
दाङ- नागरिकलाई आयुर्वेदिक पद्दतिद्वारा उपचार सेवा दिनका लागि राप्ती र बबई गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन गरिएको छ ।
आयुर्वेदिक पद्दतिद्वारा नागरिकको उपचारमा सहयोग पुराउन राप्ती गाउँपालिकाको कार्यालय मसुरिया, राप्ती आयुर्वेदिक चिकित्सालय तुल्सीपुर र प्रादेशिक आयुर्वेदिक चिकित्सालय विजौरीको पहलमा राप्ती गाउँपालिका–२ लालमटियामा कविराजसहितको सेवा केन्द्र सञ्चालनमा आएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बिरामी भइहालेमा उपचार गर्ने प्रक्रिया मानव जातिको व्यवहारलाई परिवर्तन गर्ने उद्देश्यले आयुर्वेद चिकित्साको उत्पत्ति भएकाले यसको संस्थागत विकासमा जोड दिइएको बताए ।
आरोग्य सेवा केन्द्रमा खासगरी पेटका रोग, कमलपित्त, नाक, कान र घाँटी, शल्य चिकित्सा, श्वासप्रश्वास, छातिसम्बन्धी रोग, पायल्स, फिस्टुला, स्त्री चिकित्सा, महिनावारी गडबडीलगायतका रोगको उपचार गरिने चिकित्सक मदनकुमार विसीले जानकारी दिए । प्रारम्भिक चरणमा सामान्य उपचार सँगसँगै तत्कालै विशेष उपचार पद्दति शुरु गरिने चिकित्सक विसीको भनाइ छ । देउखुरी उपत्यकामा चौथो आयुर्वेदिक सेवा केन्द्र र दाङमा पहिलो नागरिक आरोग्य सेवा केन्द्रको रुपमा रहेको यस केन्द्रले राप्ती गाउँपालिका तथा आसपासका क्षेत्रका सेवाग्राहीलाई समेट्ने बताइएको छ ।
राजपुर गाउँपालिकामा दुई र गढवा गाउँपालिकाको गोबरडिहामा एउटा कविराजसहितको आयुर्वेदिक सेवा केन्द्र सञ्चालनमा रहेको र सेवा केन्द्रको सेवा गुणस्तर सुधार गर्दै लैजाने योजनासमेत रहेको बताइएको छ । बबई गाउँपालिका–६ कौशिलापुरमा पनि नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । यसअघि बबई गाउँपालिकामा सङ्घीय सरकारको सहयोगमा १५ श्ययाको अस्पताल हंसपुरमा गत मङ्सिर १५ गते शिलान्यास गरिएको थियो ।
त्यसैगरी हापुरेमा प्रदेश सरकारको सहयोगमा विशेषज्ञ स्वास्थ्य सेवासहितको अस्पताल निर्माणको तयारी भएको छ । गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले आयुर्वेद चिकित्सा पद्धतिमार्फत उपचारको थालनी गरेकामा खुशी व्यक्त गरे । सङ्घीय र प्रदेश सरकारले अस्पताल निर्माण तथा सञ्चालनका लागि प्रयास गरेको भन्दै सेवा केन्द्रमार्फत नागरिकले फाइदा लिनुपर्ने बताए । आरोग्य सेवा केन्द्रमा दुई कविराज र एक कार्यालय सहयोगीको दरबन्दी रहेको छ । केन्द्रमार्फत ४० प्रकारका औषधि वितरण गर्ने व्यवस्था मिलाइएको छ । रासस
काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक...
काठमाडौं, १ मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न...
काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...