महरलाई हटाएर अध्यक्ष हुने दाउमा यि विद्यार्थी नेता – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

महरलाई हटाएर अध्यक्ष हुने दाउमा यि विद्यार्थी नेता

काठमाडौ । नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमिति तथा मातहतका निकायहरुको पदावधि माघ २ गते सकिएसँगै अध्यक्ष नैनसिंह महरलाई हटाएरै आफै अध्यक्ष हुने दाउमा एक दर्जन बिद्यार्थी नेता लागि परेका छन् ।

यसका लागि उनीहरुले न्वारानदेखिको बल लगाएर पार्टीका फरक फरक गुटका नेताको ढोका र घर तथा डेरा चहार्न पनि थालेका छन् ।

महर नेतृत्वको नेविसंघको कार्य समितिमै रहेका मात्र होइन, एउटै प्यानलबाट पदाधिकारीमा जितेकाहरु समेत यतिवेला महरलाई खुइल्याएर आफू भने साखुल्ले बन्ने प्रयासमा छन् । महर नेतृत्वको नेविसंघको म्याद पार्टीले दुई पटक थप गरे पनि महाधिवेशन गर्नेतर्फ उल्लेख्य प्रगति नगरेपछि पार्टीले समेत विकल्प रोज्ने भएको छ ।

पार्टीले तदर्थ समिति गठन गर्ला र आफूले नै त्यस्तो समितिको नेतृत् वगर्न टिका थाप्न पाईएला भन्ने आशामा पार्टी सभापति शेरबहादुर देउवा निकटका गुटदेखि वरिष्ठ नेता रामचन्द्र पौडेलनिकटका बिद्यार्थी पनि दौडधुपमा लागेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ मंसिर २ गतेको बैठकको निर्णयबाट थप गरिएको २ महिनाको पदावधि माघ २ गते सम्म थियो । यसअघि पनि पार्टीले गत भदौ २ मा सकिएको नेविसंघको म्याद तीन महिना अर्थात मंसिर २ गतेसम्म थपिएको थियो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ माघ १० गते बस्ने बैठकले निर्णय म्याद गुज्रिएको महर नेतृत्वको नेविसंघलाई के गर्ने भनेर निर्णय नगरेसम्म महरलाई नै नेविसंघको अध्यक्षको रुपमा काम गर्ने अधिकार प्रदान गरिएको पार्टीेले जनाएको छ ।

महरलाई नेविसंघको अध्यक्ष मानेरै सँगै एउटै प्यानलबाट निर्वाचन लडेर चुनाव पनि जितेका उपसभापति पुष्पकुमार शाही, महामन्त्री सरोज थापा र सहायक महामन्त्री प्रेमराज जोशी यतिवेला महरको कट्टर विरोधी भएर निस्किएका छन् ।

शाही सभापति देउवा पत्नी डा. आरुजु राणाको विश्वासमा सभापतिको टिका लगाउन चाहन्छन भने महामन्त्री सरोजकुमार थापा उपसभापति विमलेन्द्र निधिको संरक्षणमा नेविसंघको अध्यक्ष हुन चाहन्छन् ।

अर्का सहायक महामन्त्री प्रेमराज जोशी भने सहमहामन्त्री डा. प्रकाशशरण महतको सिफारिसमा नेविसंघको अध्यक्ष बन्न चाहन्छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड भने अरुलाई नै नेतृत्वमा पुर्याउन चाहन्छन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु गत ११ औं महाधिवेशनमा महरसँग प्रतिष्पर्धामा उत्रिएका मनोजमणी आचार्य, महामन्त्रीमा प्रतिष्पर्धा गरेर कुन्दनराज काफ्ले र सरोज थापासँग पराजित भएका हिमालदत्त श्रेष्ठ र दीपक भट्टराई पनि अध्यक्षका दाबेदार भएर निस्किएका छन् ।

११ औं महाधिवेशनमा महामन्त्रीसहित करिव ४० जना पदाधिकारी र केन्द्रीय सदस्यलाई जिताउन सफल कृष्णप्रसाद सिटौला पक्षधर विद्यार्थीहरु भने टिके प्रथा भन्दा वर्तमान केन्द्रीय कार्य समितिलाई नै सहयोग गरेर महाधिवेशन गराउनु पर्ने पक्षमा उभिएको छ । उनीहरुले टिके प्रथालाई प्रश्रय दिनु भन्दा महाधिवेशन तर्फ लाग्नु नै उचित हुने भन्दै महर नेतृत्वको नेविसंघ केन्द्रीय कार्य समितिबाट पछि हट्ने पक्षमा देखिएका छैनन् ।

देउवा पक्षधर आठ पदाधिकारी र वरिष्ठ नेता पौडेल पक्षधर २ पदाधिकारीसहित ४५ जनाले क्रमश देउवा र पौडेललाई राजिनामा बुझाएका छन् । उनीहरुले आ आफ्नो पदबाट दिएको राजिनामाको पक्रिया उचित र बैधानिक नभए पनि राजिनामाको घोषणा भने गरिसकेका छन् ।

यतिवेला महरका बिरुद्ध लागेर आफ्नै हातमा नेतृत्व आउला कि भन्ने आशामा सभापति देउवा र नेता पौडेलक निकटका बिद्यार्थी नेताहरु यतिवेला क्रियाशिल बनेका छन् । विभिन्न क्लवहरुमा गएर उनीहरुले विगतमा आफूले महाधिवेशन गर्नको लागि गरेको एउटा पनि प्रसासको बारेमा नबताए पनि केन्द्रीय समितिको म्याद सकिन एक साता वाँकी हुँदै देखि महरलाई महाधिवेशन गर्न असक्षम भन्दै गालि गर्दै राजिनामाको चर्चा गरेका थिए ।

कतिपय असन्तुष्ट नेताहरुले त माघ १० गते अघि नैंनसिंह महरले कुनै काम गरे आक्रमणसम्म हुने चेतावनी दिएका छन् । दुई बर्ष साडे चार महिनासम्म महरलाई नेता मानेर एउटै समितिमा बसेका महामन्त्री सरोज थापाले कार्यकालको उत्तरार्धमा आएर नेविसंघका अध्यक्ष नैनसिंह महरविरुद्ध खुलेर लागेका छन् । उनले आगामी माघ १० गते पहिले कुनैपनि गतिविधि गरे अनपेक्षित कारबाही हुने चेतावनी समेत दिएर असहिष्णु राजनीतिको उदाहरण प्रस्तुत गरिदिएका छन् ।

एउटा क्लवको कार्यक्रममा महामन्त्री थापाले अध्यक्ष नैनसिंह महरको व्यक्तिगत स्वार्थको कारण महाधिवेशन हुन नसकेको आरोप लगाए । उनले दुई वर्षको समयमा कुनै काम नभएको, केन्द्रीय समितिको बैठक बस्न नसकेको र बारम्बार थपेको समय सकिँदा पनि नेतृत्वले नैतिक रुपमा राजीनामा दिएर मार्गप्रश्स्त गर्न नसकेको जस्तो आरोप लगाएका छन् ।

उनले माघ १० गते बस्ने कांग्रेसको केन्द्रीय समितिको बैठकले महर नेतृत्वको समितिलाई खारेज गरेर तदर्थ समिति गठन गर्न माग समेत गरेका छन् । एउटै कार्य समितिमा बस्दा अध्यक्ष महरमाथि कुनै खोट नदेख्ने थापाले अध्यक्ष महर र महामन्त्री कुन्दनराज काफ्लले आफ्नो व्यक्तिगत र गुटगत स्वार्थको भूमरीमा संगठनलाई पारेको आरोप समेत लगाएका थिए ।

बरिष्ठ नेता पौडेल निकट भनेर चिनिएका र थापासँग महामन्त्रीमा पराजित भएका दिपक भट्टराईले सभापति महर र महामन्त्री कुन्दनराज काफ्लेका कारण नेविसंघको १२ औं महाधिवेशन हुन नसकेको आरोप लगाएका छन् ।

उनले महाधिवेशनको विकल्प महाधिवेशन भन्न लगाउने तर आफ्नो गुट र स्वार्थलाई त्यागेर संगठनलाई बलियो पार्न नसक्ने नेतृत्व भएको आरोप लगाए । उनले थपिएको समयमा अध्यक्ष महरले डडेलधुरामा र महामन्त्री काफ्लेले दोलखामा जिल्ला अधिवेशन गर्न नसक्नुले उहाँहरु असफल र लाचार नेता भएको आरोप लगाए ।

नेविसंघका काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यले आगामी १० गतेभित्र संघका सभापति महरलाई संगठनको बारेमा कुनैपनि काम नगर्न चेतावनी दिएका छन् । उनले थपिएको समयमा पनि महाधिवेशन गर्न नसक्नेले अब माघ १० गतेसम्म काम गरेको फेला पारिएको खण्डमा खतरा हुनेछ भने चेतावनी पनि दिए । बैद्यले तदर्थ समितिभन्दा बाहिर अर्को निर्णय भएमा पार्टी कार्यालयमा हजारौं विद्यार्थीहरुको जुलुस लगेर घेर्ने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ माघ ७, ०८: ५५

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७५ माघ ७, ०८: ५५

काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७५ माघ ७, ०८: ५५

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...