मेडिकल कलेजले तोकिएको सिट सङ्ख्याभन्दा बढी भर्ना नगर्नूः सर्वोच्च – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मेडिकल कलेजले तोकिएको सिट सङ्ख्याभन्दा बढी भर्ना नगर्नूः सर्वोच्च

नयाँ विकल्प

काठमाडौं- सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी गैरकानूनीरुपमा भर्ना गर्न नपाउने फैसला गरेको छ।

न्यायाधीश अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाका पूर्णपाठमा मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान गर्न आदेशको माग गर्दै दायर गरेको रिट निवेदनमाथि उक्त फैसला गरेको हो।

जिल्ला सोनभद्र चोपान नगरपालिका–८ भारत स्थायी घर भई मोरङ विराटनगर उपमहानगरपालिका–५ स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्राली एमबिबिएस तहको पहिलो सत्रमा अध्ययनरत विद्यार्थी विनितकुमार वर्माले दायर गरेको रिट निवेदनमा उक्त फैसला आएको हो।

फैसलाको पूर्णपाठमा अदालतले चार बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ।

“अब उप्रान्त नेपालमा सञ्चालित मेडिकल कलेजले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी स्वदेशी वा विदेशी विद्यार्थी भर्ना नगर्नु नगराउनु”, फैसलाको पूर्णपाठमा भनिएको छ, “कुनै कारणवश बढी विद्यार्थी भर्ना गराएको देखिएमा तत्काल अर्को वर्षमा तोकिएको सिट सङ्ख्यामा नबढ्ने गरी सो अघिल्लो वर्षमा बढी भर्ना लिएको सिट सङ्ख्या बराबरका सिट नेपाल सरकारले प्रदान गर्ने अन्य छात्रवृत्तिसरह नै थप नेपाली विद्यार्थीलाई छात्रवृत्तिका रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउनु।”

अदाललते आदेश कार्यान्वयन भए नभएकोसमेत निरीक्षण र अनुगमन गरी आवश्यक कारवाही गर्न भनेको छ।

“उपर्युक्त बमोजिम सञ्चालित मेडिकल कलेजले प्रचलित कानून बमोजिम नेपाल सरकारको सरोकारवाला निकाय, नेपाल मेडिकल काउन्सिल र सम्बन्धित विश्वविद्यालयले तोकेको मापदण्ड एवं भर्ना सिट सङ्ख्याको पालना भए नभएको हेर्नु”, फैसलामा भनिएको छ, “यस सम्बन्धमा नियामक निकायको निर्णय, पत्र, निर्देशन तथा मापदण्ड र अदालतबाट कुनै आदेश भएको भए सो आदेश कार्यान्वयन भए नभएको नियमितरुपमा निरीक्षण एवं अनुगमन गरी आवश्यक कारवाही गर्नु गराउनु।”

अदाललते मेडिकल कलेजको निरीक्षण गर्न खटिएका व्यक्तिको सेवा शर्तअनुरुप निष्पक्षताका साथ कार्यसम्पादन भए वा नभएको हेर्न भनेको छ।

“मेडिकल कलेजको निरीक्षण गर्न खटिएका अधिकार प्राप्त अधिकारीबाट आफ्नो सेवा शर्त अनुरुप तथा निष्पक्षताका साथ कार्यसम्पादन गरे नगरेकाबारे अनुगमन गरी निजको कार्यसम्पादनको अभिलेख राख्नु”, फैसलामा भनिएको छ, “सम्बन्धित निकायको जिम्मेवार अधिकृतमार्फत राख्न लगाई निजमध्ये कसैको कार्य सम्पादनमा व्यक्तिगत स्वार्थ वा कुनै पनि प्रकारको अन्य कैफियत देखिएमा निजलाई भविष्यमा यस प्रकृतिको निरीक्षण कार्यमा संलग्न नगर्नु नगराउनु।”

अदालतते नोबेल मेडिकल कलेजले शैक्षिकसत्र २०७२/०७३ का लागि एमबिबिएस शैक्षिक कार्यक्रममा नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी भर्ना लिएको र पुनरावेदन अदालत पाटनको विसं २०७२ मङ्सिर १६ को आदेशबमोजिम गरेको नदेखिएकाले आगामी वर्षमा सम्बन्धित वर्षका लागि निर्धारित कूल सिट सङ्ख्यामा नबढ्ने भर्ना लिन भनेको छ।

“शैक्षिकसत्र २०७२/०७३ मा बढी भर्ना लिएका विद्यार्थी सङ्ख्याको पाँच भागको एक भाग सिट सङ्ख्याका दरले आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष सरकारले उपलब्ध गराउने नेपाली विद्यार्थीको छात्रवृत्ति सङ्ख्यामा थप गर्ने व्यवस्था मिलाउनु”, निर्देशनात्मक आदेशमा भनिएको छ, “आगामी वर्षमा नेपाल मेडिकल काउन्सिलले स्वीकृत गरेको सिट सङ्ख्याभन्दा बढी विद्यार्थी भर्ना गर्ने अन्य मेडिकल कलेजको हकमा पनि उपरोक्त निर्देशन अनिवार्यतः लागू हुनेछ।”

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ श्रावण २९, ०७: २०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ श्रावण २९, ०७: २०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ श्रावण २९, ०७: २०

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...