जिल्ला निर्वाचन अधिवेशन पछि दुवै नेता उत्साहित – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

जिल्ला निर्वाचन अधिवेशन पछि दुवै नेता उत्साहित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ५० भन्दा बढी जिल्लाको अधिवेशन सकिएको छ । जिल्ला सभापतिसहित जिल्ला कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको टुंगो लागिसकेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार १४ हिमाली जिल्लाको अधिवेशन असोजमै सम्पन्न भएको थियो ।

५० जिल्लाको परिणाम आउँदा सभापति शेरबहादुर देउवा पक्षको केही बढी देखिएको छ । देउवा पक्षले २७ जिल्लामा सभापति जितेको छ । त्यस्तै, २५ जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल र संस्थापन इत्तर समूहका नेताहरू निकटका नेता जिल्ला सभापतिमा चुनिएका छन् । त्यसैले दुवै पक्ष उत्साहित देखिन्छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार बरिष्ठ नेता रामचन्द्र पौडेलको पकड भएको भनिएको जिल्ला काश्कीमा सभापति देउवा निकटका किशोरदत्त बराल विजयी भएका छन् । उनले पौडेल समूहका सभापतिका प्रत्यासी सुदिपमोहन भट्टराईलाई ८० मतान्तरले पराजित गरेका हुन् । बरालले ९९५ मत ल्याउँदा भट्टराईले ९१५ मत मात्र ल्याएका थिए ।

दाङको जिल्ला सभापतिमा शंकर डाँगी विजयी भएका छन् । पहिलो चरणमा भएको सभापतिको निर्वाचनमा कसैले पनि बहुमत ल्याएका थिएनन् । त्यसैले पहिलो हुने शंकर र दोश्रो हुने भुपप्रसाद डाँगीबीच प्रतिष्पर्धा थियो । दुबै उम्मेदवारबीच दोश्रो चरणको मतदानको तयारी हुँदै गर्दा दोश्रो भएका भुपप्रसादले शंकरलाई समर्थन गरेपछि शंकर सर्वसम्मतले सभापतिमा निर्वाचित भएका हुन् ।

यता इलाममा संस्थापन पक्षका उम्मेदवार डम्वर खड्का सभापतिमा विजयी भएका छन् । तीन जना उम्मेदवारबीच प्रतिष्पर्धा हुँदा कसैले पनि बहुमत नल्याएपछि पहिलो र दोश्रो हुने उम्मेदवारहरु खड्का र भेषराज आचार्यबीच प्रतिष्पर्धा भएको थियो । आचार्य सिटौला समूहका हुन् ।

यस्तै, नुवाकोटमा नेता अर्जुननरसिंह केसीका भाई डा. केदारनरसिंह केसी रमेश महतसँग पराजित भएका छन् । केसीलाई महतले १० मतको अन्तरले पराजित गरेका हुन् । महतलाई सहमहामन्त्री डा. प्रकाशशरण महत, पूर्वसहमहामन्त्री डा. रामशरण महत र केन्द्रीय सदस्य बहादुर सिंह लामा लगायतका नेताको समर्थन थियो । महतले संस्थापन पक्षको समर्थन भए पनि उनी संस्थापनइत्तर पक्षमै खुलेका नेता हुन् । केसी पनि संस्थापनइत्तर पक्षकै हुन् ।

नवलपरासी (पश्चिम) मा भने पार्टीका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल ‘मुन्ना’ निकटका उम्मेदवार मोहनप्रसाद शर्मा सभापतिमा पराजित भएका छन् । उनलाई पौडेल समूहका अर्जनकुमार पोखरेलले पराजित गरेका हुन् । पोखरेललाई पूर्वसांसद बिक्रम खनाल र पूर्वसभासद देवकरण कलवारको समर्थन थियो ।

महामन्त्री पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा भने खड्क पोखरेल सभापतिमा सर्बसम्मत रुपमा बिजयी भएका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बढुको गृह जिल्ला दार्चुलामा ललितसिंह बोहोरा ६२० मत ल्याएर विजयी भएका छन् । उनले आफ्ना प्रतिष्पर्धी अमरसिंह धामीलाई ३११ मतान्तरले पराजित गरेका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीमा उनकै भाई रामकृष्ण खाँण सभापतिमा सर्बसम्मतले विजयी भएका छन् । गृहमन्त्री समेत रहेका नेता खाँण, संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति भरतप्रसाद साह, सांसद प्रमोद यादव र जिल्ला सभापति मोहम्मत अब्दुल रज्जाकबीच भएको छलफलपछि खाँणलाई सभापतिमा सर्बसम्मत गरिएको थियो ।

यता पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठको गृह जिल्ला स्याङ्जामा श्रेष्ठ निकटका संस्थापन पक्षका उम्मेदवार भागवत प्रकाश मल्ललाई पराजित गर्दै संस्थापनइत्तर पक्षका राजु थापा सभापतिमा बिजयी भएका छन् । उनले एक हजार ११७ मत ल्याएका थिए भने मल्ललले १ हजार ८५ मत ल्याएका थिए ।

पाल्पा जिल्ला सभापतिमा नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री हिमालदत्त श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन् । उनले संस्थापनइत्तर पक्षकै उम्मेदवार कृष्ण बस्याललाई धेरै मतान्तरमा पराजित गरेका हुन् । खसेको एक हजार ३१३ मतमा श्रेष्ठले ८९० मत पाएका थिए भने बस्यालले ४०३ मत मात्र पाएका थिए ।

यता ओखलढुंगा सभापतिमा तेजेन्द्र खनाल विजयी भएका छन् । उनले कांग्रेस पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको स्वकिय सचिव भएर लामो अनुभव लिएका नेता बालकृष्ण दाहाललाई हराएका हुन् ।

रुकुम पश्चिम जिल्लाको सभापतिमा प्रेमप्रकाश वली पुनः विजयी भएका छन् । डोटी सभापतिमा नरेन्द्रबहादुर सिंह, डोल्पा सभापतिमा दीपेन्द्रबहादुर शाही, जुम्ला सभापति कर्णबहादुर शाही र जाजरकोट सभापतिमा बेदराज सिंह निर्वाचित भएका छन् । तेह्रथुम सभापतिमा अर्जुनबहादुर तुम्बाहाङ्फे, मनाङमा शंकर गुरुङ र रोल्पा सभापतिमा किशोर आचार्य निर्वाचित भएका छन् ।

यस्तै, भोजपुरमा विनोद बान्तावा, डडेलधुरामा भीमबहादुर साउद, पाँचथरमा रुपनारायण जवेगु, प्यूठानमा विष्णुकुमार गिरी, अर्घाखाँचीमा केशव श्रेष्ठ, सल्यानमा केसबहादुर बिष्ट, लमजुङमा डा. टकराज गुरुङ र बैतडीमा चतुरबहादुर चन्द जिल्ला सभापतिमा निर्वाचित भएका छन् । चतुरबहादुर चन्द नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्ष पदबाट केही महिनाअघि राजिनामा दिएर बैतडीमा व्यस्त भएका थिए ।

यसअघि असोज महिनामै मुस्ताङको सभापतिमा पूर्ववाणिज्य मन्त्री रोमी गौचन थकाली, संखुवासभाको सभापतिमा पूर्वराज्यमन्त्री दिपक खड्का, रामेछापको सभापतिमा कान्छाराम तामाङ, दोलखाको सभापतिमा बर्मा लामा, गोरखाको सभापतिमा नन्दुप्रसाद न्यौपाने, कालिकोट सभापतिमा अम्मबहादुर शाही, बाजुरा सभापतिमा रामसिंह रावल, म्याग्दी सभापतिमा खम्बीर गर्बुजा निर्वाचित भइसकेका छन् ।

यी जिल्लामा अधिवेशन अझै बाँकी
एक नम्वर प्रदेशको मोरङमा हिजो आइतबार मतदान भइरहेको थियो भने धनकुटामा बिबाद छ । २ नम्वर प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र रौतहटमा कतै वडा र नगर एवम् कतै प्रदेश क्षेत्रिय अधिवेशन मात्रै भएको छ । रौतहट र रसुवाको बिबाद अझै समाधान भएको छैन ।

काठमाडौं जिल्लामा आईतबार सम्पन्न भएको छ भने ललितपुर जिल्लामा कुनै पनि उम्मेदवाहरुले बहुमत नल्याएकाले पहिलो र दोश्रो बढी मत ल्याउने जितेन्द्र श्रेष्ठ र रामकृष्ण चित्रकारबीच प्रतिष्पर्धा हुने थियो । पहिलो चरणको निर्वाचनमा पार्टीको संस्थापन पक्षका उम्मेदवारहरुबीच नै प्रतिष्पर्धा भएका थियो ।

वर्तमान जिल्ला सभापति मदनबहादुर अमात्य र ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनको समर्थनमा सभापतिको उम्मेदवार बनेका रामकृष्ण चित्रकारले ५०४ मत, पूर्वअर्थराज्यमन्त्री तथा तरुण दलका पूर्वसभापति उदय राणा र तरुण दलका वर्तमान अध्यक्ष जीतजंग बस्नेतको समर्थनमा उम्मेदवार बनेका जितेन्द्र श्रेष्ठले ४७१ मत र संस्थापन पक्षकै मिनकृष्ण महर्जनले ३३६ मत ल्याएका थिए ।

महर्जनले श्रेष्ठलाई समर्थन गरेपछि दोश्रो धेरै मत ल्याउने चित्रकारले श्रेष्ठसँग प्रतिस्पर्धा नगर्ने जनाएपछि जितेन्द्र श्रेष्ठलाई विजय घोषित गरियो ।

यस्तै, बागलुङ्मा पनि उम्मेदवार बनेका तीन प्रतिष्पर्धीमध्ये कसैको पनि बहुमत नआएपछि पुनः भोली मतदान हुने भएको छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकटका उम्मेदवार देउमान थेवे झापा जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

उनले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा निकटका राम कट्टेललाई पराजित गरेका हुन् । बर्दिया, बाँके, सप्तरी, सिन्धुपाल्चोक, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा विभिन्न तहको अधिवेशन हुने क्रममा छन् ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
  • २०७८ मंसिर १३, १२: ०७

काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
  • २०७८ मंसिर १३, १२: ०७

काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...

नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
  • २०७८ मंसिर १३, १२: ०७

काठमाडौँ ।  नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...