राजनीतिक विश्लेषण

काठमाडौं । समाजमा व्याप्त गरिवी, अन्याय र विभेदबिरुद्ध आफ्नौ मुलुक, परिवार र ज्यान मात्रै होइन सात पुस्ता पुग्ने सम्पति त्यागेर क्रान्तिमा लागेका राणाहरुकै यातनाबाट मृत्युबरण गरेका हजुरवुवा कृष्णप्रसाद कोइरालाको प्रतिष्ठामा समेत आँच आउने गरी कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले यो साता दिएको अभिव्यक्तिले नेपालको राजनीति निकै तरंगित बन्न पुग्यो ।
प्रजातान्त्रिक समाजवादमार्फत समृद्ध नेपालको रेखा कोरेर पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका पिता विश्वेश्वरप्रसाद कोइरालाको इज्जत र नैतिक मुल्यको बाटो समेत बिराएको भनेर धेरैले महामन्त्री डा.शशांक कोइरालाको निकै आलोचना गरे ।
बीपी पुत्र डा. शशांकले फागू पूर्णीमाको अवसरमा आफ्नै निवासमा नेता तथा कार्यकर्तासँगको भेटमा उनले अहिलेको राजनीतिक परिवर्तनका बिषयमा जनमत संग्रह गर्नुपर्छ भनेर दिएको अभिव्यक्तिबाट कांग्रेसका केन्द्रीय तहका नेता र स्थानीय स्तरका कार्यकर्ता मात्र होइन, सर्वसाधारणहरु समेत छक्क परे । आखिर उनले यस्तो अभिव्यक्ति दिनुको पछाडी कुन तत्वले काम गरिरहेको छ भनेर खोजी गर्न काँग्रेस जन नै लागे ।
डा. शंशाक कोइरालाले १३औं महाधिवेशनमा महामन्त्रीमा विजयी भइसकेपछिका अभिव्यक्तिहरु बहुसंख्यक हिन्दुधर्मालम्वी भएको मुलुक नेपाललाई हिन्दुराज्य बनाउन जनमत संग्रह गर्नुपर्छ भन्दै आएको कुरा नयाँ र अनौठो होइन । तर, फागू पूर्णीमाको दिन एकाबिहानै उनले घोषणा गरेको धर्मनिरपेक्षताको बिषयमा मात्र होइन, गणतन्त्र र संघीयताको बिषयमा समेत जनमत संग्रह गर्नुपर्छ भन्दा सबैजनालाई आश्चर्य चकित बनायो ।
नेपालबाट तराई–मधेशलाई अलग गर्नुपर्छ भन्दै माग राखेर आन्दोलन गरिरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक चन्द्रकान्त राउतसँग सरकारले ११ बुँदे सम्झौता गरेर विवादमा तानिएको एक सातापछिनै कांग्रेस महामन्त्री कोइरालाको यस्तो अभिव्यक्ति आउनुलाई धेरैले संयोग मात्र मान्न तयार नभएको देखिन्छ ।
बीपीका कान्छा पुत्र डा. शशांक कोइराला पेशाले नेत्र चिकित्सक हुन् । उनलाई राजनीतिको खासै ज्ञान पनि छैन र रुची पनि नभएको उनका नजिकका नातेदार बताउछन् । बीपीका तीन छोरामध्ये जेठा छोरा प्रकाश कोइराला राजनीतिमा अघि बढिसकेका थिए । उनी राजनीति एक हदसम्म परिपक्व नेता समेत मानिन्थे ।
तर उनी तत्कालिन राजा ज्ञानेन्द्रको संगत, आग्रह र प्रभावमा परेर प्रतिगमनकारी शाही सत्ताको मन्त्री पदमा भुलिए र उनलाई तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले मन भइ नभइ पार्टीबाट निकालिदिए । बीपीपुत्र प्रकाशको राजनीतिक बाटो अलग भएपछि तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले डा. शशांक कोइरालालाई राजनीतिक बाटोमा अवतरण गराएका थिए ।
राजनीतिमा योग्यता, क्षमता, निरन्तरता र योगदानको भन्दा बीपी पुत्रको नामबाट निकै पहिचान बनाउन सफल भएका डा. शशांककोइरालाका खास सल्लाहकार भनेका उनकै जेठा दाजु प्रकाश कोइराला हुन् भन्नेहरु पनि छन् ।
उनै प्रकाशले कांग्रेसको हालको नेतृत्वमा रहेका शेरबहादुर देउवा र आफूलाई पार्टीबाटै निष्काशित गर्ने तत्कालिन सभापति तथा काका गिरिजाप्रसाद कोइरालासँग रिभेञ्ज लिन कतै यस्तो सल्लाह त दिएनन् भन्नेहरु पनि काँग्रेसभित्रै दखिएका छन् । त्यसैले जुनबेला भारतबाट बीपी नेपाल फर्कदै थिए र उनलाई मृत्युदण्डको सजाय हुने माग सहितको मुद्धा अदालतमा बिचाराधिन थियो ।
त्यसबेला बीपीले एउटा घटना र प्रकरणमा भनेको ‘मेरो र राजाको घाँटी जोडिएको छ’ भन्ने वाक्याँसलाई कण्ठ गराउने काम प्रकाशले गरेका छन् । त्यसको अर्थ मलाई फाँसीमा चढाउँदा वा मृत्युदण्ड दिँदा मेरो घाँटी तिमीसँगै जोडिएको भन्ने अर्थलाई विर्सिएर राजा, राजपरिवारका सदस्यसँग सम्वन्ध भएका र राजाकै अनुयायीले यही शब्दावलीलाई प्रयोग गरेर बीपीलाई भजाई रहेका छन् । बीपीले समग्र राजसस्थाको बिषयमा २१औं शताब्दीमा राजसंस्थालाई बोके र हिँड्नु भनेको मरेका घोडा काँधमा बोके सरह हो, भन्ने भनाईलाई भने कहिल्यै उप्काउने गर्दैनन् ।
भारतीय कट्टर हिन्दुबादी दल भारतीय जनता पार्टीसँग विशिष्ट सम्वन्ध बढाउँदा उ सत्तारुढ भएको नाताले राजनीतिक समर्थन र लाभ लिन सकिने आशाले कोइरालाले यस्तो बाटो पक्रिएको हुन सक्ने एकथरीको आशंका छ । महामन्त्री डा. शशांक कोइराला पहिलेदेखिनै धर्मनिरपेक्षताको बिषयलाई लिएर जनमत संग्रह गर्नुपर्छ भन्ने बिषयमा पहिलेदेखिनै क्रियाशिल थिए ।
तर उनले आफ्ना काका तथा गणतन्त्र घोषणा गर्ने र राष्ट्र प्रमुखको भुमिका समेत निभाएका गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसको अघिल्लो दिन यस्तो गणतन्त्र र संघीयताकै बिषयमा पनि जनमत संग्रह गर्नुपर्छ भनेर हालको राजनीतिक परिवर्तनप्रति नै आफ्नो असन्तुष्टी घुमाउरो भाषामा ब्यक्त गर्नुले धेरैले यो संयोग भन्न नसकिने बताएका छन् ।
राजनीतिक बिषयमा आफ्ना दाजु प्रकाशसँग बारम्बार सुझाव र सल्लाह लिने डा. शशांकको यस्तो राजनीतिक उदेश्य र एजेण्डाबाट कांग्रेसका युवा र इमान्दार क्षवि बनाएका नेताहरुमा त राम्रो छाप बसेको छ । विगत ७ महिनादेखि हामी तीन कोइराला एकै छौं भनेर एक क्विन्टल बढीको माला पहिरिँदै हिँडेका कोइराला परिवारका अन्य दुई सदस्य सुजाता कोइराला र डा. शेखर कोइराला समेत महामन्त्री डा.शशांक कोइरालाको यस्तो अभिव्यक्तिसँग सहमत भएको देखिदैन । वाहिर एक भएपनि कांग्रेसको आगामी १४ औं महाधिवेशनमा को सभापतिमा उम्मेदवार बन्ने भनेर शेखर र शशांकबीच आन्तरिक प्रतिष्पर्धा चल्न थालेको देखिन्छ ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...