ओलीको निम्तामा ओली नै अनुपस्थित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विजयादशमी, दीपावली, छठ र नेपाल संवतको अवसरमा शनिबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमै चियापान कार्यक्रम गरेको छ । सधैँ टिकट काटेर मात्र भृकुटीमण्डपस्थित बगैचामा छिर्न पाइने भए पनि शनिवार सबैले निःशुल्क प्रवेश पाएका हुन् । भेटघाटको स्थल मानिने भृकुटीमण्डप शनिबार भने शुभकामना आदानप्रदान गर्ने स्थलको रुपमा परिणत भएको थियो । दिउँसो १ बजेदेखि चियापान कार्यक्रम भनिए पनि विहान ११ बजेदेखि नै नेकपाका कार्यकर्ता र शुभेच्छुकको बाक्लो भिँड प्रदर्शनीमार्गमा लागेको थियो ।
भिआइपी र सर्वसाधारण सबैका लागि खुला गरिएको उक्त चियापान कार्यक्रममा फरक फरक समय तोकिएको थियो । पार्टी कार्यकर्ता र सर्वसाधारणका निम्ति १२ बजे र विशिष्ट व्यक्तिका लागि ३ बजे तोकिए पनि चियापन कार्यक्रममा सर्वसाधारण र विशिष्ठ व्यक्तिलाई छुट्टाछुट्टै परिकार राखिएको थियो । सर्वसाधारणलाई चिया, केरा, लड्डु र निम्कीको व्यवस्था गरिएको थियो भने भिआइपीका लागि विशेष व्यवस्था गरिएको थियो ।
सर्वसाधारणलाई शुभकामना दिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, अन्य नेताहरू बामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, विष्णु पौडेललगायत नेताहरु बगौंचामा राखिएको कुर्सीमा बसेर नमस्ते फर्काइरहेका थिए । १ बजेबाट शुरू भएको चियापान दिउँसो ३ बजेसम्म सर्वसाधारणका निम्ति चल्यो । बगैंचाको पूर्वतिर भिआइपीका निम्ति छुट्टै मञ्च निर्माण गरिएको थियो । दक्षिणतिर छुट्टै सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरिएको हुँदा भिड जम्मा भइरह्यो ।
कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आउने र उनले केही व्यंग्यात्मक भाषणको आशा गरेर बसेका शुभेच्छुकहरु उनको कुरा सुन्न पाएनन् । चियापान कार्यक्रमको आखिरीतिर अर्थात बेलुकी ३ बज्दा मात्रै प्रधानमन्त्री ओली आफ्नै पार्टीले आयोजना गरेको चियापानमा सहभागी नहुँने जानकारी महासचिव बिष्णु पौडेलले दिएका थिए । निकै लामो प्रतिक्षापछि सबैले थाहा पाए प्रधानमन्त्री केपी शर्मा ओलीे स्वास्थ्यको कारण आउन नसकेको भनेर ।
चियापानमा कडा स्वयंसेवक राखिएको थियो । नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि आयोजना गरिएको पहिलो चियापान कार्यक्रमलाई स्वभावले धेरै संख्यामा सहभागी थिए । नेकपा सचिवालयका अनुसार ५० हजारलाई निम्ता दिइएको चियापान कार्यक्रममा व्यवस्थापन गर्न करिब तीन सय स्वयंसेवक खटाइएको थियो । अझ बढी स्वयंसेवक भिआइपी कार्यक्रमस्थलमा खटिएका थिए ।
भिआइपी कार्यक्रमस्थलमा पत्रकारहरुलाई समेत पौने ३ बजे मात्र प्रवेश दिइएको थियो । तर त्यसअघि केही पहुँचवाला पत्रकारहरू भने भिआइपी स्थलमा प्रवेश गरेर अन्तरवार्ता लिनसमेत भ्याएका थिए । अधिकांश पत्रकारले भने लामो समय गेटमै प्रतीक्षा गर्नुपरेको थियो । ढिलोगरी कार्यक्रमस्थलमा प्रवेश पाएका पत्रकारले भित्र प्रवेश गरिसकेपछि पनि केही समय मञ्चको छेउसम्म पनि जान दिइएको थिएन । स्वयम्सेवकहरुबीच नै राम्रो समझदारी नभएको हुँदा केही निम्तालुहरु समेत बाहिरबाटै फर्कनुपरेको थियो ।
चियापान कार्यक्रममा संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने ढिलोगरी सहभागी भए । यसअघि उनी कार्यक्रममा नआउने जानकारी दिइएको भए पनि कार्यक्रमको अन्तिमतिर भने उनी सहभागी भए । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले संचारकर्मीलाई एकताको खाँचो रहेको र त्यो सत्तापक्षको हातमा रहेको संक्षिप्त प्रतिक्रिया मात्र दिएका थिए ।
नेकपाले एकीकरणपछि पहिलो पटक आयोजना गरेको पहिलो चियापानमा भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, कांग्रेस नेता अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठ सहभागी थिए । यसैगरी मन्त्री, सांसदहरू, विभिन्न कुटनीतिक नियोगका प्रमुख, न्यायाधीशहरु, सुरक्षा निकायका प्रमुखहरू, नेपाल सरकारका सचिव, सहसचिवलगायत कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
चियापान कार्यक्रममा नेकपाका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता तथा उपप्रधानमन्त्री इश्वर पोखरेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतका नेताहरु उपस्थित भएनन् ।
डाक्टरले भनेपछि ओली गएनन्
प्रधानमन्त्री ओली अचानक बिरामी परेपछि उनी कार्यक्रममा जान नसकेका हुन् । रुघाखोकी, ज्वरो र भाइरलका कारण प्रधानमन्त्री ओली कार्यक्रममा उपस्थित हुन नसकेको प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिएका थिए । कार्यक्रममा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य भने उपस्थित भइन् । नेकपा महासचिव पौडेलले स्वास्थ्यमा समस्या देखिएका कारण प्रधानमन्त्री चियापानमा सहभागी भएको जानकारी दिँदै रुघा खोकी र छातीमा सामान्य समस्या देखिएका कारण प्रधानमन्त्रीज्यू सहभागी हुन सक्नुभएन भनेर बताएका थिए ।
शारीरिक रुपमा ओली उपस्थित नभए पनि भावनात्मक रुपमा यो चियापानमा उपस्थित हुनुभएको दाबी पौडेलले गरेका थिए । प्रधानमन्त्री ओली बिरामी भएर चियापान कार्यक्रममा नगए पछि पार्टीको सांगठनिक तथा भावनात्मक एकताबारे धेरैले शंका पनि गरेका थिए । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली काममा धेरै धपेडी भएपछि बिहीबार देखिनै अस्वस्थ भएका थिए । चिकित्सकले उनलाई शुक्रबार पुरै आराम गर्न सुझाव दिएका थिए । सोही सुझाव अनुसार शुक्रबार बोलाईएको मन्त्रिपरिषदको बैठक समेत स्थगित गरिएको थियो ।
नेकपा तथा प्रधानमन्त्रीको सचिवालयले समेत यसबारेमा बाहिर जानकारी गराउन चाहेको थिएनन्। तर बालुवाटार स्रोतले भने प्रधानमन्त्री गम्भीर बिरामी परेको दाबी गरेको छ । चियापानका पाहुनालाई प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गर्ने कार्यक्रम भए पनि प्रधानमन्त्री ओली अचानक बिरामी परेपछि दाहालले मात्र कार्यक्रमका अतिथिलाई स्वागत गरेका थिए ।
भित्र चियापान वाहिर कुटाकुट
भृकटीमण्डपको बगौंचामा चियापान चलिरहँदा बाहिर भने केही असन्तुष्ट कार्यकर्ताले कुटाई खाएका थिए । असन्तुष्ट समूह केन्द्रीय प्रचार समितिको नामबाट चियापान बहिस्कारको पर्चा छरिएपछि कुटिन पुगेका हुन् ।
कार्यक्रम स्थलमै ‘कथित चियापान बहिस्कार गरौं’ शीर्षक लेखिएको अपिल छर्नेमाथि नेकपाकै कार्यकर्ताले प्रहरीलाई अनुरोध गरी बाहिर निकाल्न पनि प्रहरी नमाने पछि स्वयम् सेवक र क्रुद्ध कार्यकर्ताले कुट्दै कार्यक्रम स्थलबाट बाहिर निकालेको थिए ।
पाँच बुँदामा माग राखिएको अपिलमा एमाले र माओवादी एकतामा कमजोरी भएकाले वैचारिक, सैद्धान्तिक, व्यावहारिक, सांगठनिक रुपमा ५०–५० अथवा समानताको सिद्धान्तमा एकता गर्नुपर्ने, अन्य वामपन्थी पार्टी लगायतलाई पनि एकता प्रक्रियामा ल्याउनुपर्ने थियो । पर्चामा सरकारको काम प्रभावकारी नभएकाले उच्चस्तरीय सरकार सञ्चालन कार्यदल गठन, नेकपा केन्द्रीय कार्यसमिति हचुवाको भरमा बनेको हुँदा तत्काल विघटन र जनजीविकाको सवालमा सरकार असफल भएको लगायत अपिलमा राखिएको थियो ।
वरिष्ठ नेताहरुको पदलोलुपता र व्यक्तिगत इच्छाका कारण कार्यकर्ताले मनभित्रबाट एकताको खुसीयाली मनाउन नसकेको असन्तुष्टि समेत उक्त अपिलमा लेखिएको थियो । कार्यक्रम चलिरहेकै बखत चियापान कार्यक्रम बहिष्कारको पर्चा वितरण गरिएको थियो । नेकपा असन्तुष्ट समूहको नामबाट विचरण गरिएको सो पर्चा पूर्व माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्य युवराज पौडेलेको नेतृत्वमा भएको थियो ।
नेकपा असन्तुष्ट समूहको नामबाट कार्यक्रम स्थलमा नै वितरण गरिएको सो पर्चामा नेकपा बाहिर रहेका सबै कम्युनिस्ट समूहलाई एकतामा ल्याउन सुझाव दिँदै वर्तमान सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाउँदै पर्चा छरिएको थियो । त्यसैगरी दुई पार्टी एकीकरणपछि बनेको केन्द्रीय समिति निर्माण गर्दा नातावाद, कृपावादलाई प्रश्रय दिएको हुँदा विघटनको माग गरिएको थियो । पार्टीलाई शुक्रबार मात्र निर्वाचन आयोगले आधिकारिकता दिइएको थियो । आधिकारिकता पाएको भोलिपल्टै नेकपाले भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...