
काठमाडौ । नेपालको संसदीय राजनीतिमा २०५१ सालमा तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगामा मृत्यु भएपछि एकाएक चर्चा र बिबादमा आएका बामदेव गौतम फेरि एक पटक जबर्जस्ती बिबादमा ल्याइएको छ ।
२०५४ सालमा नेकपा एमालेबाट नेकपा माले गठन गर्दा विद्यार्थी संगठन अनेरास्ववियूका नेता रविन्द्र अधिकारीले बामदेव गौतमलाई साथ दिएका थिए ।
अनेरास्वीवयूको अध्यक्ष योगेश भट्टराईपछि उनलाई रुपनारायण श्रेष्ठ र रविन्द्र अधिकारीले साथ दिएका थिए । पहिलेदेखिनै बामदेव गौतमसँग सुमधुर सम्वन्ध राख्न सफल रविन्द्र, बामदेव गौतमको लागि देखाउन लायकको दुई नेतामध्ये योगेस जत्तिकै सक्षम नेता पनि हुन् । आफ्ना प्रिय र आफूले अघि बढाएका नेता अधिकारीको निधनले बामदेव गौतमलाई दुखित तुल्याउन स्वभाविक पनि हो ।
रविन्द्रको शव काठमाडौं ल्याउँदा पोष्टमर्टम गर्न लैजाँदा र टुँडिखेलमा मात्र होइन, बामदेव उनको अन्त्येष्टी गरिएको पोखराको रामघाट समेत पुगेका थिए । यसरी आफ्ना प्रिय नेताको निधनबाट शोकाकुल भएका बामदेवलाई नेकपाकै केही नेताले रविन्द्रको निधनपछि उनी निर्वाचित भएको काश्की २ बाट बामदेव गौतम उम्मेदवार हुन लागेको सूचना बाहिर ल्याएर सनसनी मच्चाइदिए ।
वामदेवले आफूलाई उदार र त्यागी देखाउनकै लागि पनि रविन्द्रको निधनपछि खाली भएको निर्वाचन क्षेत्रमा स्वर्गीय रविन्द्र अधिकारीकै धर्मपत्नी विद्या भट्टराई उम्मेदवार बन्ने सम्भावना बढेर गएको छ । विद्या हाल रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्गमा अध्यापन गराइरहेकी छन् । विद्यार्थी राजनीतिमासँगै होमिएका रविन्द्र र विद्या दुवै तत्कालिन माले निकटकको अनेरास्ववीयूमा थिए ।
अनेरास्वबीयूको केन्द्रीय कोषाध्यक्षसम्म भएकी विद्यालाई सो निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउनुपर्ने दबाब वामदेव गौतमले जारी गरेको बिज्ञप्तीले समेत उल्लेख छ । हेलिकप्टर दुर्घटना भएकै दिन बुधबार राति प्रधानमन्त्री ओली आफै मन्त्री क्वाटर गएर रविन्द्रकी श्रीमती विद्या, र वुवा आमालाई भेट गरेका थिए ।
गत २०७४ सालको संघीय संसदको लागि भएको निर्वाचनमा बर्दियाबाट पराजित भएका बामदेव गौतमलाई संसदमा ल्याउनको लागि नेकपाका कुनै सांसदलाई राजिनामा गर्न सुझाव र दबाब समेत दिएको कुरा यस पटक पनि निकै विवादित बनेको थियो । डोल्पा, दैलेख, बाँके र पछिल्लो पटक काठमाडौंको क्षेत्र नम्वर ७ का नेकपाका निर्वाचित सांसदलाई राजिनामा दिन लगाएर बामदेव गौत्मलाई उम्मेदवार बनाउने हल्ला पार्टीबाटै गरिएको थियो ।
त्यसैले काठमाडौं ७ का नेकपा एमालेबाट निर्वाचित सांसद रामबीर मानन्धरले आफू बामदेवको लागि सांसद पदबाट राजिनामा दिन तयार भएको भनेर वक्तव्य वाजी नै गरे । तर, बामदेव संसदमा आए के–के न लफडाबाजी होला भन्ने त्रासले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अस्विकार गरेका थिए ।
ओलीले आफूलाई उम्मेदवार बन्न नदिएको र पछिल्ला पटक अधिकार सम्पन्न विकास प्राधिकरण गठन गरी त्यसको प्रमुख बन्न आफ्नो चाहनालाई समेत प्रधानमन्त्री ओलीले लत्याएपछि बामदेव यतिवेला प्रधानमन्त्री ओलीप्रति रुष्ट छन् । त्यसैले रविन्द्रको निधनपछि स्वभाविक रुपमा खाली भएको कास्कीको निर्वाचन क्षेत्र नं २ बाट बामदेवको चर्चा गराइएको हुनुपर्छ ।
तर, गौतमले आफूलाई यसअघि पटक–पटक उम्मेदवार बनाउन खोजेरपछि हटाइएको भन्दै रबिन्द्रको निधनपछि खाली हुने निर्वाचन क्षेत्रमा आफू उम्मेदवार नबन्ने घोषणा गरेर आफ्ना बिरोधीहरुको आशंकालाई निमिट्यान्न पारेका छन् ।
गौतमले फेरि आफूमाथि कुत्सित उद्देश्य प्रेरित कुप्रचार शुरु भएको भन्दै नेपाली राजनितिक आकासमा उज्वल भविष्य सहित उदाएका आफ्ना रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार वन्ने आशा राखेको आरोप लगाइएको बताएका छन् ।
उनले आफ्नो चरित्र हत्या गर्ने निकृष्ट र षड्यन्त्रमूलक विचार राखेर शुरु गरिएको कुप्रचार मात्र हो भन्दै मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पुरा गर्ने विचारलाई आफुले कहिल्यै मान्यता नदिने भन्दै आफ्नो इच्छा विपरित पार्टीले निर्णय गरे पनि रविन्द्रको निधनवाट खालि भएको निर्वाचन क्षेत्रमा उमेदवार नबन्ने घोषणा गरेका छन् । उनले खाली भएको निर्वाचन क्षेत्रबाट स्वर्गीय रविन्द्रको परिवारका सदस्यलाईनै उमेदवार वनाउन आफ्नो सम्पूर्ण प्रयत्न हुने घोषणा गरेर आफ्ना आलोचकहरुको मुख बुझो समेत लगाइदिएका छन् ।
विरोधी पार्टीका नेता हुन वा आफ्नै पार्टीका विरोधी नेता तिनलाई एउटै खाल्डोमा पुर्नुपर्छ भन्ने अभिव्यक्ति दिएर २०५१ सालमै चर्चा कमाएका बामदेव गौतम महाकाली सन्धी संसदबाट पारित गर्ने बिषयलाई राष्ट्रघाती भन्दै कुर्लिदा होस वा एमालेबाट अलग भएर माले पार्टी गठन हुँदा, तत्कालिन कांग्रेस र राप्रपाको संयुक्त सरकार ढाल्न राप्रपालाई फुटाउने, पञ्चायतका अन्तिम प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएर आफू गृहमन्त्री बन्दा र शसस्त्र विद्रोहमा उत्रिएको नेकपा माओवादीसँग रुकुम रोल्पामा गएर भेट्दा समेत गौतम चर्चा र विवादित पात्रको रुपमा चिनिएका हुन् ।
उनले नै तत्कालिन शाहज्यादा पारस साहको गाडीले कलाकार प्रविण गुरुङ्लाई ठक्कर दिएर हत्या गरेको भन्दै लाखौंको हस्ताक्षर दरबार पु¥याउने हिम्मत गरेका थिए । उनै गौतम पछिल्लो समय नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताका सुत्राधार पनि हुन । उनले शसस्त्र बिद्रोही माओवादी र सात राजनीतिक दलबीचको १२ बुँदे समझदारी गराउन भूमिका खेलेका थिए । उनी आधा प्रतिगमन सच्चियो भन्दै तत्कालिन राजाको हातबाट टिका लगाउने मन्त्रीपरिषद्का बिबास्पद पात्र पनि हुन् ।
यता निर्वाचन आयोगले रविन्द्रको निधनसँगै खाली भएको काश्कीको संघीय निर्वाचन क्षेत्र नं २, वाग्लुङको २ ख का प्रदेश सांसद टेकबहादुर घर्ती, दाङको ३ ख का प्रदेश सांसद उत्तरकुमार ओली र भक्तपुर १ क का हरिशरण लामिछानेको निधनले खाली भएको प्रदेश सभाको लागि समेत आगामी जेठभित्रै उपनिर्वाचन हुने भएको छ । पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष र धरान उपमहानगरपालिकाका प्रमुखको निधन भएकाले त्यहाँ पनि निर्वाचन हुने छ ।
काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको...
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...
अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...