखि अनुमोदित भएर आउनुपर्ने र कोही स्वतः महाधिवेशन बन्ने भन्ने हुन सक्दैन। सदस्यता चाहीं केन्द्रीय सदस्यले समेत हरेक वर्ष नवीकरण गर्नैपर्ने तर महाधिवेशन प्रतिनिधिको हैसियत चाहीं पुनः नवीकरण भएर आउनुनपर्ने कुरा स्वीकार्य हुँदैन। पार्टीमा विगतदेखि माग हुँदैआएको केन्द्रीय पदाधिकारी लगायत सबै केन्द्रीय सदस्य तल वडादेखि नै निर्वाचित भएर आउने व्यवस्थालाई सुनिश्चित गरौं।

१२. पार्टीको भात्रृ शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि आउने परम्परालाई निरन्तरता राखौं। सदस्य संख्याको आधारमा प्रतिनिधित्व तय गरौं।

१३. ⁠महिला संघमा लामो समयदेखि काम गरेका, गरिरहेका ब्यक्तिहरुलाई नेपाल महिला संघको तहगत जिम्मेवारीमा ल्याऔं। त्यसैगरी सबैलाई चित्तबुझ्दो मापदण्ड बनाएर नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, लोकतांत्रिक खेलकुद संघ लगायतलाई पूर्णता दिने काम गरौं।

१४. ⁠नेपालको क्रान्तिकारी, प्रगतिशील शक्ति नै नेपाली कांग्रेस हो। आफूलाई जनता, समयसापेक्ष बनाउँन प्रतिवध्द गगन थापाको नेतृत्वमा रहेको यो नेपाली कांग्रेसले आफूलाई थप तिखार्दै आफूलाई राष्ट्रियता, लोकतन्त्र, जनजीवनका सवालमा सापेक्षित क्रान्तिकारी र प्रगतिशील पुनः प्रमाणित गर्न तयार हौं। र आगामी महाधिवेशनलाई नीति र नेता निर्माणमा ऐतिहासिक बनाऔं।

जय नेपाल !

सम्बन्धित समाचार

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ भाद्र २३, ११: ५१

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। शनिबार...

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा
संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा
  • २०८३ भाद्र २३, ११: ५१

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान र पार्टीको विधानका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै...

निवर्तमान सहमहामन्त्री डिना उपाध्यायको संयोजनमा कांग्रेस एकै भएर १५औं महाअधिवेशन गराउने सहमति नजिक
निवर्तमान सहमहामन्त्री डिना उपाध्यायको संयोजनमा कांग्रेस एकै भएर १५औं महाअधिवेशन गराउने सहमति नजिक
  • २०८३ भाद्र २३, ११: ५१

काठमाडौं : नेपाली कांग्रेसले महाअधिवेनको तालिका सार्वजनिक गरे पश्चात् देउवा समुहमा रहेका २८ केन्द्रीय सदस्यहरुमध्ये २७ जनाले देउवालाई छाडेर मुल...