
नयाँ दिल्ली । भारतको व्यवस्थापिका अर्थात तल्लो सदन लोकसभाको लागि गत अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा भएको निर्वाचनबाट बहुमत ल्याएको भारतीय जनता पार्टी (भाजपा) ले सरकार बनाउने निश्चित भएको छ ।
लोकसभाको कूल ५४२ सीटका लागि भएको निर्वाचनमा भाजपा एक्लैले ३०३ सीट प्राप्त गरेर बहुमत ल्याएको हो । संसदमा बहुमत पुग्नका लागि २७२ सीटको आवश्यकता पर्छ । भाजपालाई दुई तिहाई पुग्नका लागि नौ सीट अपुग भएको छ । भाजपाको नेतृत्वमा रहेको गठबन्धन एनडीएको लोकसभामा जम्मा ३५२ सीट पुगेको छ ।
निर्वाचनको पछिल्लो परिणाम अनुसार लोकसभामा दोस्रो ठूलो दल भारतीय नेशनल कांग्रेस (कांग्रेस–आई) ले ५२ सीट ल्याएको छ । यसअघि इन्दिरा गान्धी अध्यक्ष हुँदा काँग्रेसको बहुमतको सरकारको दुई पटक नेतृत्व गरेकी थिइन । इन्दिरापछि बहुमतको सरकारको लगातार दुई पटक प्रधानमन्त्री हुने मोदी दोस्रो व्यक्ति हुन् ।
कांग्रेसको गठबन्धन यूनाइटेड प्रोग्रेसिभ अलाएन्स (यूपीए) ले ८५ स्थानमा विजय हाँसिल गरेको छ भने अन्य दल तथा स्वतन्त्रले १०७ सीट ल्याएका छन् । निर्वाचन आयोगका तर्फबाट निर्वाचन परिणामको औपचारिक जानकारी शनिबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई भेटी प्रमुख निर्वाचन आयुक्त सुनिद अरोराले गराएका थिए ।
भाजपाका नेता तथा एनडीएको संसदीय दलको नेतामा निर्वाचित नरेन्द्र मोदीले आगामी शुक्रबार प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन् । मोदीको शपथ ग्रहणमा विदेशी मुलुकका नेताहरूलाई पनि निम्तो दिइने तयारी भएको छ ।
यसअघि भारतीय जनता पार्टी (भाजपा) तथा भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्सको संसदीय दलको नेतामा मोदीलाई सर्वसम्मत निर्वाचित गरेको थियो । मोदी संसदीय दलको नेता निर्वाचित भएको भाजपा अध्यक्ष अमित शाहले घोषणा गरेका थिए ।
भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्र्टी (भाजपा) एक्लैले झण्डै दुइतिहाइ बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राष्ट्रपतिलाई भेट गरी राजिनामाको प्रस्ताव गर्दै नयाँ प्रधानमन्त्री चयनका लागि मार्ग प्रशस्त गरेका थिए । भारतीय संसदीय परम्परा अनुसार बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाइने छ ।
भाजपा नेता मोदीलाई भाजपाको संसदीय दलको नेताका रूपमा प्रस्ताव पनि भाजपा अध्यक्ष अमित शाहले प्रस्ताव गरेका थिए भने नेता राजनाथ सिंहले प्रस्तावलाई भाजपा संसदीय दलको तर्फबाट समर्थन गरेका थिए ।
५४२ सदस्यीय लोकसभामा स्पष्ट बहुमत पाएपछि अब भाजपा नेता नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का भएको हो । भारतीय निर्वाचन आयोगका अनुसार भाजपा सन् २०१४ मा भन्दा यसपटक २२ सिट बढीमा विजयी भएको छ । भाजपाको राष्ट्रवादी तथा हिन्दु धर्मवादी नाराले भारतीय नागरिकबीच लोकप्रियता पाएकाले एकछत्र जित निकाल्न सफल भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यसैबीच निर्वाचनको पराजयपछि कांग्रेस अध्यक्ष राहुलले पार्टीको नेतृत्वबाट दिइएको राजीनामा अश्विकृत भएको छ । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले लोकसभामा पराजयपछि बसेको कांग्रेस कार्यसमिति बैठकमा शनिबार घोषणा गरेको राजिनामा अश्विकृत भएको हो । लोकसभा निर्वाचनमा पार्टीको अवस्थाको समीक्षा गर्न कांग्रेस कार्यसमिति बैठक बोलाएको थियो । बैठकको सुरुमानै राहुल गान्धीले राजीनामा घोषणा गरेका थिए ।
तर, कांग्रेस कार्यसमिति बैठकका सदस्यहरूले भने राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । कार्यसमितिका सबै सदस्यहरूले राजीनामा दिन नहुने र पार्टीलाई एकजुट गरेर नयाँ नेतृत्वसहित अगाडि बढ्नुपर्ने बताएका थिए । राहुल गान्धी भने आफ्नो राजीनामामा अडिग थिए । भारतीय संचारमाध्यमका अनुसार राहुल अडिग रहे भने अर्र्को अध्यक्ष को होला र भारतको सबैभन्दा पूरानो पार्टी कसरी अगाडि बढ्ला भन्ने बहस सुरु भएको छ ।
राहुलले राजीनामा दिएर हारको जिम्मेवार आफू पनि भएको देखाएका छन् । कांग्रेसले लोकसभामा लगातार दोस्रोपटक हार बेहोरेको हो । पाँच बर्षअघि २०१४ मा भएको लोकसभा निर्वाचनमा कांग्रेसले ४४ सिट मात्र ल्याएको थियो ।
१३५ वर्ष पुरानो कंग्रेस पार्र्टीका अध्यक्ष राहुल गान्धीले आफ्नो पारिवारिक सिट अमेठीबाट हारेका छन् । उनलाई ५४ हजार ७ सय ६७ मतको अन्तरले केन्द्रीय मन्त्री स्मृति इरानीले हराइन् । २००९ र २०१४ मा पनि स्मृतिले राहुललाई चुनौती दिएकी थिइन् । तर, उनको तेस्रो प्रयास सफल भयो । यसपालि राहुलले चार लाख १२ हजार र स्मृतिले चार लाख ६७ हजार मत पाए ।
निर्वाचनअघिनै हारको अनुमान गरिसकेका राहुलले केरलाको वायनाडबाट भने ठूलो मतान्तरले जितेका छन् । वायनाडमा राहुलले सात लाख पाँच हजार मत प्राप्त गर्दा माकपाका पिपी सुनीरले दुई लाख ७३ हजार मत प्राप्त गरे । यसरी केरलामा ४ लाख ३२ हजार मतान्तरले राहुलले जिते । भारतका कुल ३० मध्ये १६ राज्यमा कंग्रेस शून्य भएको छ ।
दिल्ली, हरियाणा, गुजरात, आन्ध्र प्रदेश, राजस्थान, हिमाञ्चल, उत्तराखण्ड, अरुणाञ्चल, उडिसा, त्रिपुरा, मणिपुर, मिजोरम, सिक्किम, चण्डिगढ, लक्ष्यदीप र अन्डेमान निकोबरबाट कंग्रेसले प्रतिनिधित्व पाएको छैन ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...