कांग्रेस महासमिति बैठकमा केन्द्रीय नेतृत्वमाथि आक्रोश – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

कांग्रेस महासमिति बैठकमा केन्द्रीय नेतृत्वमाथि आक्रोश

नेताको अभिव्यक्ति ‘पार्टीमा एकता र घोचपेचमै सीमित’

काठमाडौं । नेपाली काँग्रेस महासमिति बैठक शनिबारबाट राजधानीमा शुरु भएको छ । बैठकको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका थिए ।

उद्घाटन कार्यक्रममा अधिकांस नेताहरुले शीर्ष नेताबीच एकता हुनु पर्ने धारणा राखेका छन् । उनीहरुले पार्टी नेताबीचको एकताले मात्र पार्टी बलियो हुने बताए । सबै नेताहरु पार्टीको संस्थापन पक्षको बचाउ र आलोचनामा केन्द्रीत भएर आफ्नो धारणा राखेका थिए ।

उनीहरुले पार्टीमा एकता कायम गर्न सके आगामी दिनमा कांग्रेस मुलुकको सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै अधिकांसले आगामी चार बर्षमा कांग्रेसले कुनै पनि हालतमा सत्ताको नेतृत्व गर्ने लक्ष्य लिनु पर्ने बताएका थिए ।

विधान बमोजिम महासमिति भएको बर्ष बाहेक प्रत्येक बर्ष हुनु पर्ने महासमिति बैठक ६ वर्षपछि भएको हो । गुट र व्यक्तिगत स्वार्थका कारण पार्टी धराशायी भएको संस्थापन पक्षले असन्तुष्ट नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाप्रति लक्षित गर्दै आलोचना गरेका थिए । तर, संस्थापनइत्तरका नेताहरुले भने नेतृत्वको कमजोरी र क्षमता नभएका कारण पार्टी संगठन कमजोर भएको र गत स्थानीय तथा संसदीय निर्वाचनमा पराजय भोगेको गुनासो गरेका थिए ।

सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउने भए एकता कायम गर्नू पर्ने बताए । उनले पार्टी नेतृत्वलाई गाली गर्नुभन्दा बर्तमान सरकारले गरेका गलत क्रियाकलाप र कमजोरीको बिरुद्ध बोल्न आग्रह गरे । उनले आफ्नो बिरोध गर्न बरिष्ठ नेता रामचन्द्र पौडेलदेखि सबैले पाइरहेकै छन् भन्दै आफूलाई गालि गरिरहनु भन्दा सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओली नेतृत्वको सरकार बिरुद्धमा लाग्न आग्रह गरे ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले भने पार्टी नेतृत्वको कमजोरीका कारण पार्टीले चुनावमा सफलता हासिल नगरेको बताए । उनले सरकारले जनताको समस्या सम्बोधन गर्ने भन्दा आफ्ना कार्यकर्तालाई राज्यकोषको दुरुपयोग गरी नव शोषक वर्ग जन्माउने बाटोमा अग्रसर भएको अरोप लगाए । आफ्नो सपना साकार पार्न जनताले नेपाली कांग्रेसलाई पर्खिरहेको उनको भनाइ थियो ।

पार्टीले वीपीको बाटो छाड्न नहुनेमा जोड दिदै नेता पौडेलले भने– हामी अर्को चुनावमा हारलाई जितमा परिणत गर्न चाहन्छौं । त्यसका लागि हामी बैचारिक रुपमा एक हुनुपर्छ। सबै कुरामा एकता गरेर जनताको विचमा जानु छ । उनले आफू पार्टी एकताको अवरोधक नभएको भन्दै आत्मैदेखि मिल्ने कुराको पक्षमा आफू सधै खुलेर लाग्ने गरेको दाबी गरे ।

कांग्रेसका उपसभापति विमलेन्द्र निधिले एकअर्कालाई दोष लगाउने भन्दा पार्टी एक जुट बनाउन सबै नेताहरुले ध्यान दिनु पर्नेमा जोड दिएका छन् । उनले संगठनको सुदृढिकरणमा जोड दिदै ७७ जिल्लामै कांग्रेसले आफ्नो उपस्थिति बढाउन नेतादेखि कार्यकर्ता सक्रिय बन्नु पर्नेमा जोड दिए । उनले कांग्रेसले जनताको पक्षमा र सरकारको गलत कामको विपक्षमा भण्डाफोर गर्ने बताए ।

सरकारले आफ्नो मनमौजी तरिकाले काम गर्न थालेको भन्दै निधीले अब कांग्रेस सहेर नबस्ने चेतावनी दिए । सांगठनिक रुपमा सरकारका गलत कदमविरुद्ध मुकाविला गर्न तर्फ ध्यान केन्द्रित गर्नुपर्ने भन्दै नेतृत्वले कार्यकर्ता परिचालन गर्नुपर्ने बताए ।

उपसभापति विमलेन्द्र निधिले भने पार्टी एक बर्ष अघि भएको निर्वाचनको समिक्षा गर्ने नाममा समय व्यतित गर्नु भन्दा अब चुनाव जित्न के गर्नु पर्छ भनेर गृहकार्य गर्नुपर्ने बेला आएको बताए । पौडेलले क्रिस्चियन धर्मको प्रचार गर्न एमालेका बरिष्ठ नेताले होली वाइन खाएर साम्यवाद ल्याउने बाटो सम्भव नभएको बताए । उनले कम्युनिष्ट नेताको त्यस्तो पाखण्डपनको भण्डाफोर गर्न आव्हान गरे ।

अर्का उपसभापति विजयकुमार गच्छदारले पार्टीलाई एक ढिक्का बनाउन नेताहरु नै सबैभन्दा पहिला मिल्नु पर्ने बताए । उनले कांग्रेस एकजना र एउटा कारणले मात्रै कमजोर नभएको भन्दै सबैले कमजोरी स्विकार्नु पर्ने बताए । उनले महासमिति बैठकबाट पार्टी एक ढिक्का भएर अघि बढ्नु पर्नेमा जोड दिएका छन् । उनले दुई नेताबीच ब्यक्तिगत रुपमा देखिएको प्रेम पार्टीमा पनि देखाउन सुझाव दिए ।

उनले नेकपा र त्यसको नेतृत्व र माधव नेपालको चर्को आलोचना गरेका थिए । उनले कांग्रेसकै कृपाका कारण नेता नेपाल प्रधानमन्त्री बनेको बताए । आफूलाई नेकपामा आउनका लागि ओली र प्रचण्डले आग्रह गरेको तर आफू आफ्नो पुरानै घर फर्किएको बताए । आफू मधेश भन्दा देशलाई माया गर्ने व्यक्ति भएको र कांग्रेस बनाउन पुनः फर्किएको प्रष्टिकरण दिए ।

उपसभपाति विजयकुमार गच्छदारले पार्टीका दुई शीर्ष नेताहरु देउवा र पौडेलबीच सहमति भएमा आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने दाबी गरे । उनले पार्टी नेताबीच एकता भएमा ओली नेतृत्वको सरकारलाई पाँच बर्ष पनि पुग्न नदिइ ढाल्ने चेतावनी दिए । उनले कांग्रेसले चाहेमा दुइ ठाउँमा पराजित भएका माधव नेपाललाई प्रधानमन्त्री बनाएको इतिहास सुनाउँदै एक पटक चुनाव हार्दैमा निरास नहुन नेता रामचन्द्र पौडेललाई आग्रह गरे ।

महामन्त्री डा. शशांक कोइरालाले पार्टी भित्रको गुट र उपगुटको अन्त्य गर्दै पार्टी भित्र बृहत एकताबाट मात्र कांग्रेसलाई जगाउने र उठाउने दाबी गरे । उनले हिँउँदमा पात सुके पनि रुख नसुक्ने भन्दै फेरि सबै एकजुट भएर कांग्रेसलाई जोगाउन सकिने वताए । कोइरालाले वीपीले ओहदाभन्दा पनि योगदानलाई स्मरण गरेको भन्दै अहिलेका नेताहरुले पनि पद र ओहोदाभन्दा आफ्नो योगदानमा बढी ध्यान दिनु पर्ने बताए । उनले देशका कुनाकाप्चामा बसेर पार्टीको लागि योगदन गर्ने कार्यकर्ताहरुको उचित सम्मान हुनुपर्ने बताए ।

महामन्त्री कोइरालाले सरकार कमजोर बनेका कारण हत्याका शृंखला बढेको, महंगी बढेको, भ्रष्टाचार मौलाएको टिप्पणी गरे । वुद्धिजीवीको अपमान गर्ने, सबै क्षेत्रमा अराजकता मच्चाउने, क्रिस्चियन संस्थाको आयोजक बन्ने सरकारका कारण जनता धेरै निराश भएको उनको भनाइ थियो । स्थापनाकालदेखि नै धर्म स्वतन्त्रताको पक्षमा रहेको कांग्रेस सबैको धर्म संरक्षणमा कटिवद्ध रहेको स्पस्ट पारे ।

अर्का महामन्त्री पूर्णबहादुर खड्काले शीर्ष नेताबीचको एकताले नै पार्टीलाई आगामी दिनमा पहिलो र बलियो बनाउने बताए । उनले हरेक परिवर्तनको नेतृत्व गरेको कांग्रेसले महासमितिको बैठकबाट दीर्घकालिन निर्णय गर्ने विश्वास व्यक्त गरे । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेतृत्वप्रति चर्काे असन्तुष्टि व्यक्त गरे । उनले नेताहरुमा रहेको असन्तुष्टि सम्बोधन गर्नुपर्ने र नेतृत्वले एकलौटी शैली त्याग्नु पर्नेमा जोड दिए ।

महासमितिबाट कांग्रेसले गति लिनुपर्ने र त्यसका लागि महासमिति सदस्यले व्यक्ति र शक्तिभन्दा माथि उठेर निर्णय लिनु पर्नेमा जोड दिए । सरकार यति कमजोर र निकम्मा भइरहेका बेला कांग्रेसले आफ्नो भूमिका देखाउनु पर्ने उनको भनाइ थियो । सिटौलाले कांग्रेस जनतामाझ जान धेरै ढिलो भइसकेको भन्दै अब चुप लागेर बस्न नहुने बताए ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि नेतृत्वले आफ्नो कार्यशैली सच्याउनु पर्नेमा जोड दिए । महासमितिले दिएका सुझाव र गरेका निर्णयलाई नेतृत्वले हुबहु कार्यान्वयन गर्नु पर्ने उनको भनाइ थियो । इतिहासमै सबैभन्दा कमजोर बनेको कांग्रेस अब पनि नउठे सधै पछि पर्ने बताए ।

पार्टीका पूर्वमहामन्त्री केबी गुरुङले कांग्रेसलाई किन भोट दिने? भन्ने प्रश्नको निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिए । उनले वीपीको बाटो बिर्सिएकै कारण कांग्रेसले आजको दिन भोग्नु परेको टिप्पणी गरे । कांग्रेसप्रति जनताको माया आज पनि उस्तै भएपनि नेतृत्वले यसलाई क्यास गर्न नसक्दा समस्या भएको बताए ।

कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाटले सात सालदेखि प्रजातान्त्रिक आन्दोलनको अगुवाइ गर्दै आएको कांग्रेस आज रुनु पर्ने अवस्था किन आयो ? यसको समीक्षा गर्नुपर्नेमा जोड दिए । उनले नेतृत्वले कमजोरी स्वीकार्नु पर्ने र गुट सधैका लागि समाप्त पार्नु पर्ने बताए ।

पूर्वसहमहामन्त्री कांग्रेस नेता डा. रामशरण महतले पार्टी आन्तरिक विवाद र गुटमा अल्झिएका कारण झनै कमजोर बन्दै गएको टिप्पणी गरे । आन्तरिक विवादलाई हल गर्दै महासमितिबाट एक भएर बाहिर जानु पर्नेमा उनले जोड दिए । उनले चुनावमा पार्टीले बेहोरेको हारको समेत समिक्षा गर्नु पर्ने बताए  ।

अर्का पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले भने आफ्ना कमजोरीको निर्मम समिक्षा गर्नुपर्नेमा जोड दिए । उनले पार्टीका नेताहरुलाई जिम्मेवारी दिने र जनतासमक्ष आफ्ना एजेन्डा लैजाने विषयमा चुकेको टिप्पणी गरे । नेतृत्वको कमजोरीकै कारण पार्टी झनै कमजोर बनेको उनको दाबी थियो । केसीले सबै पदाधिकारी निर्वाचनबाट आउनुपर्ने भन्दै नेताको परिक्रमा भन्दा पराक्रम देखाएर र सत्यको पक्षमा उभिएर नेतृत्वको खवरदारी गर्न महासमिति सदस्यहरुलाई आग्रह गरे ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति सदस्यहरुले बैठकबाट एकताको सन्देश दिँदै गर्दा कांग्रेसका पुराना कार्यकर्ता, माओवादी हिंसामा परेर ज्यान गुमाएका आफन्त र अंगभंग भएका घाईतेका परिवार, प्रचण्ड गर्मीमा विदेशी भूमिमा आफ्नो श्रम बेचिरहेका नेपाली युवालाई सम्झन आग्रह गरे । उनले समृद्धिको कल्पना गरेर नेकपालाई भोट हालेका कारण पछुताएका मतदाता र न्यायको खोजिमा भौँतारिइरहेका नेपाली चेलीलाई सम्झेर उनीहरुलाई आकर्षित गर्ने गरी निर्णय गर्नु पर्ने धारणा राखेका थिए ।

सम्बन्धित समाचार

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०७५ पुष २, ०६: ०७

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०७५ पुष २, ०६: ०७

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...

दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
  • २०७५ पुष २, ०६: ०७

काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...